काठमाडौं : पैसाको आड र शक्तिको तुजुककै भरमा स्वास्थ्य मन्त्रालयले आफैँले बनाएको नीतिगत व्यवस्थालाई लात हान्दै 'भीआइपी' कोरोना संक्रमितलाई उनीहरुकै रोजाईको अस्पतालदेखि पाँच तारे होटलसम्मको सुविधा उपलब्ध गराएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै कार्ययोजना र मापदन्ड मिच्दै कोरोना भाइरसको संक्रमितको उपचारका लागि निजी अस्पताललाई जिम्मेवारी दिएको हो।
देशका विभिन्न ठाउँमा समयमा नै उपचार नपाउँदै संक्रमितहरुले ज्यान गुमाइरहँदा काठमाडौंमा १५ जना कोभिड १९ का विरामीले कहिले निजी अस्पताल त कहिले पाँच तारे होटल, छानीछानी सेवा लिइरहेका छन्।
मन्त्रालयले कोभिड-१९ का संक्रमितको उपचारमा संलग्न अस्पतालहरूलाई अनुदान दिन जारी गरेको आदेश र मूल आदेशको पहिलो संशोधनमा संक्रमितको होम आइसोलेसन, सामुदायिक आइसोलेसन तथा सरकारी अस्पतालमा मात्रै उपचार गर्न ब्यवस्था छ। सरकारी अस्पतालमा उपचार सम्भव नभएमात्रै निजी अस्पतालमा पठाउने भन्ने आदेशमा उल्लेख छ। तर, मन्त्रालयले आफ्नै नीतिगत निर्णयलाई लत्याउँदै ह्याम्स अस्पताललाई संक्रमितको उपचारका लागि दबाब सहितको पत्र पठाएको खुलेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ महामारी नियन्त्रण तथा रोकथामका लागि बनाएको प्रतिकार्य योजनामा नेपालमा कोभिड क्लिनिक र अस्पताललाई तीन तहमा वर्गीकरण गरेर संक्रमितको उपचार गर्ने उल्लेख छ। प्रतिकार्य योजना अनुरुप १२६ कोभिड- क्लिनिक, १६ वटा लेभल १ अस्पताल, १४ लेभल २ अस्पताल र ४ वटा लेभल ३ अस्पताल छुट्याएको छ।
सरकारले निजी अस्पताललाई कोभिड क्लिनिक सञ्चालन गर्न अनुमति दिए पनि संक्रमितको उपचारका लागि आदेश दिएको छैन। तर, पहुँच र दबाबका आधारमा संक्रमितको उपचारका लागि मन्त्रालयले ह्याम्सलाई पत्र लेखेको छ।
सोल्टीमा क्वारेन्टाइन, एपीएफमा बुझेन चित्त
विदेशमा रहेका नेपाली फर्काउनका लागि चार्टड उडान गरेका दुई एयरलाइन्सका पाइलट सहितका १५ कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। उनीहरूलाई सुरुमा काठमाडौंकै सोल्टी होटलमा क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमा रहेका हिमालय एयरलाइन्सका एक जना पाइलट र नेपाल एयरलाइन्सका पाइलटसहितका १४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएसँगै आइसोलेसनका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुर्याइयो। बलम्वुको प्रहरी अस्पताल कोभिड-१९ को संक्रमितको लागि उपचारका लागि तोकिएको 'डेडिकेटेड' अस्पताल हो।
यही अस्पतालमा उपचारका राखिएका उनीहरूलाई अस्पतालको सेवा प्रति चित्त बुझेन। उनीहरू त्यहाँ एक दिनमात्र बसे। 'सोर्स फोर्स' र पहुँचका आधारमा उनीहरूले स्वास्थ्य मन्त्रालयमाथि निजी अस्पतालमा सार्न दबाब दिए।
यसअघि उनीहरूले ह्याम्स अस्पताललाई आग्रह गरेका थिए। सरकारले तयार पारेको कार्यविधिले निजी अस्पताललाई उपचार गर्ने अनुमति नदिएकाले ह्याम्सले भर्ना लिन अस्वीकार गरेको थियो।
ह्याम्स अस्पतालमा यसअघि कास्कीका एक जना संक्रमितको उपचार भएको थियो। त्यतिबेला उनी ह्याम्समै उपचारका लागि भर्ना भएका थिए। अस्पतालमा उपचाररत उनमा संक्रमण पुष्टि भएसँगै सोही अस्पतालमा उपचार गरी निको भएका थिए। यसअघि रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारमा रहेका गुल्मीका एक जना व्यक्तिमा संक्रमण पुष्टि भएसँगै सोही अस्पतालमा उपचार भएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको थियो।
तर, १५ जना विमानका कर्मचारीहरू 'सोर्स' लगाएकै भरमा एक अस्पतालदेखि अर्को अस्पताल चहार्न सकेका छन्।
मन्त्रालयले नै दबाब दिएपछि १५ जनालाई भर्ना लिइएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर जोतिन्द्र शर्माले जानकारी दिए।
'१५ जना पाइलट तथा एअर होस्टेजले संक्रमण पुष्टि भएकै बेला ह्याम्समा आउने रुची देखाउनु भएको थियो। हामीले लिन मानेनौं। हामीले त अरु समस्या लिएर आएका बिरामीमा कोरोना संक्रमण पुष्टि भएको बाहेकमा भर्ना लिदैनौं,'उनले भने, 'यसअघि कास्कीका एक जनामा हाम्रै अस्पतालमा उपचारका क्रममा पुष्टि भएको थियो। हामी रेफर गर्न खोजेका थियौं। उहाँले नै यही उपचार गर्छु भने पछि संक्रमितलाई रेफर गर्ने कुरो आएन।'
यसपटक १५ जना संक्रमितको उपचारका लागि मन्त्रालयले नै दबाब दिएको उनको भनाई छ।
'सरकारी नियमले हामीलाई संक्रमितको उपचार गर्न दिँदैन। हामीले त्यसैलाई कारण देखाएर भर्ना लिएका थिएनौं,' उनले भने, 'उहाँहरू के कसरी मन्त्रालयमा पुग्नुभयो, मन्त्रालयले नै पत्र लेखेपछि भर्ना लिएका हौं।'
उनीहरूलाई भर्ना लिएपछि अन्य स्थानबाट पनि संक्रमित राख्न दबाब आइरहेको डाक्टर शर्माले बताए। अस्पतालको स्रोत साधनले संक्रमितको उपचार गर्न नसक्ने हुँदाहुँदै पनि दवाव आइरहेको उनको दावी छ।
'धेरै खालका प्रिकसन अपनाउनु पर्छ। उपचार एकदमै खर्चिलो हुन्छ। सरकारले दिने खर्च त त्यसको तुलनामा केही पनि होइन,' उनले भने, 'अर्कोतिर अस्पतालमा संक्रमितको उपचार भइरहेपछि अन्य विरामी पनि आउन मान्दैनन्। डाक्टर नर्सहरूलाई पनि क्वारेन्टाइनदेखि विभिन्न खालका ब्यवस्था गर्नुपर्ने हुन्छ। त्यसैले हामीले सक्दैनौं भनेका हौं।'
पैसा हुनेलाई भीआइपी सुविधा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिरामीले आफ्नो उपचार खर्च आफै बोहोर्ने शर्तमा ह्याम्सलाई उपचार गर्ने स्वीकृति दिएको बताए। ह्याम्सबाहेक कुनै पनि अस्पताललाई कोभिड-१९ का संक्रमितको उपचारका लागि अनुमति नदिएको उनले जानकारी दिए।
'काठमाडौंमा एक निजीलाई स्वीकृति दिएको हो। केही पाइलटहरू थिए क्यार। उनीहरूले हाम्रो सेवामा चित्त बझाएनन्। त्यसपछि उनीहरूलाई उपचार खर्च आफैँ तिर्ने सर्तमा स्वीकृति दिइएको हो,' उनले भने।
तर, मन्त्रालयकै आदेशमा सरकारी अस्पतालमा उपचार सम्भव नभए वा अवस्था जटिल भए निजी अस्पतालमा उपचार गर्ने व्यवस्था छ। यी १५ पाइलटसहितका कर्मचारीमा न त कुनै जटिलता थियो। न त सरकारी अस्पतालमा उपचार हुन नसक्ने अवस्था नै।
निको नहुँदै अस्पतालबाट डिस्चार्ज, होटेलमै उपचार
संक्रमितहरू ह्याम्स अस्पतालमा पाँच दिनमात्र बसे। आफ्नै खर्चमा उपचार गर्ने शर्तमा अस्पतालले भर्ना लिएको डाक्टर शर्मा बताउँछन्। स्वास्थ्य मन्त्रालयमा उनीहरूले आफ्नै खर्चमा उपचार गराउने भन्दै पत्र दिएका थिए। सोही पत्रसहित मन्त्रालयले अस्पताललाई पत्र लेखेको थियो।
आफ्नै खर्चमा उपचार गर्ने भने पनि अस्पतालमा भर्ना भएपछि अस्पतालको उपचार महँगो भयो भन्दै उनीहरूले अस्पतालसँग बार्गेनिङ गरिरहेका थिए।
'उहाँहरू अस्पतालको उपचार अलि महँगो भयो भनिरहनु भएको थियो। अहिले हामीले डिस्चार्ज गरिसकका छौं। उहाँहरू हाम्रोमा पाँच दिनको उपचार पछि डिस्चार्ज हुनु भएको हो,' डाक्टर शर्माले भने।
तर, उनीहरू निको नहुँदै डिस्चार्ज भएको खुलेको छ। उनीहरू अस्पतालमा महँगो भएकै कारण अस्पताललाई डिस्चार्ज गर्नका लागि दबाब दिएका थिए। उनीहरू हाल होटल सोल्टीमा बसिरहेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले उनीहरू आफ्नै इच्छाले अस्पतालबाट होटलको आइसोलेसनमा सरेको बताए।
'हामीले त एपीएफको मा भर्ना गरेको हो। उहाँहरू नै ह्याम्स जाने भन्नुभयो। अहिले फेरि सोल्टी जानुभएको छ। अस्पतालको सेवा महँगो भयो भन्दै जानुभएको भन्ने सुनेको छु,' उनले भने।
अस्पतालका कार्यकारी निर्देशक डाक्टर शर्माले भने अस्पतालको सेवा महँगो भन्न नमिल्ने बताए। बिरामीलाई सुरुमै जानकारी गराएको र अस्पतालको शुल्क तिर्न राजी भएर उनीहरू अस्पतालमा भर्ना गरिदिन अनुरोध गरेकाले सेवा महँगो भयो भन्नु गलत भएको उनको तर्क छ।
अस्पतालले अरु बिरामीको भन्दा महँगोमा उपचार गरेको उनले स्वीकारे। तर, कति लाग्छ भन्नेबारे भने उनले खुलाएनन्।
मन्त्रालयले तयार गरेको कोभिड-१९ संक्रमितको आइसोलेसन सम्बन्धी निर्देशिकामा होम आइसोलेसनमा राख्ने प्रावधान छ। अस्पतालमा आइसोलेसनमा रहेका विरामीलाई बाहिर पठाउने व्यवस्था भने उल्लेख छैन। निर्देशिकामा आइसोलेसनबाट छुट्ने सम्बन्धमा पनि मापदण्ड तयार गरेको छ।
मापदण्ड अनुसार लक्षण तथा चिन्ह नदेखिएको केशको हकमा आइसोलेसनमा बसेको १४ दिनपछि डिस्चार्ज गर्न सकिन्छ। त्यस्तै, सामान्य लक्षण तथा चिन्ह देखिएको केशको हकमा कम्तिमा १४ दिनपछि वा लक्षण तथा चिन्हहरू पूर्ण निको भएको तीन दिनपछि डिस्चार्ज गर्न मिल्छ।
तर, ह्याम्स अस्पतालमा भर्ना भएकाहरूलाई पाँच दिनमा नै डिस्चार्ज गरियो। २२ गते संक्रमण पुष्टि भएकाहरू २४ गते ह्याम्स पुगेका थिए। त्यहाँ पाँच दिन उपचार गरेपछि सोल्टी गएका हुन्।
नेपाल वायु सेवा निगमले नै यसबीच मन्त्रालयलाई ह्याम्समा सार्न भन्दै पत्र लेखेको थियो। ह्याम्समा महँगो भयो, होटलमा सारिदिनु भन्दै पत्र लेख्यो। मन्त्रालयले पनि आफ्नो नियम लत्याउँदै निगमकै पत्रका आधारमा ह्याम्सलाई पत्राचार गर्नतिर लाग्यो।