PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

राष्ट्रिय हित सेना र प्रेसको मिलनबिन्दु : सेनाका नवनियुक्त प्रवक्ता पौडेल



पहिलोपोस्ट

राष्ट्रिय हित सेना र प्रेसको मिलनबिन्दु : सेनाका नवनियुक्त प्रवक्ता पौडेल

काठमाडौँ : नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले सम्हाल्ने छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा उनले जिम्मेवारी सम्हालेका हुन्।

विभिन्न मिडियाका रक्षा समाचारदातासँग जङ्गी अड्डामा बिहीबार भएको भेटघाटमा उनले सेना र आमसञ्चारका माध्यमबीच जनताको सुसूचित हुने अधिकारको रक्षा र राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा सन्तुलन बनाइराख्न जोड दिए।

उनले भने, 'जनताको सुसूचित हुने अधिकारको रक्षा गर्छौं, राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई समानान्तररुपमा लैजाने विषयमा सन्तुलन कायम हुनुपर्छ, हामी दुवैको मिलन बिन्दु र प्रस्थान बिन्दु त्यही नै हो।'

यसअघि उनी जङ्गी अड्डास्थित १५ नं बाहिनी र आपूर्ती तथा परिवहन निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए।
यसअघिका प्रवक्तामा सहायकरथी विज्ञानदेव पाण्डे थिए। उनी करिव १५ महिनाको प्रवक्ताको जिम्मेवारी पूरा गरी सुर्खेतस्थित उत्तर–पश्चिम पृतनाको नेतृत्व सम्हाल्न जाँदैछन्। भेटघाटमा उनले सेना र प्रेसजगत् कार्य प्रकृतिका हिसाबले दुई भिन्न क्षेत्र भए पनि अखण्ड, समृद्ध, शान्त राष्ट्र नेपाल निर्माणमा दुवैको भूमिका र जिम्मेवारी उच्च र अन्योन्याश्रित छ भने।

सहायक रथी पाण्डेले भने, 'आम जनतालाई सुसूचित पार्दै समृद्ध समाज निर्माणका लागि खबरदारी गर्ने प्रेसजगत् तथा जनता र देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको रक्षा गर्ने सेनाबीच कार्य प्रकृतिका हिसाबले भिन्न मान्यता रहे पनि राष्ट्रिय स्वार्थ र राष्ट्रियहित दुवै निकायको सर्वोपरी लक्ष्य हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell