काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि सरेको छ।
शुक्रवार ११ बजेका लागि बोलाइएको बैठक ३ बजेका लागि सारिएको थियो। दिउँसोलाई सारेर दुई अध्यक्षबीच छलफल भएको थियो।
बैठक साउन ४ गते ३ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा नेकपाका प्रचारप्रसार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।
पार्टीभित्रको किचलोका कारण नेकपामा बैठक अवरुद्ध हुँदै आएको छ भने यसैका कारण कारण दुई सातायता बैठक बस्न सकेको छैन।
असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम लगायत अधिकांश स्थायी कमिटी सदस्यहरुले ओलीको राजीनामा मागेका थिए।
तर, ओली दुवै पद नछोड्ने अडानमा नै रहे। सहमतिका लागि भन्दै बिहीवारको भेटमा पनि प्रचण्ड र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिन भनेका थिए। ओलीले राजीनामा नदिने र स्थायी कमिटी फेस गर्न तयार रहेको जवाफ दिएका थिए।
पार्टीको फुटको आन्तरिक जीवनमा संकट आएको भन्दै स्थायी कमिटी बैठक रोकेर छलफल थालिएको थियो। पटक पटक सारिएको बैठक गत शुक्रवार भने देशभर भइरहेको बाढी पहिरोको निहू पार्दै स्थगित गरिएको थियो।
