PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

काठमाडौंमा 'चोर' भन्दै कुटपिट, मृत्युपछि थाहा भयो निर्दोष



पहिलोपोस्ट

काठमाडौंमा 'चोर' भन्दै कुटपिट, मृत्युपछि थाहा भयो निर्दोष

काठमाडौं : 'चोर' भन्दै सर्वसाधारणले कुटपिट गर्दा एक जना युवकको मृत्यु भएको छ। उनी निर्दोष रहेको प्रहरीले जनाएको छ।

बिहीवार राति स्थानीयले चोर भन्दै कुटपिट गरेपछि रसुवा घर भइ कपुरधारा बस्दै आएका २४ वर्षीय छिरिङ लामाको मृत्यु भएको हो। रातको समयमा नागर्जुन नगरपालिका ५ गोलढुंगामा उनीहरुले रक्सी खाएर होहल्ला गर्दै हिँडेका थिए। त्यसपछि एउटा घरबाट मानिस निस्किएर को हो? के हो? भनेपछि उनीहरु बीच विवाद भएको थियो।

त्यसपछि अरु स्थानीयले चोर भएको भन्दै कुटपिट गरेपछि उनको मृत्यु भएको हो।

'उनीहरु चोर होइनन्। तर, मानिसले राति कराउँदै हिँडेपछि चोर भनेर कुटेर मृत्यु भएको देखियो,' महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी रंजितसिंह राठौरले भने।

कुटपिटपछि उनीहरु घाइते भएर लडेका थिए। तर, स्थानीयले रक्सी खाएर नाटक गरेको भन्दै उनीहरुलाई समयमा नै अस्पताल पुर्‍याएनन्। साढे १ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो। त्यसपछि उनीहरुलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएको केही समयमा नै उनको मृत्यु भएको डीएसपी राठौरले जानकारी दिए।

'हामीलाई समयमा नै खबर भएन। हामीले अस्पताल लगेको हो। तर, बचाउन सकिएन,' डीएसपी राठौरले भने।

कुटपिटमा संलग्न भएको अभियोगमा प्रहरीले केही मानिसलाई नियन्त्रणमा लिएको छ। कोको संलग्न थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ' यो कुटपिटपछिको हत्या हो। संलग्नलाई कारबाही गर्छौं,' डीएसपी राठौरले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell