काठमाडौं : गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये तनहुँ जिल्लाका ७ जना रहेका छन्। संक्रमितमध्ये तनहुँको म्याग्देका २, भानुका २ र ब्यासका ३ जना रहेका छन्।
त्यस्तै, संक्रमितमध्ये नवलपरासी पूर्वका १८ जना रहेका छन्। उनीहरुमध्ये १३ जना पुरुष र ५ जना महिला रहेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाको छ।
योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार २५६ पुगेको छ। संक्रमितमध्ये एक हजार ९९ जना पुरुष र १५७ जना महिला रहेका छन्। गण्डकी प्रदेशमा ४ जनाको मृत्यु भएको छ।
कुन जिल्लामा कति?
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सबै भन्दा बढी नवलपरासी पूर्वमा संक्रमित रहेका छन्। यहाँ २९५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १५७ जना डिस्चार्ज भइसकेका छन्।
बाग्लुङ जिल्लामा २२१ जनामा संक्रमण पुष्टि भएकोमा १८३ जना डिस्चार्ज भइसका छन्। त्यहाँका एक जनाको मृत्यु भएको छ। १९१ जनामा संक्रमण पुष्टि भएको स्याङ्जाका २ जना संक्रमितको मृत्यु भएको छ। त्यहाँका संक्रमितमध्ये १७१ जना डिस्चार्ज भइसकेका छन्। त्यस्तै, तनहुँ जिल्लामा १७१ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १२५ जना निको भइसकेका छन्।
एक जना संक्रमितको मृत्यु भएको गोरखामा ९९ जनामा संक्रमण पुष्टि भएकोमा ८४ जना उपचारपछि डिस्चार्ज भएका छन्।
पर्वत जिल्लामा ९४ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँका ८४ जना संक्रमित निको भइसकेका छन्। कास्की जिल्लाका ८५ संक्रमितमध्ये ८० जना डिस्चार्ज भइसकेका छन्। लमजुङमा हाल २० जना मात्र एक्टिभ केस छन्। ६४ जनामा संक्रमण पुष्टि भएको लमजुङमा ४४ जना डिस्चार्ज भइसकेको छ। एक/एक जनामा संक्रमण पुष्टि भएका जिल्लाहरु हुन् मनाङ र मुस्ताङ। त्यहाँका दुबै संक्रमित उपचारपछि डिस्चार्ज भइसकेका छन्।