प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विरोधमा नेपालीको कपाल खौरिएको घटनालाई दर्ता गर्दै वाराणशी प्रहरीले कारवाही प्रकृया अगाडि बढाएको छ। प्रधानमन्त्री ओलीले रामको जन्म भारतमा नभइ नेपालमा भएको भन्दै अभिव्यक्ति दिएपछि विरोधमा उत्रिएको समूहले नेपालीको कपाल खौरँदै जय श्री राम भन्न लगाएको भिडियो भाइरल भइरहेको छ। प्रधानमन्त्री ओली विरुद्ध नारावाजीसमेत गर्न लगाइएको छ। कपाल खौरिएको व्यक्तिको टाउकोमा जय श्री राम समेत लेखिएको छ।
विश्व हिन्दु सेनाको नाममा भएको यस्तो गतिविधिलाई अरुण पाठकले रेकर्ड गरेर आफ्नो फेसबुक प्रोफाइलबाट सेयर गरेका थिए।
भारतले नक्कली अयोध्या बनाएको भन्दै ओलीले रामको जन्म नेपालमा भएको जनाएका थिए। त्यसलाई लिएर नेपालको पराराष्ट्र मन्त्रालयले समेत विज्ञप्ति निकालेको थियो जसमा प्रधानमन्त्रीको भनाईलाई 'सिरियस'रुपमा नलिन भनिएको छ।
वाराणशी प्रहरीले ती व्यक्तिहरुबिरुद्ध एफआईआर दर्ता गरिसकेको जनाएको छ। बेहलपुर पुलिस स्टेसनमा उजुरी दर्ता भएको हो। प्रहरीले आवश्यक कारवाही गरिने जनाएको छ।
