सामाजिक सञ्जालमा निर्देशक एवं कलाकार निश्चल बस्नेतले केही वर्षअघि दिएको अन्तरवार्ता पुन: एक पटक चर्चामा छ। उक्त अन्तर्वाताको क्लिपमा उनले नेपालमा कोही पनि 'सुपर स्टार' नभएको तर्क राखेका छन्। राजेश हमाललाई महानायक मान्ने कि नमान्ने? भन्ने विवादबीच उनको धारणासहितको भिडियो सेयर भएको हो।
उक्त क्लिपलाई लिएर केही फिल्मकर्मीहरूले निश्चलमाथि अनेक टिका टिप्पणी गरे। फिल्महरू 'लंका' 'मौसम', 'मर्यादा', 'च्यालेन्ज' लगायत फिल्मका निर्देशक श्याम भट्टराइले निश्चललाई धम्क्याएको भाषामा स्टाटस पोस्ट गरे।
को हो त्यो निश्चल बस्नेत? सोध्दै स्टाटस लेखेका थिए - 'राजेश हमालको हैसियतको बारेमा बोल्ने निश्चलको कुन फिल्म हिट भयो? मा मु… शब्दलाई निकालेर। शुद्ध भाषामा फिल्म बनाएर, चलाएर देखाउ अनि बोल।'
स्टाटसमा उनले ‘तिमी र तिम्रो श्रीमतीको पासपोर्टको कपी पनि मै'सँग छ, धेरै नबोल’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए।
उक्त भाषामाथि आपत्ती जनाउँदै अभिनेत्री स्वस्तिमा खड्काले फेसबुक स्टाटस लेखेकी छिन्।
स्वस्तिमाले लेखेकी छिन्, ‘मैले कार्यक्रमको लागि भनेर पठाएको पर्सनल डकुमेन्टलाई लिएर यस्तो खालको धम्की आउनु आफैमा गलत प्रवृत्ति हो र बिना कारण धम्क्याउनु आफैमा अन प्रोफेसनल काम हो। उहाँ जस्तो प्रतिष्ठित अवार्डको आयोजकबाट मैले यस्तो गतिविधिको अपेक्षा गरेको थिइँन।'
यस विषयमा ध्यान पुर्याएकोमा कलाकार संघलाई धन्यवादसमेत व्यक्त गरेकी छिन्। तर, विषय यतिमै साम्य भएन। निर्देशक भट्टराईले पुन: जवाफ फर्काए। लेखे : राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठजस्ता नेपाली चलचित्रका महान हस्तीहरूलाई सम्मान गर्न लागिएको अवार्डमा यहाँहरूले पनि उपस्थित हुने इच्छा देखाएकाले प्रक्रियाका लागी पासपोर्ट कपी मलाई दिनु भएको हो। सो बाहेक अन्य कुनै प्रयोजनको लागि नदिएको र नलिएको जानकारी गराउँदछु।'
उनले विवादित स्टाटस हटाए। तर, निश्चलमाथि व्यङ्ग्य गर्न भने छाडेनन्। यसअघि कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले आफूलाई विषयमाथिको विवाद टुंग्याउने आग्रहसहित गरेको मेसेजको स्क्रिनसट सेयर गर्दै लेखे : 'मैले पोस्ट डिलिट गरिदिएँ। तर, व्यक्ति नभई प्रवृत्तिप्रतिको असन्तुष्टि सधैं रहनेछ।'
उनले निश्चललाई उध्रेको चोलीको व्याज खाएको आरोप लगाउँदै थप लेखे,'पुराना चलचित्रकर्मीलाई अपमानजनक अभिव्यक्ति दिनुको सट्टा त्यही पुराना भनिएका अभिनेता अभिनेत्रीलाई लिएर 'वागवान' जस्तो मर्मस्पर्शी विषय छानेर निर्देशनमा आउनुस्।'
निर्देशक तथा हाँस्य कलाकार दीपाश्री निरौलाले एक अनर्तर्वातामा 'राजेश हमाल महानायक हो र?' भन्ने प्रश्न गरेपछि यस विषयमा सामाजिक सञ्जालदेखि सञ्चार माध्यमहरूमा छलफल भए। दीपाश्री निरौला विवादमा तानिइन्। राजेश हमाल भने केही दिन मौन रहे। अन्तत एक भिडियो सन्देश दिँदै उनले आफ्ना शुभचिन्तकहरूलाई भने : दीपाश्री निरौलालाई माफ गरिदिनु।
निर्देशक श्याम भट्टराई भने एकोहोरो स्टाटसमार्फत् निश्चलविरुद्ध खनिने क्रम रोकिएको छैन। उनले स्वस्तिमाको जिज्ञासा सम्बोधन गरेको भन्दै लेखेको स्टाटस पछि पनि निश्चललाई चुनौती दिँदै लेखेका छन् : प्रताप सुब्बा, प्रकाश सायमी, लक्ष्मीनाथ शर्मा जस्ता हस्तीहरूबाट प्रशिक्षित मान्छे म पनि हो। अश्लिल शब्दलाई वर्जित गरेर, तपाईंले अयोग्य ठानेका तीनै अग्रजहरूलाई केन्द्रीय भूमिकामा राखेर एउटै समयमा, एउटै विषयमा निर्माण/निर्देशन गरौं न त। त्यसपछि दूधको दूध पानीको पानी छुट्याउने जिम्मा दर्शकलाई दिउँ।
श्याम भट्टराईले टेलिश्रृङ्खला 'गहना'बाट निर्देशन सुरु गरेका हुन्। उनले हाल आफू अमेरिकामा बसेर फिल्म पढिरहेको बताएका छन्।
निर्देशक निश्चल बस्नेत भने यस विषयमा केही बोलेका छैनन्।
