काठमाडौँ: पश्चिम नेपालको कञ्चनपुरमा पनि सलह किरा देखिएको छ। भारतबाट भैरहवा हुँदै शुक्रबार कञ्चनपुर पुगेको सलहको झुण्डलाई स्थानीयले परम्परागत विधिबाट धपाएका छन्।
कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले थाल ठटाएर, डिजे गीत बजाएर सलह भगाएको जानकारी दिए। चन्दका अनुसार कृष्णपुर नगरपालिकामा सलह आइपुगेको सूचना पाएपछि शुक्लाफाँटा र बेदकोट नगरपालिकाले पूर्व तयारी गरेका थिए। सलहको झुण्ड प्रवेश गरेपछि बेदकोटमा स्थानीय खेतमा उत्रिएर थाल ठटाउन थाले। गाईभैंसीको शरीरमा आउने किरा धपाउने विधि अनुसार आगो बालेर धुवा प्रवाह गरे। चर्को आवाजमा डिजे बजाए। पटाका पड्काए। होहल्ला गरेर सलहको झुण्डलाई भगाए।
मेयर चन्दले सलहको ठूलो झुण्डलाई बस्नै नदिएकाले खासै क्षति नभएको बताए।
‘अलिकति क्षति गर्यो। मकैमा बढी बस्दो रहेछ। उचाई मन पराउदो रहेछ। धान तल हुने भएकाले खासै खाएन,’ उनले भने, ‘कृषि ज्ञान केन्द्रले समयमै सूचना दिँदा पूर्वतयारी गरेर क्षति हुन दिएनौँ।’
उनका अनुसार चर्को होहल्ला र परम्परागत विधिले सलह धेरै बेर रोकिएन। केही केही ठाउँमा त एक मिनेट पनि टिक्न सकेन। होहल्लाले झुण्ड उडेको उड्यै भयो।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले कञ्चनपुरमा हिजोदेखि नै सलह प्रवेश गरेको जानकारी दिए।
‘भारतसँग सीमा जोडिएको पुनर्वास नगरपालिकामा हिजो नै सलह देखिएको थियो। आज कृष्णपुर भएर भीमदत्त नगरपालिकासम्म आइपुग्यो,’ उनले भने, ‘भीमदत्तको मझगाउँबाट सलहको झुण्ड हराएको छ।’
खतिवडाले निरन्तर लखेट्ने काम हुँदा खासै क्षति नभएको बताए।
‘स्थानीयले थाल ठटाउने, आवाज निकाल्ने गरेर झुण्डलाई बस्न दिएनन्। बसेकोलाई पनि धपाउने काम भयो। क्षति खासै भएको छैन,’ उनले भने।
उनले सलह फेरि आउन सक्ने भन्दै निगरानी गरिरहेको जानकारी दिए। ‘मझगाउँबाट कि जंगलतिर गयो कि भारततिर गयो भन्ने हाम्रो अनुमान हो। फेरि आउन सक्छ। हामी सतर्क छौँ,’ प्रमुख जिल्ला अधिकारी खतिवडाले भने।
उनका अनुसार कञ्चनपुरको बेलौरी र महाकालीबाहेक सबै ठाउँमा सलह देखिएको छ।
