PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

कुनै बेला 'सिन्धुपाल्चोकमा घर छ, मलाई के को डर छ?' अहिले भने विपदले बदनाम



नेत्र तामाङ

कुनै बेला 'सिन्धुपाल्चोकमा घर छ, मलाई के को डर छ?' अहिले भने विपदले बदनाम

सिन्धुपाल्चोक जिल्लामा मो च्याङ्बाको घर छ
मैच्याङ…

सानैबाट मुखमा बसेको गीत हो यो। रामचन्द्र काफ्लेको पप रिमिक्समा कम्मर भाँचेको यी गीतका असली सर्जकबारे पछिमात्र थाह पाएँ।
काठमाडौं भित्रिएपछि चिनजान भएका मित्रदेखि अग्रजहरुले घर कता भनी सोध्दा जवाफ हुन्थ्यो - सिन्धुपाल्चोक। अनि उनीहरुको जवाफ हुन्थ्यो यही गीत।

तातोपानी नाका, तातोपानी धारा, दुगुनागढी, बन्जी जम्प, भोटेकोशी र्‍याफ्टिङ, मेलम्ची खोला, हेलम्बु क्षेत्र, भोटेचौर चियाबगान, पाँचपोखरीले चेली बेचबिचखनको दाग मेट्दै थियो जिल्लाको।

तर, अचेल सिन्धुपाल्चोक विपद् र आपतको पर्यायवाची बनेको छ। 

कस्तो गाह्रो है सिन्धुपाल्चोकमा त? कोरोनाले पनि फ्याट्टै मान्छे मर्‍यो। 

कोरोनाको कारण पहिलो मृत्यु सिन्धुपाल्चोकमै भयो। यो भयो महामारीकै कारण।

विपदको घटनाले पनि बदनाम छ जिल्ला।

२०७१ साउन १७ गते राति खसेको पहिरोले १ सय ४५ जनालाई कठोरतापूर्वक मृत्युको मुखमा सुम्पिदियो।
माङ्खाको जुरे पहिरोमा सर्प मारेर पहिरो गएको हो भन्ने हल्ला चल्यो। 

जुरे पहिरोको १ महिनापछि पुगेको थिएँ सुनकोशी। पहाडको काखमा रहेको बस्ती नै बगाएकोले होला, साच्चै विरक्तलाग्दो भएको थियो ठाउँ। ठूलो पोखरी बनेको थियो नदीको पानी जमेर। नदीबीचमा डुबेको घर देखिन्थ्यो। सेनाको र्‍याफ्ट वारपार गरिरहेको देखिन्थ्यो। 

मध्य दिनमा पनि आउजाउ ठप्प। 

पहिरो गएको ठाउँमा दिउँसो १२ बजे मृतकका आक्रान्त स्वर सुनिन्छ, बनेको तालमा दिउँसै परी नाच्छे भन्ने कानेखुसी सुनेको थिएँ। मध्य दिनमा यो कुराले झस्काएको थियो हामीलाई। ६ वर्ष अघिको हो घटना। 

त्यतिबेला म सिन्धु वेलफेयर सोसाइटीको अध्यक्षको भूमिकामा थिएँ। केही सहयोग गर्न सकिन्छ कि भन्ने उद्देश्यका साथ अमेरिकामा रहेका सिन्धुवासीहरुको संस्था सिन्धु युएस इन्कले रिपोर्टिङ गर्न पठाएको थियो। त्यतिबेला संस्थाका महासचिव दावा लामा र म पुग्यौं। 

त्यस स्थानको अध्ययन गरेपछि विद्यालय र सामुदायिक भवनमध्ये एक बनाउन उचित हुने सुझाव हामीले सिन्धु युएसलाई दियौं। नभन्दै उताबाट विद्यालयलाई सहयोग गर्ने भयो। वनसाँघु माविले पहिरोबाट नमेट हुन पाएन। नयाँ भवन बनेसँगै विद्यालय बौरियो। त्यतिबेला सिन्धु युएसका अध्यक्ष वंशलाल तामाङ थिए, हाल इन्द्रावती गाउँपालिकाका अध्यक्ष। 

त्यसबेला उक्त क्षेत्रमा बस्ती ठीक छ कि छैन भनी अध्ययन भएको थियो। बस्ती बस्न उचित छैन भनी निष्कर्ष निकालिएको थियो। पहिरोबाट बाँचेका स्थानीय आफ्नो थातथलो नछोड्ने अडानमा थिए। सरकार र स्थानीयको द्वन्द्वमै समय बितिरहेको छ, अझै सकिएको छैन। त्यहाँका पीडितका लागि सरकारी कोषमा जम्मा भएको २ करोड ४४ लाख राहत स्थानीयले अझै पाएका छैनन्।

तातोपानी क्षेत्र जाँदा सडकमा सवारीलाई भेटिने गरी पहिरो जाने पहिलेदेखिकै समस्या हो।

भोटकोशी तल तल आइपुग्दा सुनकोशी बनेको छ। यो खोला बेल्ट वरपर चीनसँगको नाका तातोपानी रहेकाले सानो शहरहरु बन्न क्रम जारी रह्यो। यो बेल्टलाई पनि असुरक्षित मानिएकै हो। 

स्थानीयकै अडानलाई ठीक ठानी विद्यालय निर्माण कार्य अघि बढाउने निर्णय हामीले गर्‍यौं। किनकि, विपद् एकपटक त जाने हो। एकचोटि भत्केको ठाउँ अब बलियो हुन्छ भन्ने हाम्रो ठहर थियो। विद्यालसँग हातेमालो गर्दै अघि बढ्यौं। विद्यालय भवन आधाउधी बन्दा भूकम्प आयो।
भूकम्पले विद्यालय भवनमा केही क्षति पुर्‍यायो। यसोउसो गरेपछि बन्यो भवन, तर सिन्धुपाल्चोकलाई भूकम्पले बिर्सन नसक्ने दाग दिएर गयो। 
गोरखाको बारपाक केन्द्रविन्दु भएर २०७२ वैशाख १२ गते भूकम्प गयो। तर, क्षति धेरै सिन्धुपाल्चोकमै भयो। ८ हजार बढीको मृत्यु हुँदा तीन हजार पाँच सय बढी सिन्धुपाल्चोकै मानिसले ज्यान गुमाए।

भूकम्पले क्षतविक्षत संरचना अझै बन्न सकेका छैनन्। घाइतेहरुको रोदन अहिले पनि सुन्न सकिन्छ। भन्नै पर्दा सिन्धुपाल्चोक उठ्न सकेको छैन।
तातोपानी क्षेत्रलाई सबैभन्दा बढी क्षति पुर्‍यायो। त्यस क्षेत्र लगभग ठप्प भयो। त्यस भेगमा पर्यटन क्षेत्रमा संलग्नहरु कति विस्थापित भए। त्यहाँको सडक खोल्ने कुरा झन्डै कथा नै बनिसकेको थियो। धन्न ५ वर्षपछि यस वर्ष चलेको थियो। कोरोना महामारीसँग जुधेर खुलेको नाका अहिले बाढीपहिरोले फेरि अवरुद्ध बनेको छ।

भूकम्प र पहिरोको विपद्ले बदनाम बनेको सिन्धुपाल्चोक जिल्लावासीलाई भोटेकोशी बाढीले पनि अत्याउँदै आएको छ। 

यही क्षेत्र बाढीले प्रताडित बन्दै आएको छ।२०७३ सालमा भोटेकोशीमा आएको बाढीले दर्जनौ घर बगायो भने जलविद्युत आयोजनामासमेत क्षति पुर्‍यायो। आयोजनाका कर्मचारीसमेत बेपत्ता भए भने आयोजनालाई ठूलो क्षति पुर्‍यायो।

२०७४ सालमा नेपाल चीन सीमा नजिकै १० किलोमा रहेको पक्की पुल भाँचिने गरी पहिरो आयो। पुल भोटेकोशीले बगायो। तातोपानीसँगको सम्पर्क टुट्यो। पछि बेलिब्रिज बनेको थियो। बेलिब्रिज निर्माणको अन्तिम समयमा भाँचियो।

२०७५ मा बाह्रबिसेको खुर्सानीबारीको साँधी खोलामा रहेको पक्की पुल पहिरोले बगायो। धन्न बाह्रबिसे बजारलाई केही भएन।

सिन्धुपाल्चोकमा विपत्तिको लहर चलिरहेकै छ। यस वर्ष पनि असार २५ गतेबाट बाढी र पहिरो एकै दिन आयो। देशमै बाढी पहिरोको डेब्यु यो वर्ष सिन्धुपाल्चोकबाट भयो। 

बाह्रबिसे नगरपालिका वडा ५ मा पर्ने जम्बुमा बाढी र पहिरोमा परी अहिलेसम्म तीन जनाको मृत्यु भयो भने २० जना बेपत्ता छन्। 

त्यसैगरी भोटेकोशी गाउँपालिकामा आएको बाढी पहिरोका कारण २ जनाको मृत्यु र ३ जना बेपत्ता छन्। भोटकोशीको फुल्पिङकट्टीमा पछिल्लो पहिरो खसेको छ। पहिरो र बाढीले सुरक्षित बस्ती खोज्दै भागदौडसमेत चल्यो केही दिन अघि।

असार ३० मा मेलम्ची मुहानमा त्यस्तै घटना भयो। सुरुङमा पानी भर्ने क्रममा पानीको भार थाम्न नसकेर १७ नम्बर गेट फुस्कँदा चार जनालाई पानीले बगायो। अहिले सुरुङमा पानी हाल्ने काम रोकिएको छ।

चार जनामध्ये दुई जनाको उद्धार भयो र उपचार भइरहेको छ। इन्जिनियर सतीश गोइत मृत भेटिए। चालक राधाकृष्ण थापामगरको पत्तो लागेको छैन।

प्रकृति र मानिसको द्वन्द्व हो यो। यसमा भोटकोशी क्षेत्र सबैभन्दा असुरक्षित देखिएको छ। त्यस वरपरका स्थानीयलाई थाहा छ, यो ठाउँ असुरक्षित हो भनेर। अध्ययन पनि भएकै हो। विज्ञले पनि सुझाएका छन् त्यस क्षेत्र सुरक्षित छैनन् भनेर। 

तर, नयाँ थलोमा सरकारले स्थान्तरण गर्न नसक्दा स्थानीय त्यतै बस्न बाध्य छन्। अर्को आशा हो तातोपानी नाकाले पुनर्जीवन पाए सोही क्षेत्र कमाइ गर्ने ठाउँ बन्छ भनेर।

अर्को कुरा भोटेकोशी क्षेत्रमा जलविद्युत परियोजना पनि बन्ने क्रममा छ। पछिल्लो पटक जम्बुमा पहिरो गएको छ। यहाँ मध्ये भोटेकोशीको पावर हाउस थियो। अर्को मेलम्ची पनि राष्ट्रिय गौरवको आयोजना हो। यस्ता परियोजना बन्दा प्रकृतिमा के कस्ता असर परेका छन्। स्थानीयलाई परियोजना वरपर बस्नु कतिको खतरा छ भन्ने अध्ययन पनि हुन नसक्नु कमजोरी देखिन्छ। 

पहरा फोर्दा प्राकृतिक देउता रिसाउने किंवदन्ती यथावत छ नै। डोजर चलाएर पहाड चर्काउने र ब्लास्टिङ गरी पहरा भत्काउने परम्परा कतिको ठीक छ यो पनि अध्ययन हुनु जरुरी छ। विकास परियोजना वरपर स्थानीय कति सुरक्षित हुन्छ? उनीहरुलाई स्थान्तरण कतिको आवश्यको जरुरी छ? र, अर्को असुरक्षित ठाउँमा अटेरी गरी बस्नु पनि हुन्न भन्ने पाठ प्रकृतिले बेलाबेला सिकाउँदै आएको छ। दुई चार पोका राहत दिएर फोटो खिच्ने प्रतिस्पर्धा गर्नुभन्दा स्थायी भोटर बनाउने हो भने नेताहरुले असुरक्षित क्षेत्रका स्थानीयलाई सुरक्षित बासको व्यवस्था गरिदिनुपर्ने देखिन्छ।
अहिले पनि वर्ष जारी छ। डर जारी छ - आज पनि केही वितण्डा हुने हो कि भन्ने।

अनि सामाजिक सञ्जाल फेसबुकमा एउटा पेज सम्झन्छु, 'सिन्धुपाल्चोक घर छ, मलाई के को डर छ?

जुरे पहिरो अघि नै मैले देखेको थिएँ यो पेज। अहिले पनि यो पेज छ फेसबुकमा। पेजमा एउटा मेम पनि छ : सिन्धुपाल्चोक घर छ मलाई के को डर छ, पहिरो र बाढीको डर छ।

तर, मेलम्चीको मुहानमा सुनजस्तै धातु भेटिएको पोस्टदेखि कुनै पोस्ट अपडेट छैन। साँच्चै डरैडर भएर हो कि यो पेज अपडेट हुन छाडेको?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell