PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'ग्याङ फाइट'मा खुकुरी प्रहार, दुई जना घाइते



एम बम

'ग्याङ फाइट'मा खुकुरी प्रहार, दुई जना घाइते

कैलाली : कैलालीको धनगढीमा दुई समूहबिच झगडा हुँदा दुई जना घाइते भएका छन्। धनगढी उप–महानगरपालिका–१३ कैलाली गाउँस्थित राजपुरमा भएको ‘ग्याङ’ फाइटमा खुकुरी प्रहार हुँदा दुई जना घाइते भएका हुन्। शुक्रवार राति भएको दुई युवा समूहबिचको झगडापछि खुकुरी प्रहार हुँदा दुई जना घाइते भएका प्रहरीले जनाएको छ।

उक्त झगडामा परी धनगढी–१३ कै २३ वर्षका निरज भट्ट र वडा नम्बर ६ बस्ने २२ वर्षका गणेश धामी घाइते भएका छन्। उनीहरूको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर भएका कारण थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ। प्रहरीका अनुसार यस अघि पनि दुई समूहबिच सामान्य झगडा भएको थियो। पुरानो रिसाइबीका कारण झडप भएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार गर्ने समूहका वडा नम्बर ३ का सन्नी नेपाली र २ का दीपेन्द्र भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरू यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको छ। यस अघिको झगडाको रिस साँध्न खुकुरी प्रहार गर्ने समूहका ८–१० राजपुर पुगेका थिए। तर प्रहरी २ जनालाई मात्रै पक्राउ गर्न सफल भएको छ।

सन्नी नेपालीको साथबाट एक थान १ खुकुरी र  दीपेन्द्र भण्डारीको साथबाट एउटा तरबार समेत बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell