PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

४० करोडको जग्गा हत्याउने नक्कली छोरा!



राधेश्याम पटेल

४० करोडको जग्गा हत्याउने नक्कली छोरा!

वीरगंज : बुवाआमाको मृत्यु भएको केही वर्षपछि दीपक राजभण्डारी, राजीव भण्डारी र सञ्जीव भण्डारी पर्सामा रहेको आफ्नो जग्गा नामसारी गर्न वीरगंज पुगे।

आमा कमलाको २०७३ फागुन १ मा मृत्यु भएको थियो भने बुवा गोपालको २०७४ फागुन ५ मा।

वीरगंज महानगरपालिका-५ कित्ता नं.३ को १२७३.८ वर्ग मिटरको जग्गा, कित्ता नं.७१ को ३२५ वर्गमिटर, कित्ता नं.१४३ को ८६.१० वर्गमिटर जग्गा र कित्ता नं. १८६ को १०३.४ वर्गमिटर गरी ४ कित्ताको जग्गा आमा कमलाको नाममा थियो।

यही जग्गा आफूहरुको नाममा नामसारी गर्न पाउँ भन्दै तीनै जना छोराले २०७६ माघ २९ गते निवेदन दिए।

तर, त्यसको केही दिनमा जग्गा मालपोत कार्यालय पर्साले मुकेश राजभण्डारीको नाममा दर्ता गर्‍यो। २०७६ फागुन १२ गते उक्त जग्गा मुकेशको नाममा दर्ता गरेको देखिन्छ। त्यसपछि दीपक, राजीव र सञ्जीव चकित परे।

+++

नक्कली कागजात खडा गर्ने मुकेशले ललितपुर महानगरपालिका-३ बाट मृत्यु दर्ता, नाता प्रमाणित, नागरिकता प्रमाणपत्रको आधारमा मालपोत कार्यालय, पर्साले सो जग्गा किनबेच गराएको देखिन्छ। वास्तविक जग्गाधनी काठमाडौं निवासी भए तापनि ललितपुरबाट अन्य कागजातहरु आए पनि मालपोत कार्यालयले भेरिफाइ नगरी सिधै नामसारी गरेको कारण मालपोतका केही कर्मचारीहरुको संलग्नता सो घटनामा देखिन्छ।

त्यतिमात्र होइन मुकेशले पेश गरेको नागरिकता र अन्य कागजात सबै फर्जी देखिन्छ। वास्तविक जग्गाधनीहरुले कागजात खोज्दा मुकेश राजभण्डारी भन्ने व्यक्ति फेला परेको छैन।

मालपोत कार्यालय पर्साले जग्गा नामसारीको लागि प्रमाण पेश गर्दा फरक-फरक किसिमको कागजात पेश गरेको तर मालपोत कार्यालय पर्साले सो कागजातलाई पुष्ट्याइ नगरी गम्भीर त्रुटि गरेको देखिन्छ। नक्कली जग्गाधनी मुकेश राजभण्डारीले पेश गरेको कागजातमा दुई जना भाइ अस्ट्रेलियामा बसेको उल्लेख गरिएको थियो। साथै, मुकेशले अस्ट्रेलियन दूतावासको नक्कली कागजात तयार गरी मन्जुरनामासमेत पेश गरेको देखिएको छ।

यसमा ४० करोड मूल्य पर्ने जग्गा कौडीको मूल्यमा खरिद गर्ने गरी नियत राखेका वीरगंजका व्यवसायी गिरधारी अग्रवाल (वंशल)को नै मुख्य चलखेल भएको देखिएको छ। कमला राजभण्डारीको नाममा रहेको सो जग्गा कीर्ते गर्ने मुकेश राजभण्डारी भन्ने व्यक्ति नरहेको र नक्कली व्यक्ति खडा गराई सो जग्गा कीर्ते गरी बिक्री भएको देखिएको अधिवक्ता सुधीर कर्णले बताए।

अधिवक्ता कर्णका अनुसार मालपोत कार्यालयका केही कर्मचारीहरुले यसमा मिलोमतो गरेको देखिन्छ। आधार, प्रमाण फरक भेटिएपछि पत्रपत्रिकामा सार्वजनिक सूचनासमेत ननिकाली सिधै हुँदै नभएको व्यक्तिको नाममा जग्गा नामसारी गर्नुमा कर्मचारीको संलग्नता रहेको अधिवक्ता कर्णले आरोप लगाए।

नक्कली जग्गाधनीले पेश गरेको वास्तविक जग्गाधनीको मृत्युदर्तामा फरक-फरक मिति रहेको देखिन्छ। केही दिनअघि वास्तविक जग्गाधनीका छोराहरु वीरगंजमा आएर सोधखोज गरेपछि यो घटना बाहिरिएको हो।

जग्गा नामसारी भएपछि वीरगंजका गिरधारी अग्रवाल (वंशल)ले ५० लाख रुपैयाँमा जग्गा किन्न बैना गरेको र उक्त जग्गा अदालतमार्फत रोक्का गराएको देखिन्छ।

यसरी काठमाडौं-१ निवासी गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा दर्ता रहेको ४० करोड मूल्य बराबरको करिब ५ कठ्ठा जग्गा नक्कली छोरा बनेर मुकेशले आफ्नो नाममा नामसारी गराएको खुलेको हो।

वीरगंज, होटल मकालुअगाडि रहेको मर्कन्टाइल कम्युनिकेसनको जग्गा मालपोत कार्यालय, पर्साले नक्कली कागजातको आधारमा नामसारी गरेको देखिएको छ।

वास्तविक जग्गाधनी गोपालका छोरा दीपक, राजीव, सञ्जीवलाई थाहा नदिई मुकेशलगायत राकेश राजभण्डारी, रुपेश राजभण्डारीले आफूहरु जग्गाधनीको छोरा रहेको भनी नामसारीको लागि मालपोत कार्यालय, पर्सामा २०७६ माघ २९ गते निवेदन दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell