PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

ठोरीको सीता गुफामा पूजाअर्चना, गुफा माथिको सीमाको पिलर एसएसबीले उखेल्यो



राधेश्याम पटेल

ठोरीको सीता गुफामा पूजाअर्चना, गुफा माथिको सीमाको पिलर एसएसबीले उखेल्यो

वीरगंज : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रेता युगका भगवान रामको जन्मभूमि नेपालकै पर्साको ठोरीमा रहेको अभिव्यक्ति दिएसँगै ठोरी अहिले चर्चा छ। ठोरीबासीले खुशीयाली मनाइरहेका छन् भने प्रधानमन्त्रीको अभिव्यक्तिको स्वागत गर्दै एक आपसमा शुभकामना आदानप्रदानदेखि धार्मिक गतिविधि पनि तीव्र पार्दै गएका छन्।

ठोरी गाउँपालिकाकै अध्यक्ष पद्यमलाल श्रेष्ठकै अगुवाईमा भव्य कलश यात्रा निकाली पूजापाठ पनि गरिएको छ। ठोरीको विभिन्न वडाबाट आएका करिब २ सय भन्दा बढी श्रद्धालु भक्तजनले ठोरी-२ सीता गुफामा बाजागाजासहित पुगेर राम, सीता, हनुमानलगायत अन्य देवीदेवताको पनि विधिवत पूजाआराधना गरेका छन्।

विभिन्न टोलबाट र्‍याली निकाल्दै ठोरीको ठुटे खोला नजिक रहेको राइधाराबाट जल भरेर कलश यात्रा गर्दै सीता गुफामा पुगेका थिए। सबैले सीता-रामको जयजयकार लगाएको स्थानीय पत्रकार चिरञ्जीवी सापकोटाले बताए। रामभूमि भएको प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिलाई स्वागत गरी अगामी दिनमा सीता गुफा अगाडि नै धनुषसहितको रामको मूर्ति निर्माण गर्ने योजना पनि अघि बढिसकेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए।

त्यसैगरी, स्थानीय, प्रदेश र संघीय सरकार मिलेर ठोरीलाई धार्मिक पर्यटकीय स्थल बनाउने ठोरीबासीको चाहना रहेको उनले बताए।

सीता गुफा माथिको पिलर एसएसबीले उखेल्यो

सीता गुफामा शनिवार बिहान भएको पूजा आराधना देखेर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल भारत सीमा छुट्याउने ढलानको पिलर पनि उखेर फालेको स्थानीयले आरोप लगाएका छन्।

‘ठोरीमा वीरगंजबाट बिजुली र पोल गाड्दाको समयमा पनि भारतीय एसएसबीले ४ वटा बिजुलीको पोल र तार उखेर फालेका थिए’, स्थानीय रामशरण लामिछानेले भने, ‘आज पनि पूजापाठ देखेर एसएसबीले दूरबिनबाट वाच गरेको हुनु पर्छ, त्यसपछि केही घण्टामा सादा पोसाकमा आएर पिलर उखेर फालिएको अवस्थामा भेटिएको छ।’

उनले नेपाल भारतका दुवै देशका सुरक्षा अधिकारीहरुले पिलर यथास्थानमा गाड्नु पर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell