PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

ओलीको महाधिवेशन क्षेप्यास्त्रः प्रचण्ड मौन बस्दा माधव नेपालको शंका, ‘दुई अध्यक्षमात्र मिले जागरण अभियानमा जान्छु’



कुञ्जरमणि भट्टराई

ओलीको महाधिवेशन क्षेप्यास्त्रः प्रचण्ड मौन बस्दा माधव नेपालको शंका, ‘दुई अध्यक्षमात्र मिले जागरण अभियानमा जान्छु’
तस्विरः सूर्य थापाको फेसबुकबाट

काठमाडौँः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद निर्णायक मोडमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन मंसिरभित्र गर्ने प्रस्ताव अघि बढाएपछि दुई समूहबीचको द्वन्द्वमा निकास देखिएको हो। ओलीको प्रस्तावपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूह ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुपर्ने अडानबाट पछि हट्ने संकेत गरेको छ।

ओलीको प्रस्तावमा प्रचण्ड मौन रहे पनि नेता नेपाल भने सकारात्मक छैनन्। नेपालले विस्तृत खाकाको माग नै गरेका छन्।

ओलीको प्रस्तावमा प्रचण्डले भने शनिबारको सचिवालय बैठकमा खास टिप्पणी गरेनन्। बरु, पार्टीलाई एक ढिक्का बनाउनुपर्ने आशयमा आफ्नो भनाई राखे।

‘एकता महाधिवेशन पनि चाँडो गर्न सकिनेमा दुवै अध्यक्ष सकारात्मक देखिनुभएको छ। छिट्टै महाधिवेशनमा जाने कुरामा अध्यक्ष प्रचण्ड पनि सहमत जस्तै हुनुहुन्छ,’ ती सदस्यले भने।

ओलीको प्रस्तावलाई प्रचण्डसहित अर्का सचिवालय सदस्य रामबहादुर थापाले पनि सकारात्मक टिप्पणी गरेका छन्।

एकता महाधिवेशनको प्रस्ताव आवरणमा भए पनि पछिल्ला दिनका छलफल अनुसार ओली र प्रचण्डबीच पावर सेयरिङमा नयाँ समझदारी बनेको एक स्थायी समिति सदस्यको दाबी छ।

‘मंसिरमा महाधिवेशनको कुरा त आवरणमात्र हुनसक्छ। पावर सेयरिङमा ठोस सहमति भएको हुनसक्छ। एक दुई दिनमै स्पष्ट हुन्छ,’ ती स्थायी समिति सदस्यको भनाई छ।

उनका अनुसार स्थायी समितिमा अब ओलीको राजीनामाको माग स्थगन हुनेछ। स्थायी समितिमा अध्यक्षद्वयले ल्याउने प्रस्तावलाई अघि बढाउने समझदारी ओली प्रचण्डबीच बनिसकेको उनको दाबी छ।

माधव नेपाल असन्तुष्ट

दुई अध्यक्षबीच विवादले विश्राम लिएको संकेत सचिवालय बैठकमा प्रकट हुँदा वरिष्ठ नेता माधवकुमार नेपाल भने असन्तुष्ट देखिएका छन्। नेपालले आफ्नो असन्तुष्टि बैठकमा भने प्रकट गरेका छन्। बैठकपछि आफू निकट नेताहरुसँग नेपालले ओलीको महाधिवेशनको प्रस्तावलाई नयाँ क्षेप्यास्त्रको प्रयोग भनेर टिप्पणी गरेका छन्।

बैठकमा नेपालले महाधिवेशन मंसिरमा सम्भव नभएको पनि बताएका छन्। दुई अध्यक्षबीच मात्र विवाद समाधानको विधि खोजिए मान्य नहुने पनि बताएका छन्। अध्यक्षद्वयबीच समझदारी भएमा आफ्ना एजेण्डा लिएर कार्यकर्तामाझ जाने नेपालको चेतावनी छ।

‘मंसिरमा महाधिवेशन सम्भव हुँदैन। दुई अध्यक्षको सहमतिले मात्रै अहिलेको समस्याको हल निस्किँदैन,’ बैठकमा नेपालले भने।

पछिल्लो समय प्रचण्डसहितका नेताहरूले स्थायी समितिमा प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न ओलीलाई दबाब दिएका थिए।

दुवै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेका हुन्। शनिबारको सचिवालय बैठकपछि अध्यक्ष ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि शीतल निवास पुगेका थिए।

सचिवालय बैठकले आइतबार ३ बजेका लागि बोलाइएको स्थायी समिति बैठक सञ्चालन गर्ने निर्णय पनि गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell