क्यार्लिफोर्नियाको भव्य सिटी हलका भर्याङहरूमा दर्जनौं मैनबत्तीहरू हुन्छन्। सबै आधा बलेर निभेका। केही पग्लिएर भुईंसम्म पुगेको देखिन्छ। ती मैनबत्तीहरूमा‘भर्जिन म्यारी’ को तस्विर छ। भर्याङहरूको सबैभन्दा माथिल्लो तहमा भने एक सैन्य महिलाको तस्विर। महिलाको शीरको ठीक माथि लेखिएको छ‘भ्यानेसा’।
तस्विरमा देखिएकी तिनै महिलाका निम्ती न्याय माग्दै गर्दाको दृश्यको व्याख्या हो यो। भ्यानेसा गुइलेन सेनाकी विज्ञ थिइन् जो आफूभन्दा माथिल्लो पदकाहरूबाट यौन दुर्व्यवहारमा परिन्। टेक्ससको सैन्य बेसमा भएको उक्त घटना पछि उनी मृत भेटिइन्। घटना गत जुन महिनाको हो।
अप्रिलदेखि बेपत्ता थिइन् भ्यानेसा। जुनमा उनको मृत शरीरका केही अंश फेला परे। घटना सार्वजनिक भएसँगै रिचमण्ड शहरको सिटी हल बाहिर रहेक रात सयौं मानिस भेला हुने गरेका छन्। उनीहरूको माग – भ्यानेसालाई न्याय। सहभागिता जनाउनेमध्ये धेरै सेनाभित्र दुर्व्यवहारमा परेकाहरू हुन्छन्।
‘न्याय सभा’का अभियन्ताहरू सहभागीलाई सेनामा आफूले भोगेको दुर्व्यवहारका कथा सुनाउन आग्रह गरिरहेका छन्। उनीहरूले विद्यालय वरपर सेनाको उपस्थितिमा प्रतिबन्ध लगाउन समेत जोड दिइरहेका छन्। किनकि भ्यानेसाले मर्नु अघि आफ्ना परिवार र साथीहरूसँग आफू दुई सेनाबाट यौनजन्य दुर्व्यवहारमा परेको सुनाएकी थिइन्।
‘मैले भ्यानेसालाई सेना भित्रकी जर्ज फ्लोयडजस्तै देखेकी छु। उसको भोगाइले एउटा गम्भिर समस्याका विषयमा सबैको ध्यानाकर्षण गराएको छ। अब हामी बोल्न डराउने पक्षमा छैनौं’, एनेट लक्कीले भनिन्। अमेरिकी नौसेनामा कार्यरत उनकी छोरी डानिएल सन् २०१६ को अक्टोबरमा अमेरिकी विमान वाहकमा मरेकी थिइन्।
उनकी छोरी जापानमा खटेको १ महिना नबित्दै सेप्सिसका कारण बितेकी हुन्। एनेट र उनका श्रीमान डेरिकले विमान वाहकमा सवार चिकित्सकले आवश्यक ध्यान नपुर्याएकै कारण आफ्नी छोरीको निधन भएको आरोप लगाए। सन् २०१८ मा अमेरिकी नौसेनाविरुद्ध उनले उजुरी दर्ता गरे पनि कुनै किसिमको सम्बोधन भएन।
अमेरिकी नौसेनाका प्रवक्ताले डानिएलको मृत्युसम्बन्धी सैन्य शाखाले कुनै टिप्पणी नगरेको बताएर यस विषयलाई टारे। सन् २०२० को जनवरीदेखि भने उक्त केस खारेज भयो। तर, डानिएलको परिवारले भने सामाजिक सञ्जालमा यस विषय बारे निरन्तर लेखिरहेकै छ।
हाल आफ्नो कथासहित अगाडि आउने र अभियन्ताहरुसँग ऐक्यवद्धता जनाउनेहरुले ‘म नै भ्यानेसा गुइलेन हुँ’ भन्ने सन्देश प्रवाह गरिरहेका छन्।
रिचमण्डकै स्थानीय एस्टेफ्यानी सान्सेजले भ्यानेसा हराएदेखि नै यस विषयमा चासो देखाएकी छिन्। २३ वर्षीया उनी सन् २०१४ मा सेनामा भर्ती भएकी हुन्। भर्तीकर्ताहरूले नै उनलाई सैनिक बन्ने प्रस्ताव राखेका थिए। उनीसँग पनि भ्यानेसाकोजस्तै कथा रहेछ। उनले रिचमण्ड प्लससँग आफ्ना तीतो अनुभव साटेकी छिन्। आफू तल्लो तहदेखि माथिल्लो पदकाहरूबाट दुर्व्यवहारमा परेको कुरा उनले खुलाएकी छिन्।
सन् २०१९ को मे महिनामा सान्सेजले पीडकविरुद्ध उजुरी दिएकी थिइन्। तर, आफ्नो निवेदन सम्बोधन नभएको उनको गुनासो छ। अमेरिकी सेनाका सम्बन्धित अधिकारीले पनि यस विषयमा केही बोलेनन्।
भ्यानेसाको पक्षमा आन्दोलन सुरु भए पछि भने सान्सेज र उनका दुई बहिनी ज्याकी र नन्ड्रा अघि सरे। आफ्नो कथासहित अभियन्ता बनेर जोडिए। आयोजक गोन्जालो रुकोबोलाई साथ दिए।
रुकोबोले यस अभियानलाई एक दिवसीय कार्यक्रम बनाउन चाहेनन्।मुलत: भ्यानेसाका परिवारका लागि न्याय माग्ने अभियान थियो यो। तर त्यतिमै सीमित रहेन। द गार्जियनसँग उनले भनेका छन्,’हामी महिला र अन्य लैङ्गिकताका साथीहरूका लागि यस्तो ठाउँ बनाउन चाहन्थ्यौं। जहाँ उनीहरू आउन सकुन्, आफूले भोगेको यौनजन्य दुर्व्यवहारको अनुभव साट्न सकुन्।’
यसरी रिचमण्ड शहरका मानिसहरु आफ्नो कथाहरू भन्न अघि सरेका छन्। ती कथाहरू काल्पनिक होइनन्। बरु त्यहाँका मानिसले सेनामा भोग्नु परेको दुर्व्यवहारको गाथा हो। यी कथाहरूसँगै उनीहरुले स्थानीय विद्यालयमा आउने भर्तीकर्तामार्फत् सेनामा भर्ना गराउने बारेमा पुनर्विचार गर्न दवाव दिइरहेका छन्।
‘दुर्व्यवहारले’ मानिसलाई तर्स्याएको छ। रिचमण्डजस्ता समूदायमा सैन्य भर्तीकर्ताको भूमिका वहसको विषय बनेको छ यतिखेर। अभियन्ता रुकोबो दुर्व्यवहारको जोखिममा रहेका विद्यार्थीहरूको संस्था ‘बे एरिया पीसकेपर्स’मार्फत् पनि सक्रिय छन्। उनका अनुसार धेरै विद्यार्थी सैन्य पेशालाई घरको अस्थिर अवस्थाबाट बच्न, पैसा कमाउन र उच्च शिक्षामा पहुँच पाउने माध्यमको रूपमा लिन्छन्। तर, बाध्यता वा भुल बस् समस्यामा पर्छन्।
उनले सुनाए,’धेरै विद्यार्थी सेनामा टिक्न र कमाउनकै लागि दुर्व्यवहार सहने कुरा सुनाउँछन्।‘
अहिले अमेरिकी सेनामा हुने यस्ता यौन दुर्व्यवहारबारे धेरैको ध्यानाकर्षण भएको छ। त्यस्ता घटनाविरुद्ध अभियान चल्यो। लगत्तै अभियन्ताहरूले स्कूल, कलेजमा आएर लिने भर्ती प्रक्रियामा प्रतिबन्ध लगाउन माग गरिरहेका छन्।
हाल त्यहाँको ‘नो चाइल्ड लेफ्ट बिहाइन्ड’ ऐन २००१ अन्तर्गत भर्तीकर्ताहरू स्कूल, कलेजमा गएर विद्यार्थीहरूको सेनामा भर्ती लिन्छन्।
‘हामीलाई थाहा थियो सेनामा दुर्व्यवहार हुन्छ भन्ने। तर,यस्ता विषय प्राय नकारिन्छन्’, प्रोजेक्ट अन युथ एण्ड नन- मिलिटरी अपर्च्युनिटीकी सदस्य इसिड्रो ओर्टिजले भनिन्,’भ्यानेसाको केस दरिलो तथ्य र आधार बनेको छ त्यसको विरुद्ध बोल्न।’
(गार्जियनमा प्रकाशित सामग्रीको भावानुवाद।)
