सुर्खेत : विद्यालयको लेनदेनको विषयमा जाजरकोट छेडागाड नगरपालिकाका मेयर लालबहादुर महतारा मुछिएका छन्।
छेडागाड गाउँपालिका वडा ११ स्थित झाप्रामा रहेको बाल माविले रथलहमा रहेको गौतम हार्डवेयर बीचको लेनदेनको विवादमा मेयर महतारा मुछिएका हुन्।
बक्यौता रकम नबुझाएपछि मेयर महतारासहितको टोली उक्त पसलमा पुगेर पसलका सञ्चालक दिपाराम जैसीलाई कुटपिट गरेको आरोप लागेको छ।
हार्डवेयरका सञ्चालक जैसीले आफ्नो पसलमा आएर राति मेयरको टोलीले आक्रमण गरेको आरोप लगाएका हुन्।
'मेयरले कानमै हाने, प्रअले श्रीमतीको हात भाँचिदिए'
बाल मावि निर्माणक्रम जारी रहेको र यसअघिको बाँकी रकम दिने सहमतिमा आफूले नेपालगञ्जबाट सामान झिकाएको जैसीले बताए।
तर, अघिल्लो वर्षको बक्यौता नदिएपछि विवाद बढ्दा आफूलाई मेयरले कुटेको उनको आरोप छ। जैसीले भने, 'मैले पहिलेको पैसा तिर अनिमात्र स्कुलको सामान झार्छु भनेँ। साढे तीन लाख रुपैयाँ बाँकी नै छ। पुलिस प्रशासन आएर छलफल चल्दै थियो। यही विषयमा चर्काचर्की भएको हो।'
विवाद चर्किएपछि प्रहरीले साम्य पारेको र मेयरको टोली फर्किएको थियो। पछि मेयरको टोली रक्सी खाएर आएको र आफू र श्रीमती कालिकामाथि आक्रमण गरेको जैसीले दाबी गरे।
'एकछिनपछि रक्सी खाएर आउनुभएछ मेयरको टोली। ए बाहुन तिमी धैरै नमात, उधारो किन दे'को? भन्दै मेयरले हप्काए,' जैसीले भने, 'मैले पनि मुखमुख लागेँ। त्यसपछि त मलाई कानमै हाने मेयरले। म त भक्लक्कै ढलेछु।'
उनकी श्रीमती कालिकाको हात भाँच्चिएको छ। आफूहरु अहिले नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा उपचारका लागि आइपुगेको र जिल्लामा उजुरी दिने तयारीमा रहेको जैसीले बताए।
असार २९ गते साँझ भएको घटनाको विषयलाई मेलमिलापका लागि दबाव आएको उनले बताए।
'मेरो पैसा पाउनुपर्ने हो। विद्यालयले दिनुपर्ने हो। तर, दिएनन्। धन पनि दिएन। चोट पनि पायो,' उनले भने, 'यता श्रीमतीलाई प्रिन्सिपलले हात भाँचिने गरी पिटेछन्। मेरो केही गल्ती छैन। मैले गल्ती गरेको भए सजाय भोग्न तयार छु। तर, गाउँको सरकारले यस्तो गर्छ भने जनता कसरी सुरक्षित हुने?'
पुरानो साढे तीन लाख नदिएसम्म नेपालगञ्जबाट ल्याएको जस्ता स्कुलमा नझार्ने विषयमा विवाद हुँदा यस्तो घटना भएको उनले बताए। यस विषयमा मेयरसँग कुनै सम्बन्ध नभएको जैसीले बताए। 'मेयरसँग केही सम्बन्ध पनि छैन यो लेनदेनको। यो स्कुलसँगको लेनदेन हो। तर, मेयरले हामीलाई पिट्नुभयो,' उनले भने।
केस हामीकहाँ आइपुगेको छैन : प्रहरी
जाजरकोटका डीएसपी किशोर श्रेष्ठले यो विवाद जिल्लामा आइनपुगेको बताए। घटनामा कुटपिटसमेत नभएको उनको भनाइ छ। भने, 'विवाद भएको देखिएको छ। ठ्याक्कै कुटेको चाहिँ होइन। त्यो साँझ झगडा नगर्ने सर्तमा सबैलाई तितरबितर बनाएको हो प्रहरीले।'
घटनाको भोलिपल्ट पिट्यो भनेर पसलेले सामाजिक सन्जालमा भाइरल बनाएको दाबी श्रेष्ठले गरे। भने, 'केस हामी कहाँ आएको पनि छैन। त्यसैले केही (पसलेको विवरण) राखिएको छैन। खास केही भएको छैन। भाइरल गराएको मात्र हो।'
यसबारे जानकारी लिन मेयर महतारासँग साउन १ बाट पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन्।
नगरपालिकाकी उपमेयर सरिता वलीले मेयर सम्झाउनमात्र पुगेको आफूले जानकारी पाएको बताइन्। वलीले भनिन्, 'यो केही भएको हैन। मेयर सम्झाउन जानुभएको हो।' अर्को पसलबाट सामान लिएको रिसमा शिक्षकसँग पसलेले विवाद निकालेको उनले बताइन्। 'पसलेलाई पैसा तिर्नुरहेछ स्कुलले। तर स्कुलले अन्तैबाट सामान लिएको रहेछ। त्यही विवाद हो। मेयर सम्झाउनमात्र जानुभएको हो,' वलीले भनिन्।
कांग्रेस जाजरकोटको विरोध
दिपाराम वडा ११ का काँग्रेस सभापतिसमेत हुन्। जाजरकोट काँग्रेसले एक विज्ञप्ति जारी गर्दै यस विषयमा प्रशासनले छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।
काँग्रेस वडा सभापति रहेका दिपारामले यस विषयमा आफूसँग कुनै राजनीतिक रिसाइबी नभएको बताए।
'मेयरसँग मेरो कुनै रिसाइबी थिएन। स्कुलका सरहरुले लिएर आए। लिनुदिनु केही पनि हैन मेयरसँग। स्कुलसँग हो मैले लिनु भनेको,' उनले दोहर्याए।
घटना विद्यालयका शिक्षक पृथ्वीबहादुर सिंहको योजनामा भएको देखिएको नेविसंघका जाजरकोट जिल्ला अध्यक्ष ललित बस्नेतले दाबी गरे। 'कुटपिटमा विद्यालयका प्रअ कमलराज बस्नेत र पृथ्वीबहादुर सिंह पनि संलग्न छन्। मुख्य योजना पृथ्वीको देखिन्छ,' बस्नेतले भने।