PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

प्रदेश र केन्द्रको कोरोना तथ्याङ्क, न मृत्युको मिल्छ न संक्रमितको : मर्नेको संख्या ४० कि ४८?



विधुर ढकाल

प्रदेश र केन्द्रको कोरोना तथ्याङ्क, न मृत्युको मिल्छ न संक्रमितको : मर्नेको संख्या ४० कि ४८?

काठमाडौं : नेपालमा हालसम्म १७ हजार ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये ११ हजार ६३२ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार संक्रमितमध्ये ४० जनाको मृत्यु भएको छ। तर, प्रदेशका आधिकारिक निकाय स्वास्थ्य मन्त्रालय तथा त्यहाँका सामाजिक विकास मन्त्रालयको अद्यावधिक विवरण जोड्दा मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

प्रदेश ५ मा सबैभन्दा बढी मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकमा मृत्यु हुनेको संख्या १० छ। प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा मृत्यु हुनेको संख्या १३ छ। त्यहाँ आत्महत्या गरेका २ जना र दिल्लीमा मृत्यु भई नेपालमा शव ल्याइ परीक्षण गर्दा पुष्टि भएका एक जनालाई प्रदेशले संक्रमितको मृत्युमा राखेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा सुदुरपश्चिम प्रदेशमा ६ जनको मृत्यु भएको उल्लेख छ। तर, प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा मृत्यु हुनेको संख्या ८ रहेको उल्लेख छ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा कर्णाली प्रदेशमा ४ जनाको मृत्यु भएको छ। तर त्यहाँको सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमण भई मृत्यु हुनेहरुको संख्या ६ रहेको जनाएको छ। कर्णालीमा आत्महत्या गरेका २ जनामा पनि संक्रमण पुष्टि भएको थियो।

त्यस्तै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५ रहेको मन्त्रालय तथा प्रदेश सरकारको तथ्यांकमा उल्लेख छ। गोरखाका एक संक्रमितको मृत्यु भए पनि यो तथ्यांकलाई समावेश गरिएको छैन। आत्महत्याको प्रयास गरेका एक जनाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो। मृत्यु भएका उनमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमणको प्रादेशिक विवरण

प्रदेश १ मा सबैभन्दा कम संक्रमण देखिएको छ। त्यस्तै सबैभन्दा बढी प्रदेश २ मा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भइ डिस्चार्ज भएकामध्ये प्रतिशतका आधारमा प्रदेश ५ मा बढी छन्।

प्रदेश १

८२८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये ७४९ जना डिस्चार्ज भइसकेका छन्। यहाँ कसैको पनि मृत्यु भएको छैन। यता प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा भने ७९० जनामा मात्र संक्रमण पुष्टि भएको उल्लेख छ। प्रदेशमा डिस्चार्ज हुनेको संख्या ६९७ रहेको उल्लेख छ। प्रदेशमा १ जना संक्रमितको उपचारका क्रममा मृत्यु भए पनि उनको गणना प्रदेश २ को सप्तरी जिल्लामा गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ। प्रदेशमा परीक्षण गरिएकामध्ये १ जना बाहिरी प्रदेशका रहेको र उनको मृत्यु भएको उल्लेख छ।

प्रदेश २

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा प्रदेश २ मा संक्रमितको संख्या ४ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये दुई हजार ६३३ जना संक्रमित डिस्चार्ज भएका छन्। भने ६ जनाको मृत्यु भएको छ। यहाँ एक्टिभ केस १ हजार ८४४ रहेको छ।

तर, प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा संक्रमितको संख्या ४ हजार ६८ मात्र रहेको उल्लेख छ। त्यस्तै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २ हजार ६५९ रहेको प्रदेशको विवरणमा उल्लेख छ।

वागमती प्रदेश

बागमती प्रदेशमा संक्रमितको संख्या ८५२ पुगेको छ। संक्रमितमध्ये ९ जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये ४३२ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा यहाँ एक्टिभ केस ४११ छ। प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार आइसोलेसनमा रहनेहरुको संख्या ३७३ रहेको उल्लेख छ। संक्रमितहरुको संख्या ८५३ रहेको प्रदेशको तथ्यांकमा उल्लेख छ।

गण्डकी प्रदेश

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गण्डकी प्रदेशमा एक हजार २५९ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ। त्यस्तै गण्डकी प्रदेशमा संक्रमितमध्ये ९४६ जना डिस्चार्ज भइसकेका छन्। संक्रमितमध्ये ४०८ जना आइसोलेसनमा रहेको र ५ जनाको मृत्यु भएको उल्लेख छ।

प्रदेशको तथ्यांकमा भने संक्रमितको संख्या कम रहेको छ। आज विहान ११ बजेसम्मको अद्यावधिक विवरणअनुसार प्रदेशमा एक हजार ३०२ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशको विवरणअनुसार त्यहाँ ९३८ जना संक्रमित डिस्चार्ज भएका छन्।

प्रदेश ५

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार प्रदेश ५ मा संक्रमितको संख्या चार हजार १३९ रहेको छ। त्यस्तै हाल प्रदेश ५ मा एक्टिभ केस जम्मा ४१४ रहेको र डिस्चार्ज हुनेको संख्या तीन हजार ७१५ रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। मन्त्रालयको तथ्यांका आधारमा त्यहाँ मृत्यु हुनेको संख्या १० छ। यता प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा प्रदेश ५ मा संक्रमितको संख्या चार हजार ८१ मात्र रहेको उल्लेख छ। जसमध्ये एक्टिभ केस ३८१ र डिस्चार्ज हुनेको संख्या ३६८७ र मृत्यु हुनेको संख्या १३ रहेको उल्लेख छ। यहाँ डिस्चार्ज हुनेको दर ९०.५ प्रतिशत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा एक हजार ८१३ जना जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यहाँ संक्रमण पुष्टि भएकामध्ये एक हजार ४९२ जना संक्रमित डिस्चार्ज भइसकेका छन्। त्यस्तै मृत्यु हुनेको संख्या ४ र एक्टिभ केस ३१७ रहेको उल्लेख छ।

यता प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा एक हजार ७३७ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ। प्रदेशको विवरणअनुसार डिस्चार्ज हुनेको संख्या एक हजार ५१० जना संक्रमित निको भइसकेका छन्। प्रदेशमा एक्टिभ केस २२१ जनामा मात्र रहेको उल्लेख छ। यहाँ मृत्यु हुनेको संख्या ६ रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै प्रदेशमा संक्रमण पुष्टि भएका मध्ये ५३ जना प्रदेश बाहिरका रहेको र संक्रमण पुष्टि हुँदा उनीहरु प्रदेशमै रहेको कर्णालीको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

सुदुरपश्चिम प्रदेश

सुदुरपश्चिम प्रदेशमा चार हजार २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयको तथ्यांकअनुसार एक हजार ६७० जना डिस्चार्ज भएको र दुई हजार ३५२ जना संक्रमित उपचारका क्रममा रहेको उल्‍लेख छ। यहाँ ६ जना संक्रमित मृत्यु भएको उल्लेख छ।

यद्यपी प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा तीन हजार ८९९ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ। त्यस्तै ७६४ जना डिस्चार्ज भएको उल्लेख छ। मृत्यु हुनेको सख्या ८ जना रहेकोसमेत विवरणमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell