PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

कोरोनाबाट विदेशमा थप १६ जना नेपालीको मृत्यु



रासस

कोरोनाबाट विदेशमा थप १६ जना नेपालीको मृत्यु
PHOTO : REUTERS

काठमाडौं: विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको मृत्यु भएको हो।

कतारमा निधन भएका आठमध्ये दुई जनाको निधन हुनुअघि कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकी छ जनाको निधनपछि कोरोना पोजेटिभ देखिएको समितिले जनाएको छ। शनिबार साँझसम्म १४ देशमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए।

सङ्घका अनुसार जम्मा कोराना सङ्क्रमित नेपालीमध्ये ९३ प्रतिशत कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये सबै मुक्त भएका छन्। साथै मध्यपूर्वका केही देशमा रहेका नेपालीमा भने अझै कोरोना भाइरसको सङ्क्रमण नरोकिएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ।

हालसम्म विभिन्न देशमा कुल ३० हजार ५७१ सङ्क्रमित नेपालीमध्ये २८ हजार ६८१ जना सङ्क्रमणमुक्त भएको सङ्घको तथ्याङ्क छ।
यसैगरी भारत, साउदी अरेबिया, युएई र कुवेतमा मात्र यस साता ९५० नेपालीमा कोरोना सङ्क्रमण देखिएको समितिले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell