काठमाडौं : आफ्नै भान्जाको अपहरणपछि हत्या गर्ने एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। १३ वर्षअघि ११ वर्षीय रोहित गुप्ताको हत्या गर्ने उनकै मामा राजेश कुमार गुप्तालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
भारतको बिहार राज्य सीतामणी जिल्ला मुझफरपुर घर भई काठमाडौं महानगरपालिका-२२ खिँचापोखरी बस्ने रोहितको २०६४ असोज २४ गते बेलुका ५ वजे घरबाट बाहिर निस्किदा अपहरण भएको थियो। सोही दिन राति साढे ८ वजे अपरिचित व्यक्तिले टेलिफोन गरी रोहितका पिता बासुदेव गुप्तासँग दुई लाख पचास हजार रुपैयाँ फिरौती रकम मागेका थिए।
फिरौती रकम दिएपछि पनि बालक अपहरण मुक्त नभएपछि उनको खोजतलास शुरु गरिएको थियो। सो क्रममा २०६४ असोज २७ गते बेलुका सवा ८ वजे काठमाडौं-३२ कमलादीस्थित गणेश मन्दिर नजिक सडक पेटीमा प्लास्टिकको बोरामा पोको पारी फालिएको अवस्थामा रोहितको शव फेला परेको थियो।
अनुसन्धानको क्रममा रोहितको आपहरण तथा हत्याको योजनाकार उनकै सहोदर मामा राजेश कुमार गुप्ता भएको खुलेको थियो। राजेशले काठमाडौंको खिँचापोखरीस्थित भाडाको कोटामा उनको पसलमा पहिले काम गर्ने धादिङका विष्णु सुनारको सहयोगमा जादु सिकाउने बाहानामा रोहितलाई बन्दक बनाइ राखेका थिए।
रोहितको घाँटिमा डोरीले बाँध्न खोज्दा रोहित चिच्याउन थालेपछि दुवै जनाले उनको हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको थियो।
बालकको हत्यापछि शवलाई बोरामा प्याक गरी भरियालाई व्यापारको खुद्रा सामान हो भनी कमलादी गणेशस्थान नजिक सडकमा फ्याँक्न लगाएको पत्ता लागेको छ। त्यसपछि मृतकका पिता बासुदेवलाई झुक्याउन राजेशले उनीसँगै प्रहरी कार्यालयमा गई केही समय खोजतलाश गरेको बहाना गरी पछि फरार रहेका थिए।
घटनामा संलग्न विष्णु सुनार २०६४ मंसिर १२ गते पक्राउ परेका थिए। उनी हाल कारागारमा रहेका छन्। फरार ४५ वर्षीय राजेशलाई खोजतलाशको क्रममा शनिवार सर्लाहीको मलंगवा-८ गोरखकालीबाट महाशाखाको टोलीले पक्राउ गरेको छ।
