वीरगंज : ६ वर्षअघि एक भारतीय नागरिकको हत्या मुद्दामा फरार अभियुक्त आइतवार वीरगंजबाट पक्राउ परेका छन्। वीरगंज-८ गहवामा लुकीछिपी बस्दै आइरहेको अवस्थामा भारतीय नागरिक धर्मेन्द्रप्रसाद कलवारलाई प्रहरीले पक्राउ गरेको हो।
भारतको पश्चिम चम्पारण बेतिया घर भई वीरगंज ८ गहवामा बसोबास गर्दै आएका कलवारलाई बारा प्रहरीको सहयोगमा प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामको टोलीले नियन्त्रणमा लिई बारा प्रहरीलाई बुझाएको प्रदेश २ का डीआइजी धीरजप्रताप सिंहले जानकारी दिए।
२०७१ जेठ ९ गते भारतको पूर्वी चम्पारण रक्सौल घर भई वीरगंज ८ गहवामै बसोवास गर्दै आएका प्रमोद साह तुरहाको कर्तव्य ज्यान मुद्दामा फरार ४६ वर्षीय कलवारलाई नेपाल प्रहरीले फरार सूचीमा राखेर खोजी गर्दै आएको थियो। प्रदेश प्रहरी र बारा प्रहरीको संयुक्त प्रयासमा ती अभियुक्तलाई नियन्त्रणमा लिई अदालतमा पेश गर्ने तयारी रहेको बारा प्रहरीका प्रवक्ता गौत्तम मिश्रले जानकारी गराए।
उनले भने, ‘साविक विश्रामपुर गाविस ९ मा धारिलो हतियार प्रहार गरी प्रमोदको हत्या गरी कलवार फरार थिए, पूर्व सूचनाको अधारमा उनलाई समातिएको हो।’