PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सुदूरपश्चिममा बालबालिकामा कोरोना संक्रमण उच्च : संक्रमित ४ हजार नाघ्दा १९ वर्षमुनिका ८१३ पुगे



एम बम

सुदूरपश्चिममा बालबालिकामा कोरोना संक्रमण उच्च : संक्रमित ४ हजार नाघ्दा १९ वर्षमुनिका ८१३ पुगे

कैलाली : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या ४ हजार नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा ४ हजार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका ३ जिल्लामा संक्रमितको सङ्ख्या पाँच सय नाघ्दा कैलालीमा भने एक हजार नजिक पुगेको छ।

९ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित कैलालीमा रहेका छन् । कैलालीमा संक्रमितको सङ्ख्या ९ सय ५४ रहेका छन्। कैलाली बाहेक अन्य ३ जिल्लामा पनि ५ सय संक्रमित कटेका छन्। अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा ५ सय ८६ जना संक्रमित रहेका छन्।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार प्रदेशमा एक हजार ६ सय ५७ जनाको स्वाबको नमुना परीक्षणको क्रममा रहेको छ। उनले सबैभन्दा बढी कैलालीमा ८ सय ९६ र बाजुरामा ४ सय ४२ सक्रिय संक्रमित रहको बताए। त्यसपछि सक्रिय संक्रमित रहेको जिल्लाको सूचीमा डोटी तेस्रो स्थानमा छ। उनका अनुसार त्यहाँ ३ सय ८६ सक्रिय संक्रमित रहेका छन्।

भारतबाट आएका बालबालिकामा संक्रमण उच्च

सुदूरपश्चिममा परिवारसहित भारत बस्नेको सङ्ख्या उच्च रहेकाले बालबालिकामा समेत कोरोना संक्रमणको दर उच्च छ। अहिलेसम्म प्रदेशमा ९ वर्षमुनिका ३ सय १० र १० देखि १९ वर्ष उमेर समूहका ५ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए। उनले ती सबै बालबालिका भारतबाट आएका जानकारी दिए।

‘अहिले पनि प्रदेशका विभिन्न नाकाबाट दैनिक औसतमा १ हजार मानिस आउने क्रम जारी छ,’ उनले भने, ‘त्यसैले बालबालिकामा संक्रमण देखिने दर केही अझै बढ्न सक्ने हाम्रो आंकलन रहेको छ।’

बालबालिकामा संक्रमण बढिरहेकाले अभिभावकले विशेष सतर्कता अपनाउनुपर्ने चिकित्सकको सुझाव छ। सेती प्रादेशिक अस्पताल धनगढीका बाल रोग विशेषज्ञ डा. प्रदीप मिश्रका अनुसार शारीरिक सँगसँगै अहिले बालबालिकाको मानसिक स्वास्थ्य अवस्थाबारे समेत अभिभावकले सजगता अपनाउन जरुरी छ।

‘उनीहरूलाई अभिभावकले अलग्गै राख्नुपर्ने वा सामाजिक दुरीमा ध्यान दिएर बाहिर पठाउनुपर्ने हुन सक्दछ,’ उनले भने, ‘त्यसैले सकेसम्म व्यक्तिगत रूपमै भए पनि बालबालिकालाई सृजनशील काममा लगाउनु अहिलेका लागि सबैभन्दा उत्तम उपाय हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell