PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

नेपाली खेलकुदको कहाँ अड्कियो हलो?



मुकुन्द घिमिरे

नेपाली खेलकुदको कहाँ अड्कियो हलो?

कोभिड १९ को प्रकोपका कारण चैत महिनाबाट विश्वभरकै खेलकुद गतिविधि ठप्प भयो। केही महिना खेल रोकिए। तर कोरोना भाइरस नियन्त्रण नआउँदासम्म खेल क्षेत्रलाई ठप्प बनाइरहनु पनि त्यति उपयुक्त थिएन। त्यसैले करिब एक महिनायतादेखि भने स्वास्थ्य मापदण्डहरु बनाएर विश्वभर खेल गतिविधि सुरु पनि भए। दर्शक बिनाको स्टेडियममा फुटबल सुरु भयो। छक्का र चौकामा हुटिङ गर्ने सपोटर्स बिनै क्रिकेट पनि सुरु भयो। अरु खेलका अभ्यासहरु पनि विस्तारै सुरु भए।

नेपालको सन्दर्भ अलि फरक छ। ब्याडमिन्टन, कराँते, बक्सिङलगायतका खेलहरुमा मौखिक सहमतिबाट सीमित संख्यामा अभ्यासहरु सुरु भए। तर सुरक्षित मापदण्ड अपनाएर खेलकुद गतिबिधि पुर्णरुपमा सुरु गर्न भने सरकारले सोच्न भ्याएको छैन। अर्को तर्फ सरकारको खेलकुद हेर्ने निकाय राष्ट्रिय खेलकुद परिषद नै पछिल्लो समय अन्योलमा छ खेलकुद विकास ऐन आएसँगै। सदस्यसचिव निमित्त छन्। र, होड चलिरहेको छ को सदस्य सचिव बन्ने भनेर।

+++

कोरोना कहरबीच रोकिएको बी डिभिजन लिगलाई फेरि चलयमान बनाउन एन्फाले पहल सुरु गरेको छ। एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार राष्ट्रिय टिमको अभ्यासका लागि राखेप खेलकुद मन्त्रालय हुँदै क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसीएमसी) सम्म नै पहल गरिसकेको छ एन्फाले।

एन्फाले खेलकुद गतिविधि संचालन गर्न मापदण्ड बनाइसकेको छ। कुरिरहेको छ त सिसीएमसीको। अनि मात्रै खेलाडीहरुलाई प्रशिक्षणमा उतार्ने तयारी रहेको छ।

आगामी सेप्टेम्बर अक्टोबर महिनामा विश्वकप छनोट अन्तर्गतका खेलहरुमा नेपालले चाइनिज ताइपेइ र अस्ट्रेलियासँग घरेलु मैदानमा खेल्नु पर्ने भएकाले पनि अभ्यास सुरु गराउन एन्फाले दबाव महसुस गरेको हो। बलिया टोलीसँग घरेलु मैदानमा सम्मानजनक प्रतिस्पर्धाका लागि अभ्यास अहिले नगरे ढिला हुने खेलाडीहरुले बताउँदै आएका छन्।

एन्फाले माथिबाट संकेत पाउनसाथ खेलाडी बोलाएर क्वारेन्टिन राख्ने र पिसिआर चेक गरेर चाँडो अभ्यासमा फर्काउने तयारी गरिरहेको छ। शुक्रवार बसेको एन्फाको स्वास्थ्य समितिको वैठकमा सुरक्षित रुपमा फुटबल अभ्यास गराउने भनेर छलफल गरिएको थियो।

एकातिर एन्फा सिसिएमसीको संकेत कुरिरहेको छ। तर सिसिएमसीमा भने यसबारेमा पन्छिन चाहेको छ मन्त्रिपरिषदलाई देखाउँदै।

प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईं भने खेलकुदको सन्दर्भमा सिसिएमसीले भन्दा पनि यो मन्त्रिपरिषदले यस विषयमा निर्णय गर्ने बताए।

'अस्तिको क्याबिनेट निर्णयले खेलकुदका गतिविधिहरु खोलेको छैन। खेलकुदको गतिविधि खोल्ने नखोल्ने भनेर क्याबिनेटले गर्ने निर्णय हो नि त,' उनले भने

अनुमति पर्खंदै क्रिकेट पनि

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरु अहिले छरिएका छन् देशभर। काठमाडौंमा भएका केही खेलाडीहरु कीर्तिपुर स्थित क्रिकेट स्टेडियममा इन्डोर अभ्यास गर्दैछन्। पारस खड्का, ज्ञानेन्द्र मल्ल, सरद भेषवाकरलगायतका खेलाडीहरु त्यहाँ व्यक्तिगत अभ्यास गर्न पुगिरहेका छन्।

क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले गाइडलाइन्स जारी गरेर सोही अनुरुप क्रिकेट चलयमान बनाउने नीति लिएको छ। सोही अनुसार कोभिड १९ को संक्रमण भएयता रोकिएको क्रिकेट इङ्ग्ल्यान्ड र वेस्टइन्डिजको टेस्टसँगै सुरु भयो। अब पाकिस्तान पनि इङ्ग्ल्यान्डसँग ३ टेस्ट र ३ टी२० सिरिज खेल्न तमतयार छ।

यता नेपालमा यातायात खुल्यो। बजार खुल्यो। उद्योग खुले। चहलपहल बढ्यो। तर खेलकुदको अभ्यासकै लागि बहसलाई मुर्तरुप दिन सरकारले आवश्यक ठानेको छैन।

खेलाडीको चिन्ता

जुलाई ५ मा नेपाली क्रिकेट टिममका पूर्वकप्तान पारस खड्काले फेसबुकमा एउटा स्टाटस लेखे, 'आजबाट अन्तर्राष्ट्रिय क्रिकेट फर्कंदैछ। नेट सेसन र तयारीमा। 'अन फिल्ड एक्सन' सम्झिरहेको छु।'

लामो लकडाउनले खेलमा फर्कन खेलाडीहरु कति आतुर छन् भन्ने यसबाट पनि अनुमान लगाउन सकिन्छ।

त्यस्तै अर्का क्रिकेटर करण केसीले क्रिकेट पुन संचालन हुनुअघि नै श्रीलंका अभ्यासमा फर्किएको भन्ने आइसिसीको एउटा भिडियोलाई सेयर गर्दै 'हामी पनि फर्कन सक्छौ?' भन्ने ट्वीट गरेका थिए।

'मैदानमा आफूलाई मनपरेको हर एक खेललाई सम्झिरहेको छु।' जुन २८ मा ट्वीटरमा क्रिकेटर सन्दीप लामिछानेले लेखेका थिए।

केही खेलको अभ्यास सुरु त भयो तर मैदानमा फर्केपनि आफ्नो फर्ममा लकडाउनका कारण अभ्यास नहुँदा असर परेको अनुभव गरेका छ उनीहरुको। मुख्य त फिटनेस देखि व्यक्तिगत स्किलसम्ममा असर परेको खेलाडीहरु बताउँछन्।

कोभिडको संक्रमणलाई मध्यनजर गर्दै कराँते खेलाडीहरु अनुहारमा भाइजर लगाएर अभ्यास गरिरहेका छन्। ब्याडिमिन्टमा पनि अभ्यासको बीचबीचमा कोरियन प्रशिक्षकले स्यानिटाइजर खेलाडीहरुलाई दिँदै गरेको देखिन्छ।

खेलाडीहरु पनि पाएको अवसर खेर फाल्न चाहँदैनन्। कोरोनाको कहरबीच आउने दिनमा हुने प्रतिष्पर्धाका लागि अहिलेदेखि जुटिरहेका छन्।

'अहिले यहाँ आएर ट्रेनिङ गर्न पाउँदा अझै केही गर्नुपर्छ र पहिलाको भन्दा डबल मेहेनत गर्नुपर्छ भन्ने चाहीँ महसुस गरेका छौं,' कराँते खेलाडी अनुले भनिन्, 'यो ग्यापले शरीरको तौलदेखि लिएर पहिलाको फर्म, स्पीरिटमा असर पुर्‍याएको छ। धेरैसमय मैदान बाहिर रहँदा मेन्टल्ली पनि प्रभाव परेकै थियो। अभ्यास सुरु भएपछि एउटा आशा पलाएको छ।'

उनी जस्तै कयौं खेलाडीहरु अभ्यासमा त फर्कन चाहिरहेका छन्। तर सरकार मौन बस्दा अन्योलको अवस्था छ। विशेष गरी ग्रुप गेमको सन्दर्भमा।

अन्यौलताबीच एन्फा, क्यान लगायतका खेल संघहरु प्रक्रिया पुर्‍याएर खेल गतिविधि संचालन गर्ने तयारी गरिरहेका छन्। सिसिएमसीमा फाइल पुगेको छ। त्यहाँबाट पास भएपछि त्यो फाइल मन्त्रिपरिषदमा पुग्छ। त्यहाँबाट खेल क्षेत्र पुन: संचालनमा ल्याउने निर्णय भएमात्रै खेलाडीहरुलाई सुरक्षित रुपमा अभ्यास गराउने दाउमा खेल संघहरु। खेलकुद अलमलमा छ। खेलाडी भने अभ्यासको लागि सरकारको निर्णयको पर्खाइमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell