PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

चीनबाट ल्याइएका यी ६ जहाज जसले सवा दुई अर्ब नोक्सानी गराइसके



पहिलोपोस्ट

चीनबाट ल्याइएका यी ६ जहाज जसले सवा दुई अर्ब नोक्सानी गराइसके
फाइल फोटो

काठमाडौं : पाँच वर्ष अगाडि भित्र्याइएको छ वटा चिनियाँ जहाजबाट मात्रै नेपाल वायुसेवा निगमलाई सवा दुई अर्ब नोक्सानी भएको छ। नोक्सानी रोक्न निगमले चिनियाँ जहाजको उडान रोक्ने निर्णय गरेको छ।

निगम संचालक समितिले चिनियाँ जहाजको बीमा रकम, स्पेयर पार्ट्स, पेलोड, पाइलट प्रशिक्षण खर्च, अत्याधिक इन्धन  खपत रहेको भन्दै उडान बन्द गरेको हो।

समितिको अध्ययन अनुसार चिनियाँ  जहाजको बीमा शुल्क न्यारोबडी जहाजको तुलनामा ३५ प्रतिशत महँगो छ। स्पेयर पार्ट्सको मूल्य तुलनात्मक  हिसाबले ७५ प्रतिशत महँगो छ।

'एक त स्पेयर पार्ट्स अत्याधिक महँगो छ। अर्कोतर्फ मगाइएको स्पेयर पार्ट्स आइपुग्नै दुई महिनासम्म समय लाग्ने देखिएको छ,' संचालक समितिका एक सदस्यले भने।

विकट गन्तब्य उडान प्रयोजनाका लागि ल्याइएको जहाजमा पेलोडमै न्यूनतम २५  प्रतिशत देखि ६७ प्रतिशतसम्म प्रतिबन्धित छ। अरु कम्पनीका साना जहाजका उडानमा पाइलट तालिममा लाग्ने खर्चको तुलनामा चिनियाँ जहाजमा कार्यरत पाइलट तालिमका लागि चार गुणा खर्च हुने  अध्ययनमा उल्लेख छ।

अध्ययन अनुसार अन्य जहाजको तुलनामा एमए-६० 'मोडर्न आर्क-६०'मा दोब्बर इन्धन खपत र वाइ -१२ इ जहाजमा ५० प्रतिशत  भन्दा बढी इन्धन  खपत हुने देखिएको छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ मा ९१ करोड नोक्सानी ब्योहोरेको उल्लेख छ। कम्पनीले साउन १५ गतेदेखि छ वटै जहाज संचालनमा नल्याउने र चिनियाँ  जहाजका पाइलटको करार नविकरण नगर्ने निर्णय गरेको छ।

निगमका अनुसार दुई वटा एमए-६० र चारवटा वाइ-१२ इ जहाज मध्ये एउटा एमए-६० र एउटा वाइ-१२ इ  जहाजमात्र उडान योग्य रहेका छन्।नेपाल र चीनबीच २०६९ मंसिरमा दुईवटा जहाज अनुदान र चार वटा जहाज साढे तीन अर्ब रुपैयाँमा खरीद गर्ने सम्झौता भएको थियो। यो सम्झौता अनुसार २०७१ वैशाखमा ५६ सीटे एमए ६० जहाज चीनले दिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell