PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रचण्ड प्रवृत्ति : माधव नेपालको हतियार कि ओलीको मतियार? (ब्लग)



नेत्र तामाङ

प्रचण्ड प्रवृत्ति : माधव नेपालको हतियार कि ओलीको मतियार? (ब्लग)

देश सेमी लकडाउन छ। लकडाउनमा सुनसान देखिएका सडकमा जाम पर्न थालेको छ। तर पनि अगुवा र पछुवासहित बीचमा सेतो कार बिना रोकटोक हुइँकिरहेको छ। नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई 'खुमलटार टु बालुवाटार' गर्न अप्ठेरो छैन, किनकि प्रहरीका अगुवा र पछुवा भ्यानले बाटो क्लियर गरिहाल्छन्। 

बेलाबेला उनी शीतल निवास पनि पुगिरहेकै छन्। कोटेश्वर, भैंसेपाटीतिर बेलाबेला नजर लगाउन भ्याइरहन्छ। भन्नेले जे भने पनि प्रचण्ड देशको राजनीतिको किङमेकर भएको उनका कार्यकर्ताको दावी रहँदै आएको छ।

नेकपाभित्रको किचलोमा प्रचण्डलाई नेकपाका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भरपुर प्रयोग गरिरहेका छन्। स्थायी कमिटी टु सचिवालय बैठक यताउता पारेर प्रधानमन्त्री ओलीले 'वान अन वान' वार्तामा प्रचण्डलाई लल्याकलुलुक पारिदिन्छन्। कहिले कोटेश्वर डाकेरै त कहिले खुमलटार पुगेरै पार्टीका वरिष्ठ नेता माधव नेपालले कुदाइरहेका छन् प्रचण्डलाई। कहिले शीतल निवास दौडाइदिन्छन् त कहिले बालुवाटार।

माधव कमरेडको कुराले सल्केर तातिँदै बालुवाटार पुग्ने प्रचण्ड ओलीसामू लल्याकलुलुक हुने रहेछन्- लज्जावती झार झैं।

प्रचण्डसँग आफ्नै दु:ख छ।

नेकपाका एक अध्यक्ष रहेका प्रचण्ड २०५१ बाट पार्टीको सर्वोच्च पदमा रहेका छन्।

त्यतिबेला नेकपा (माओवादी)मा महामन्त्री रहेका उनले २०५२ बाट युद्धको नेतृत्व लिए। २०५७ दोस्रो राष्ट्रिय सम्मेलनबाट त नेकपा माओवादीको अध्यक्ष नै बने। त्यसअघिसम्म डाक्टर बाबुराम भट्टराईसँग नेतृत्वमा सहकार्य गरेका प्रचण्डले त्यसपछि भने नेतृत्वमा कसैलाई अघि बढ्न दिएनन्।

प्रचण्ड उही लयमा पार्टी चलाउन लागिपरे। त्यसपछि माओवादीमा जुटफुट भइरह्यो। नाम हेरफेर पनि। त्यसमा पनि प्रचण्डकै नेतृत्व कायम भयो। प्रचण्डको लय समाउन नसकेकाहरु भकाभक साइड लागे।

२०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित उनी २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पनि पुनःअध्यक्ष पदमा निर्वाचित भए।

सामान्यतय हामीले शाही ठेकेदार, पार्टीहरु सत्ता र शक्तिको खेलका लागि जुटफुटमा पुगेको देखिरहेकै हो। तर, त्यसभन्दा बढी पटकपटक कम्युनिस्ट पार्टीको जुटफुट चलेको छ - शक्तिका लागि। अनि सत्ताका लागि पनि। प्रचण्डबाहेक अरुले जुटफुटको अभ्यासपछि सत्ताको स्वाद चाख्न पाएका छैनन्।

मोहनविक्रम सिंहले कहिल्यै सत्ता रुचाएनन्। मोहन वैद्य निर्वाचन बहिस्कार गरेरै बसे। नेत्रविक्रम चन्द विप्लव सत्ताको विद्रोहमा छ। गोपाल किराती आफू सच्चा माओवादी भएको भन्दै झोला भिर्दै हिँडेका छन्।

अन्तिम समयसम्म साथ दिएका बाबुराम अहिले जनता समाजवादी पार्टीमा छन्। त्यसैले उनले माओवादी नामको गुँड छाडिदए ३ जेठ २०७५ मा।

ठूला कम्युनिस्ट पार्टीहरुको मेलको नाममा प्रचण्ड नेकपा एमालेको गुँडमा सरे। उनलाई भनिएको थियो- 'बैठकमा आलोपालो अध्यक्षता। सरकारको नेतृत्वमा आलोपालो।'

२० वर्षभन्दा बढी लगातार शक्तिशाली बागडोर सम्हाल्दै आएका प्रचण्ड पार्टीमा झन्डै भूमिकाबिहीन अध्यक्षको रुपमा थन्काउन लागिएको थियो। उनको त्यो 'हरि बिजोग' देखेर ओलीइतरका धारले साथ दिए। अनि पाए कार्यकारी अध्यक्षको जिम्मेवारी।

यही मौकामा माधव नेपालले उनलाई प्रयोग गर्न खोजेका छन्। ओलीको रजाईबाट आजित भएकाको लाइन नेकपामा बाक्लै छ। तर, प्रचण्ड बिना ओलीको हातमा रहेको सत्ताको साँचो कसले छुने? यसका लागि प्रचण्डलाई पुरानो सहमतिको निहुँ निकाल्न लगाउँदै माधव पक्षले उक्साइरहेका छन्।

फेरि प्रचण्डलाई ओलीले सम्झाइदिएमात्र पुग्छ। उनी पाँचै वर्ष ओलीलाई नै प्रधानमन्त्री छाडिदिए भन्न भ्याउँछन्। फेरि त्यसमा असन्तुष्टि जनाउँदै माधव नेपालले अलिकति उक्साइदिए पुग्छ। अनि प्रचण्ड पछुताउन भ्याइहाल्छन् : मैले पाँचै वर्ष ओलीलाई सत्ता सुम्पन्छु भनेर गल्ती पो गरेछु।

अहिले बालुवाटारमा 'माछोमाछो भ्यागुतो'को खेल भइरहेको छ। हुन त ओली कुनै समय माधवको पेलाईमा परेका थिए। त्यही पेलाईको रन्को सम्झिएर होला ओली पनि माधव लाइनलाई पेल्दै धकेल्दै सरकारको पाँच वर्षे आयु सकाउने खेलमा छन्। यो बीचमा मन्त्री निकाल्नेदेखि प्रदेशमा पद बाँडफाँटमा ओलीले माधव लाइनलाई पेल्नु नै यसको मुख्य उदाहरण हो।

पार्टीको मुख्य समस्या माधव नेपालको पद व्यवस्थापन हो। तर, ओलीलाई यही सुखद् लागिरहेको छ। माधवको पुरानो शासन सम्झँदै उनीमाथि शोषणको दण्ड चलाउनुमै ओलीलाई मज्जा लाग्छ होला।

ओली नेपाल एकले अर्कालाई देखि सहन्नन्। त्यही भएर सुत्राधार बनेका छन् प्रचण्ड। यता पनि 'वान अन वान' उता पनि 'वान अन वान' वार्ता भ्याइदिएका छन् प्रचण्डले। त्यसैले पनि किङमेकर भनिएको होला।

यसरी दुईतिर वार्ता हुँदा उनलाई पनि लाग्दो हो सहमतिभित्र पनि 'भद्र उल्लंघन' गर्दा के बिग्रन्छ र! हो यही कोणमा प्रचण्ड 'जता मल्खु, उतै ढल्खु, जता पल्कु, उतै सल्कु'को लयमा छन्। दुई धारको कुरा बुझेका प्रचण्डले पार्टी शक्तिलाई आफ्नो काबुमा राख्ने प्रयास किन नगर्ने?

केही दिन यताको प्रचण्डको गतिविधिले यो स्पष्ट पार्छ नै।

अध्यक्ष र प्रधानमन्त्री समेत ओलीको राजीनामा मागिएको थियो। तर, ओलीले अर्ली महाधिवेशनको प्रस्ताव गरे। त्यसमा प्रचण्डले समर्थन गरे।

यता आइतवार खुमलटारमा माधव र झलनाथले धोका दिएको भन्नै आशंकासहितको प्रश्न तेर्स्याए। प्रचण्डले आफूले महाधिवेशनमा कुनै सहमति नगरेको प्रष्ट्याउन भ्याए। शनिवार राति शीतल निवास जान बाध्य पारेको ओलीकै कारण भएको भन्न भ्याए। छेपारोले रंग बदले झैं बदल्ने क्षमता भएकैले होला प्रचण्डलाई किङ्ग मेकर भनिएको।

हुन पनि हल्लाको जालो बालुवाटारबाट यसरी फालिएको छ कि प्रचण्ड जे पनि पत्याउन बाध्य भइहाल्छन्। प्रधानमन्त्री पाउने भनेको पूर्व एमालेले नै हो। त्यो भनेको माधव नेपालले हो। त्यसैले माधवको लाइनमा नलाग्न ओलीले सम्झाउन भ्याउँछन्। प्रचण्ड लज्जावती झार झैं भइहाल्छन्।

वैशाखतिर वामदेवलाई उचाल्दै ओलीको लाइनमा उभिन पनि भ्याएकै हो प्रचण्डले।

यता माधव नेपाल पक्षले पुराना कुरा सम्झाउछन्। ओलीको पेलाई बुझाउँछन्। अनि उक्सिन्छन् प्रचण्ड।

बर्खाको सिजन छ। खेती किसानी गर्नेलाई भन्दा बढी चटारो छ अहिले प्रचण्डलाई। कहिले आफ्नो खेती स्याहार्न पुग्नु छ त कहिले अरुको पर्म तिर्न जानुछ।

अहिले प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यको एउटा भिडियो सामाजिक सञ्जालमा धेरैले मन पराएका छन्। शाक्यले नेकपा भित्रको किचलोले विनाश निम्त्याउने संकेत गरेकी छिन्।

'कहिले कहाँको मिटिङ कहिले कहाँको मिटिङ कसरी षड्यन्त्र गर्ने? उहाँहरु पनि बुढा बुढै भइसक्नुभयो नि। बुढा दिमागलाई खियाको खियाइ। खियाको खियाई। तर त्यो सिर्जनात्मक कामको लागि हैन,' शाक्यले भनेकी छिन्, 'त्यो एउटा विनाशको लागि दिमाग खियाइरहेको छ। रातदिन नभनी कहिले कता कहिले कता कुदिरहनु भएको छ। मलाई त्यो कुरा सुन्दा हाँसो पनि उठ्छ दया पनि लाग्छ। त्यो बेकारको के कुदिराखेको होला जस्तो नि। त्यो कुदाई अनुसार जनतालाई राम्रो हुने भए त त्यो कुदाइको मतलब हुन्छ। अब त्यो जनताको लागि केही नहुने कामको लागि किन यसरी कुदिरहेको होला?'

प्रचण्ड र नेपालतिर इंगित गरिएको यो बोलीले दया पनि देखाइदिएको छ नै।

मंसिरतिर पार्टीभित्र चर्काचर्की परेको बेला प्रचण्डकी नातिनीको गीत ट्रेन्डिङमा थियो

कल्लाई थाह छैन हो। कल्लाई थाह छैन

मुख खोलेर भन्न पो भा'छैन। तर कल्लाई थाहा छैन?

त्यसैबेलाको चर्काचर्कीकै कारण प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी पाए।

संयोग भनौं अहिलेको नेकपाको किचलोमा पनि स्मिताको नयाँ गीत ट्रेन्डिङमा छ - मायालु तिमी कता छौं, मायालु तिमी कता छौं?

स्मिताकै स्वरमा छ - मैले मेसो पाकी छु, पानी भर्न आकी छु, पर्खिनु है गाग्री भरिन्जेल

गीतमा लगत्तै प्रश्न आउँछ - आँगनीमै धारो छ, कुरो बुझ्न गाह्रो छ, आज के के हुने हो कुन्नी?

स्मिताले गाएजस्तै कतै नेकपा किचलोमा प्रचण्डले मेसो पाइसकेका त हैनन्? कुरा बुझ्न हामीलाई गाह्रै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell