PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यी हुन् मुलुकका 'टप टेन' कर तिर्ने कम्पनी



खेमराज श्रेष्ठ

यी हुन् मुलुकका 'टप टेन' कर तिर्ने कम्पनी

काठमाडौं : निजी क्षेत्रको टेलिकम सेवा प्रदायक एनसेल गत आर्थिक वर्षको सबैभन्दा ठूलो करदाता बनेको छ। आर्थिक वर्ष २०७६/७७ मा एनसेलले आयकर वापत मात्रै सरकारलाई ३३ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी गरेको छ।

एनसेल एक्लैले सरकारले उठाएको कुल आयकरमा झण्डै १६ प्रतिशत योगदान दिएको छ। आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्षमा सरकारले आयकरवापत दुई खर्ब १७ अर्ब २६ करोड रुपैयाँ उठाएको थियो। 

एनसेलले गत आर्थिक वर्ष लाभकर वापत भुक्तानी गरेको २२ अर्ब रुपैयाँ पनि यो आयकरमा गणना गरिएको छ। लाभकरबाहेक मात्रै पनि एनसेलले ११ अर्ब रुपैयाँभन्दा बढी आयकर बुझाएको छ।

आयकरमा एनसेललाई नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले पछ्याउन खोजेको छ। तर, लाभकरबाहेकको आयकर मात्रै हिसाब गर्दा पनि टेलिकमले भन्दा एनसेलले तीन अर्ब रुपैयाँ बढी कर भुक्तानी गरेको छ।

प्राप्त विवरणअनुसार देशका सबै कम्पनीले भन्दा बढी आयकर भुक्तानी गरेको एनसेल भ्याट भुक्तानीमा भने दोस्रो ठूलो कम्पनी बनेको छ। भ्याट भुक्तानीमा एनसेललाई सूर्य नेपालले उछिनेको छ। सूर्य नेपालले तीन अर्ब ८७ करोड रुपैयाँ भ्याट भुक्तानी गरेको छ भने एनसेलले तीन अर्ब २१ करोड रुपैयाँ भ्याट भुक्तानी गरेको छ।

आर्थिक वर्ष २०७६/७७ एनसेलले आयकर र भ्याट दुवै जोडेर सरकारलाई ३७ अर्ब १६ करोड रुपैयाँ कर तिरेको छ। 

अर्थ मन्त्रालयको तथ्यांक अनुसार नेपाल टेलिकमले आयकरतर्फ आठ अर्ब ७ करोड रुपैयाँ राजस्व बुझाएको छ। आयकरमा तेस्रो ठूलो कम्पनी सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल आयल निगम बनेको छ। आयल निगमले आयकरतर्फ सरकारलाई पाँच अर्ब ४३ करोड रुपैयाँ भुक्तानी गरेको छ।

आयल निगमले गत आर्थिक वर्षमा दुई खर्ब ४० अर्ब रुपैयाँको कारोबार गरेको थियो। यो कारोबारबाट आयल निगमले भन्सार, भ्याट, पूर्वाधार कर गरेर सरकारलाई ६५ अर्ब रुपैयाँ राजस्व बुझाएको थियो।

आयल निगमसँग पेट्रोल, डिजेल, खाना पकाउने एलपीजी ग्यास, हवाई इन्धन र मट्टितेल आयात तथा बिक्रीको एकाधिकार छ। कोरोना संक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि आयल निगमको नाफा उच्च रूपमा बढेको थियो।

त्यसैगरी, आयकरतर्फ सूर्य नेपाल चौथो कम्पनी बनेको छ। विदेशी संयुक्त लगानीको सूर्य नेपालले पनि पाँच अर्ब ३१ करोड रुपैयाँ आयकर भुक्तानी गरेको छ। भ्याट भुक्तानीमा एक नम्बर बनेको सूर्य नेपाललाई आयकरमा नेपाल दूरसञ्चार प्राधिकरणले पछ्याएको छ।

आयकरका आधारमा

सूचीमा क्रम कम्पनीको नाम रकम (करोडमा) सरकारको राजस्वमा योगदान % मा
एनसेल ३३९५ १५.६
नेपाल टेलिकम ८०७ ३.७
नेपाल आयल निगम ५४३ २.५
सूर्य नेपाल ५३१ २.४
नेपाल दूरसञ्चार प्राधिकरण ३८२ १.८
नबिल बैंक २१८ १.
कृषि विकास बैंक २०५ ०.९
राष्ट्रिय वाणिज्य बैंक २०२ ०.९
नेपाल बैंक १८६ ०.९
१० ग्लोबल आईएमइ बैंक १८१ ०.८
  कुल योगदान ६६५०  

दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्षमा सरकारलाई तीन अर्ब ८२ करोड रुपैयाँ आयकर भुक्तानी गरेको छ। दूरसञ्चार प्राधिकरणले टेलिकम तथा इन्टरनेट सेवा प्रदायक कम्पनीसँग रोयल्टी, फ्रिक्वेन्सी, ग्रामीण दूरसञ्चार शुल्क लगायतका राजस्व उठाउँदै आएको छ। फेरि दूरसञ्चार प्राधिकरणको आम्दानीका मुख्य स्रोत नै एनसेल र नेपाल टेलिकम हुन्।

दूरसञ्चार प्राधिकरणपछिका पाँच ठूला आयकरदातामा वाणिज्य बैंकहरु छन्। नबिल बैंक देशको छैटौं ठूलो आयकरदाता बनेको छ। बैंकले सरकारलाई दुई अर्ब १८ करोड रुपैयाँ आयकर भुक्तानी गरेको छ। 

त्यसैगरी, सातौंदेखि नवौंसम्म सरकारी लगानी पनि भएका कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक छन्। कृषि बैंकले दुई अर्ब पाँच करोड, राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब दुई करोड, नेपाल बैंकले एक अर्ब ८६ करोड रुपैयाँ आयकर भुक्तानी गरेका छन्।

भ्याटका आधारमा

सूचीमा क्रम कम्पनीको नाम रकम(करोडमा) सरकारको राजस्वमा योगदान %मा 
सूर्य नेपाल ३८७ ३.९
एनसेल ३२१ ३.३
नेपाल टेलिकम २३३ २.४
गोर्खा ब्रुअरी १९३ २.
नेपाल आयल निगम १६५ १.७
श्रीराम टोबाको ६१ ०.६
सिप्रदी ट्रेडिङ ५९ ०.६
शिवम सिमेन्टस् ५८ ०.६
सिजी ब्रुअरी ५० ०.५
१० वर्ल्डलिंक कम्युनिकेशन ४७ ०.५
  कुल योगदान १५७४  

देशको दशौं ठूला आयकरदाता कम्पनी ग्लोबल आईएमई बैंक बनेको छ। बैंकले सरकारलाई आयकर वापत एक अर्ब ८१ करोड रुपैयाँ कर भुक्तानी गरेको छ।

आयकरतर्फ देशका दश ठूला कम्पनीले मात्रै सरकारलाई ३० प्रतिशतभन्दा बढी राजस्व भुक्तानी गरेका छन् भने एनसेल एक्लैले बाँकी नौवटा कम्पनीको आयकरभन्दा बढी भुक्तानी गरेको छ। एनसेलसहित १० ठूला कम्पनीले ६६ अर्ब ५० करोड रुपैयाँ आयकर भुक्तानी गरेका छन्। एनसेल बाहेकका नौवटा ठूला कम्पनीले ३२ अर्ब ५५ करोड रुपैयाँ आयकर भुक्तानी गरेका छन्।

आयकर भुक्तानीमा चौथो नम्बरमा रहेको सूर्य नेपाल भ्याट भुक्तानीमा भने पहिलो ठूलो कम्पनी बनेको छ। सूर्य नेपालले सरकारलाई ती अर्ब ८७ करोड रुपैयाँ भ्याट भुक्तानी गरेको छ। यो सरकारले उठाएको कुल भ्याटमा तीन प्रतिशतभन्दा बढी हो। आन्तरिक राजस्व कार्यालयका अनुसार सरकारले गत आर्थिक वर्षमा भ्याटवापत् मात्रै ९८ अर्ब २२ करोड रुपैयाँ उठाएको थियो।

सूर्य नेपाललाई एनसेलले पछ्याएको छ भने भ्याटमा एनसेललाई नेपाल टेलिकमले पछ्याएको छ। टेलिकमले भ्याटवापत सरकारलाई दुई अर्ब ३३ करोड रुपैयाँ भुक्तानी गरेको छ। भ्याटमा पनि टेलिकमले भन्दा एनसेलले ८८ करोड रुपैयाँ बढी भुक्तानी गरेको छ। 

भ्याटतर्फ चौथो नम्बरमा गोर्खा ब्रुअरी छ। कम्पनीले एक अर्ब ९३ करोड रुपैयाँ भ्याट भुक्तानी गरेको छ। त्यसैगरी पाँचौं नम्बरमा नेपाल आयल निगमले एक अर्ब ६५ करोड रुपैयाँ भ्याट भुक्तानी गरेको छ।

छैटौं नम्बरमा रुपन्देहीमा रहेको श्रीराम टोबाको उद्योगले भ्याटवापत ६१ करोड रुपैयाँ, सातौं नम्बरमा गाडी बिक्री गर्ने कम्पनी सिप्रदी ट्रेडिङले ५९ करोड रुपैयाँ, आठौं नम्बरमा शिवम् सिमेन्टसले ५८ करोड रुपैयाँ बुझाएका छन्।

चौधरी समूह अन्तर्गत रहेका दर्जनौं कम्पनीमध्ये पहिलोपटक सीजी ब्रुअरी भ्याट भुक्तानीतर्फ १० ठूला कम्पनीमा परेको छ। सीजी ब्रुअरीले ५० करोड रुपैयाँ भ्याट भुक्तानी गरेर नवौं र दशौं नम्बरमा रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन्स ४७ करोड रुपैयाँ भ्याट सरकारलाई भुक्तानी गरेका छन्।

भ्याटतर्फ सरकारले १० ठूला कम्पनीसँग कुल भ्याटमध्ये १६ प्रतिशत उठाएको छ। आन्तरिक राजस्व विभागले आयकर र भ्याटबाहेक अन्तःशुल्कबाट ६४ अर्ब ७९ करोड शिक्षा सेवा शुल्कलगायत अन्यबाट ४ अर्ब ४ करोड राजस्व उठाएको छ। विभागले असार मसान्तसम्म कूल राजस्ववापत् ३ अर्ब ५८ करोड रुपैयाँ राजस्व उठाएको छ। 

यो विवरण असार मसान्तसम्मको कर दाखिलाका आधारमा तयार पारिएको हो। फाइनल अडिट गरेर थप कर बुझाउने समय आगामी पुस मसान्तसम्म छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell