काठमाडौं : २२ वर्षीय नवराज गुरुङ आइतबार साँझ गाउँतिर घुम्न निस्किए। शनिवारदेखि नै काठमाडौंमा पानी परिरहेको थियो। आइतबार पनि साउने झरी रोकिएको थिएन। कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदीमा उनी हिँडिरहेको अवस्था माथिबाट पहिरो खस्यो। उनी भाग्न पाएनन्।
घटनास्थलमा नै उनको मृत्यु भयो। शुक्रवारदेखि देशभर पानी परिरहेको छ। खोला नदीमा पानीको बहाव बढी रहेको छ। सम्बन्धित निकायले पहिरो तथा बाढीको जोखिम हुने भएकाले सतर्क रहन समेत अनुरोध गरेको छ।
सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिकास्थित जम्बुमा बाढी आउँदा मानवीय तथा भौतिक क्षति पुग्यो। त्यसै गरी भोटेकोशी गाउँपालिकामा आएको बाढी पहिरोका कारण पनि मानवीय क्षति हुन पुग्यो। केही मानिस बेपत्ता समेत भए। अहिलेसम्म सिन्धुपाल्चोक जिल्लामा २३ जना मानिस बेपत्ता भएर खोजी भइरहेको छ।
'प्रहरी बाढी पहिरोमा उद्धारको लागि तैनाथ छ। हामी खोजी गरिरहेका छौँ,' नेपाल प्रहरीका प्रवक्ता डीआइजी नीरजबहादुर शाहीले भने।
जेठ ३० गते देखि हालसम्म देशभर गएको बाढी र पहिरोमा परेर १ सय १३ जनाको मृत्यु भइसकेको छ। १ सय ३ जना घाइते छन्। ४५ जना मानिस बेपत्ता भएकाले खोजी भइरहेको छ।
जेठ ३० गतेदेखि सिन्धुपाल्चोकमा बाढी पहिरोको कारण पाँच जनाको मृत्यु भइसकेको छ। १० जना मानिस घाइते भएका छन्। तर, अझै सिन्धुपाल्चोकका धेरै बस्तीहरू पहिरोको जोखिममा छन्। वाग्मती प्रदेशको दोलखा पनि पहिरोको चपेटा छ। एक साताको अवधिमा पहिरोबाट दुई जना मानिस घाइते भएका छन्।
पहिरोको कारण सबैभन्दा धेरै क्षति गण्डकी प्रदेशमा पुगेको देखिन्छ। असार ३० गतेदेखि आज बिहानसम्म ६८ जना मानिसको मृत्यु भएको छ त्यहाँ। म्याग्दी जिल्लामा मात्र २८ जनाको ज्यान गइसकेको छ। तनहुँमा ११, कास्कीमा १०, पर्वतमा ९, लम्जुङमा ४, स्याङ्जामा ४, बाग्लुङ र गोर्खामा एक एक जनाको मृत्यु भइसकेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै बाढी पहिरोमा परेर ५४ जना घाइते भएका छन्। ५ जना बेपत्ता भएका छन्।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरोमा परेर एकैघरका तीन जनाको मृत्यु भए थियो। माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्थित प्रेम विकको घर पहिरोले पुर्दा तीन जनाको मृत्यु भएको हो। १६ वर्षीय कुशल विक, १४ वर्षीय समिर विक र १६ रेजिना विकको मृत्यु भएको थियो।
सुदूर पश्चिममा पनि पहिरोमा परेर अहिलेसम्म १२ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। बझाङमा ७, दार्चुलामा ३, बाजुरा र डोटीमा एक एक जनाको मृत्यु भएको हो। ७ जना घाइते तथा २ जना बेपत्ता रहेका छन्।
कर्णालीमा प्रदेशमा पनि पहिरोको कहर उस्तै देखिन्छ। १६ जना मानिसको पहिरोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। १२ जना जाजरकोट, कालिकोटमा २ जना, सुर्खेत र सल्यानमा एक एक जनाको मृत्यु भएको हो। तीन जना बेपत्ता भएकाले खोजी गरिरहेको छ।
अहिलेसम्म पहिरोमा परेर ५ नम्बर प्रदेशमा समेत ९ जनाको मृत्यु भइसकेको छ। गुल्मीमा ५ र पाल्पामा ४ जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ। एक नम्बर प्रदेशको मोरङ र सङ्खुवासभामा एक एक जनाको मृत्यु भइसकेको छ।
मृत्यु हुनेहरू अधिकाधिक पहिरोमा परेर मृत्यु भएका हुन्।
