PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

कर्णालीमा थप ११ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति संक्रमित?



विधुर ढकाल

कर्णालीमा थप ११ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति संक्रमित?

काठमाडौं : कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा संक्रमण पुष्टि हुनेको संख्या एक हजार ७४९ पुगेको छ।

पछिल्लो पटक संक्रमण पुष्टि हुनेमा प्रदेश अस्पताल/पशुपंछी रोग अन्वेषण केन्द्र प्रयोगशाला सुर्खेतमा भएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये सुर्खेत वीरेन्द्रनगरका एक महिला र एक पुरुष, पञ्चपुरी नगरपालिकाका २ पुरुष रहेका छन्। त्यस्तै सल्यान कालिमाटी, कालिकोट पलाँता, हुम्ला नाम्खा र दैलेखको चामुन्डा र महावुका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

दैलेख अस्पताल प्रयोगशालामा भएको परीक्षणमा दैलेख महाबुका १ र भेरी अस्पताल प्रयोगशालामा सल्यान सारदा नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यसैबीच प्रदेशबाट पछिल्लो २४ घण्टामा ८ जना संक्रमित विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या एक हजार ५१९ रहेको मन्त्रालयले जनाएको छ। हाल कर्णालीमा २२४ एक्टिभ केस रहेका छन्।

कुन जिल्लामा कति संक्रमित?

कर्णाली प्रदेशमा सबैभन्दा बढी संक्रमित दैलेखमा रहेका छन्। दैलेखमा ८१३ जनामा संक्रमण पुष्टि भएकामा ३८ केसमात्र सक्रिय रहेका छन्। त्यस्तै सुर्खेतमा ५०१ जनामा संक्रमण पुष्टि भएकोमा १२७ उपचारका क्रममा रहेका छन्। सल्यानका २२४ संक्रमितमध्ये २४ केस अस्पतालमा उपचाररत छन्। कालिकोटका ५८ संक्रमितमध्ये ७ जनामात्र उपचारका क्रममा रहेका छन्। जुम्लाका ४० मध्ये ६ जना उपचारका क्रममा छन्।

रुकुम पश्चिममा हाल १४ जना संक्रमित उपचारका क्रममा रहेका छन्। त्यहाँ २४ जनामा संक्रमण पुष्टि भएको छ। जाजरकोटका २३ संक्रमितमध्ये ५ जना उपचारका क्रममा छन्। मुगुका ६ र हुम्लाका ३ जना संक्रमितमध्ये १/१ जना उपचारका क्रममा रहेका छन्। डोल्पामा चार जनामा संक्रमण पुष्टि भएकोमा एक जनाको मृत्यु र तीन जना डिस्चार्ज भइसकेका छन्।

प्रदेशमा हालसम्म ६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

जसमध्ये दुई जनाले आत्महत्या गरेका हुन भने बाँकीको मृत्यु भएको हो।

प्रदेशमा संक्रमण पुष्टि भएकामध्ये ५३ जना बाहिरी प्रदेशका रहेका छन्।

जसमध्ये अछाम, दोलखा, धनुषा, रुपन्देही, सप्तरी, उदयपुर, कैलाली, दार्चुला, कास्की, गुल्मी, कञ्चनपुर, खोटाङ, पाल्पा, स्याङ्जा, चितवन र नवलपरासी पूर्वका १/१ जना रहेका छन्। उनीहरु संक्रमण पुष्टि हुँदा कर्णाली प्रदेशमा रहेका थिए। त्यस्तै बाँकेका ६, बझाङ र रामेछापका ३/३, बाजुरा, ओखलढुंगा, इलाम, बैतडी, धादिङ, लमजुङ, दाङ र बाजुराका २/२ जना व्यक्तिमा पनि कर्णाली प्रदेशमै संक्रमण पुष्टि भएको हो।

त्यस्तै काठमाडौं र ताप्लेजुङका पनि ४/४ जनामा कर्णालीमै संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell