PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने : यी नदीमा खतराको तहमा पानीको बहाव



अमर बडुवाल

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने : यी नदीमा खतराको तहमा पानीको बहाव
नारायणगढ बजार नजिकैबाट सोमवार दिउँसो देखिएको नारायणी नदी।

काठमाडौं : नेपालमा अझै ५ दिनसम्म भारी वर्षा हुने भएको छ। न्यूनचापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका महानिर्देशक सरजु कुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमवार ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनलाई ब्रिफिङ गर्दै साउन ९ गतेपछि मात्र पानी पर्ने क्रम कम भएर जाने बताएका छन्।

उनका अनुसार नेपालको प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी, प्रदेश-५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा १०० मिलिलिटर भन्दा बढी पानी परिरहेको वैद्यले बताए। यो मात्रा अझै बढेर २०० मिलिलिटरसम्म पुग्ने सम्भावना रहेको पनि उनले बताए।

२४ घण्टामा कहाँ कति वर्षा भयो?

महानिर्देशक वैद्यका अनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १६९ मिलिमिटर पानी परेको छ।  यस्तै नवलपुरको डण्डामा १५०.६, तनहुँको श्याम्घामा १४८.८ र गोरखामा १४०.२ मिलिमिटर पानी परेको छ।

यो पछिल्लो २४ घण्टाको विवरण भएकोले यो मात्रा अझै बढ्ने र धेरै स्थानमा २०० मिलिमिटरसम्म पानी पर्ने विभागले जनाएको छ।

नारायणीले खतराको तह नाघ्यो, अरु चार नदीमा ठूलो बाढी आउने 

चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। उक्त स्थानमा जल सतह ८ मिटर नाघेपछि खतराको तह पार हुनेमा ९ मिटर माथि आइसकेको विभागले जनाएको छ।

वर्षा नरोकिएकाले जल सतह थप बढ्ने अनुमान गरिएको छ। यस्तै, नारायणगढको पुलमा जल सतहले सतर्कताको तह पार गरेको छ। उक्त स्थानमा जल सतहले ११ मिटर नाघेपछि सतर्कताको तह पार हुनुपर्नेमा जल सतहले ११.९८ मिटर पार गरेको वैद्यले बताए।

विभागले खतराको तह पार गरेको स्थानका तल्लो तटिय क्षेत्रका बासिन्दालाई उक्त स्थान छाडेर सुरक्षित स्थानमा जान र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

पूर्वनपलपरासी र चितवनका तल्लो तटिय क्षेत्रमा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन भनी सकिएको वैद्यले बताए।

यस्तै, कोशी नदीमा सतर्कताको तहसम्म पुगेकाले भोलिसम्म खतराको तह पार गर्न सक्ने अनुमान गरिएको छ। यस्तै, कमला, कन्काई, वाग्मती र ती नदीका सहायक नदीमा बाढीले खतराको तह पार गर्न सक्ने विभागले अनुमान गरेको छ।

यो वर्ष आगामी कात्तिकसम्म नै वर्षात हुने सम्भावना रहेको छ। सामान्यतया मनसुन असारमा शुरु भएर असोजमा सकिने भए पनि यो वर्ष भने झण्डै एक महिनापछि सम्म पानी पर्ने देखिएको छ।

चार महिनामध्ये असारको मध्यदेखि भदौ मध्यसम्म अत्याधिक वर्षात हुने गर्दछ। तर, यो पटक मौसम सक्रिय भएदेखि नै वर्षातको दर उच्च छ।

‘चार महिनामध्ये असारको आधाआधीदेखि भदौ आधाआधीसम्म पानी बढी पर्ने समय हो’, महानिर्देशक वैद्यले भने, ‘तर यो पटक मनसुनको शुरुदेखि नै अत्याधिक पानी परिरहेको छ, कात्तिकसम्म पर्ने देखिन्छ। एक वर्षमा पर्ने पानीको ८० प्रतिशत पानी मनसुनको चार महिनामा पर्ने उनले जानकारी दिए।

हरेक मनसुनमा बाढी पहिरोका कारण हुने क्षति घटबढ हुने भन्दै वैद्यले यसपटक हिउँदमा र प्रि–मौसममा समेत बढी पानी परेका कारण जमिन धेरै गलेकाले बाढी पहिरोको प्रकोप उच्च भएको बताए।

हरेक दिन मिडिया ब्रिफिङ 

मौसम पूर्वानुमानबारे जानकारी लिएपछि सिँचाई मन्त्री पुनले पछिल्लो समय नेपालको मौसम पूर्वानुमान प्रणालीमा धेरै सुधार गरिएको बताए। आगामी दिनमा विभागबाट जारी हुने मौसम सम्बन्धी सूचना थप विश्वसनीय बनाउनुपर्नेमा उनले जोड दिए।

‘पहिलाको तुलनामा अहिले हामीले जल तथा मौसमको पूर्वानुमानप्रति विश्वास गर्न सक्ने आधार बनाएका छौं’, मन्त्री पुनले भने, ‘आगामी दिनमा थप विश्वसनीय बनाउनुपर्छ।’

मन्त्री पुनले मौसम पूर्वानुमानका लागि राज्यले प्रविधि र जनशक्तिमा धेरै लगानी गरेको भन्दै पूर्वसूचना प्रदान गरेर जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिए।

‘बाढी र पहिरोको सही सूचना सही समयमा दिऔं, सूचना नपाएका कारण एक जनाले पनि ज्यान गुमाउनु नपरोस्,’ पुनले भने।

यस्तै, बाढीपहिरोको सूचनालाई थप प्रभावकारी बनाउन भोलि (सोमवार) देखि अधिक वर्षात नरोकिएसम्म हरेक दिन मन्त्रालयमा मिडिया ब्रिफिङ गर्न मन्त्री पुनले विभागलाई निर्देशन दिएका छन्। विभागले सोमवारदेखि हरेक दिन बिहान ११ बजे सामाजिक दूरी कायम गर्दै मिडिया ब्रिफिङ गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell