काठमाडौं : वर्षायाम लागेसँगै देशभर बाढीपहिरोको विपद् शुरु भएको छ। विपद्का कारण प्रभावित बनेका नागरिकको उद्धारका लागि सशस्त्र प्रहरी सक्रिय बनेको छ।
तनहुँको भानु नगरपालिका ९ सिमलगैरामा सोमवार पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ। पहिरोले महेन्द्र धौरालीको घर बगाउँदा उनकी १७ वर्षीया छोरी त्रिप्सा धौराली र ८० वर्षीया आमा तिलमाया धौरालीको मृत्यु भएको हो।
सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण तनहुँबाट खटिएको टोलीले खोजी तथा उद्धार खटिएको थियो।
यसैगरी, धादिङको गजुरी गाँउपालिका २ मलेखुस्थित माछा बजारमा पहिरोले कच्ची घर पुरिँदा एक जना बेपत्ता भएका थिए भने एक जना व्यक्तिलाई घाइते अवस्थामा फेला पारिएको थियो।
उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धादिङबाट खटिएको टोली खोजी तथा उद्धार कार्यमा जुटेको थियो। टोलीले घाइते व्यक्तिलाई उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल पठाएको छ।
त्यस्तै, दार्चुलाको महाकाली नगरपालिका ३ डुङरीस्थित लास्कु खोलामा पानीको बहाब बढ्दा खोलाको किनारमा रहेका तीन वटा पसल तथा दुई वटा घरभित्र पानी पसेर डुवानमा परेको थियो। उक्त घरहरुमा रहेका सामानहरु एपीएफको टोलीले सुरक्षित स्थानमा सारेको छ।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म दार्चुलाबाट खटिएको टोलीले उक्त पसल तथा घरहरुमा रहेको सामान सुरक्षित स्थानमा सारेको हो।
यस्तै, बर्दियाको गेरुवा गााउँपालिका ५ स्थित कर्णाली नदीमा बेपत्ता भएका एक जनाको शव एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ।
सो नदीमा बगेर आएको दाउरा निकाल्ने क्रममा सोही ठाउँ बस्ने ३४ वर्षीय कालीचरण चौधरी नदीमा बगेर बेपत्ता भएका थिए। उक्त घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट राजापुरबाट खटिएको एपीएफ टोली तथा स्थानीय प्रहरीले खोजी गर्दा चौधरीको शव घटनास्थल भन्दा करिब एक किलोमिटर दक्षिणतर्फ फेला पारेको हो।
यसैबीच, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भजौलीस्थित सीमा इलाकाबाट साउन ४ गते एपीएफ टोलीले करिब एक लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ।
भारतबाट अवैध रुपमा ल्याउँदै गरिएको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको टोलीले बरामद गरेको हो। बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ।
