PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

लकडाउनमा नै पढ्नका लागि भारतबाट नेपाल : कोरोना पोजेटिभ देखिएपछि वीरगंजबाटै भागेर कोलकाता!



राधेश्याम पटेल

लकडाउनमा नै पढ्नका लागि भारतबाट नेपाल : कोरोना पोजेटिभ देखिएपछि वीरगंजबाटै भागेर कोलकाता!

वीरगंज : वीरगंजमा शनिवार राति कोरोना पुष्टि भएका एक २६ वर्षीय युवक आइसोलेसनमा बस्नुपर्ने 'डर'ले भागेर भारतीय राज्य पश्चिम बंगालको कोलकाता पुगेको खुलेको छ।

नेशनल मेडिकल कलेजको एमबीबीएस पाँचौँ वर्षमा अध्ययनरत युवक आइसोलेसन वार्डमा बस्नुपर्ने डरको कारण ६ जना साथीसहित भागेर कोलकाता पुगेको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीले जानकारी गराए।

‘नेशनल मेडिकल कलेजमा स्वाब सङ्कलन भई नारायणी अस्पतालमा नमुना परीक्षण भएर कोरोना पोजेटिभ देखिएको थियो। उनी अहिले कोलकाता पुगेका छन्। उनको रिपोर्ट पोजेटिभ आएसँगै उनलाई सम्पर्क गर्ने कोसिस गरिरह्यौं। रिपोर्ट आएको ३६ घण्टापछि उनी घरमा पुगेको परिवारजनबाट थाहा पाएका हौं,’ निर्देशक अन्सारीले भने।

लकडाउन खुकुलो भएसँगै पुनः आफ्नो घरबाट कलेज फर्कने विद्यार्थीको सङ्ख्या बढिरहेको छ। यसैक्रममा उनीहरू पनि भारतबाट साउन २ गते कलेज आएका थिए। त्यसपछि उनीहरूको कलेज प्रशासनले पीसीआर रिपोर्ट मागेको थियो।

रिपोर्ट नआएसम्म उनीहरूलाई बाहिर बस्न भनिएको थियो। ‘उनीहरू कुन होटेलमा बसे? त्यो पनि थाहा भएन, शुक्रवार स्वाब दिएर भागेका हुन् कि शनिवार राति रिपोर्ट आएपछि भागेका हुन, थाहा भएन,’ नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक अन्सारीले भने।

कलेजले रिपोर्ट पोजेटिभ आए गण्डक अस्पतालको आइसोलेसनमा राख्ने तयारी गरेको थियो। नेपाल–भारत सीमा क्षेत्रमा लकडाउन भएको अवस्थामा उनी कसरी रक्सौल पुगे र रक्सौलबाट गाडी भाडामा लिएर वा रेलबाट कोलकात्ता पुगेका भन्ने खुलिसकेको छैन। रक्सौलबाट कोलकाता करिब ७ सय ६ किलोमिटर दुरीमा पर्दछ। रेलबाट २२ घण्टा भन्दा बढी लाग्छ त्यहाँ पुग्न।

कुनै पनि व्यक्तिको स्वाब सङ्कलन भइसकेपछि सेल्फ वा होम क्वारेनटाइनमा राख्नु पर्ने हो। तर, कलेजमा इन्ट्री गराउन गोप्य रूपमा ती विद्यार्थीको ठेगाना उल्लेख नगरी कलेजका डाक्टर असरफ हुसैनको सम्पर्क व्यक्ति र मोबाइल नम्बर उल्लेख गरी स्वाब सङ्कलन गरेको थियो। तर, ती विद्यार्थीलाई क्वारेन्टाइनमा नराख्दा उनी भागेर घर पुगेका हुन्।

यसैगरी, एक महिना अघि एक जना ७६ वर्षीया वृद्धको मृत्यु पछि शव परिवारलाई बुझाएको थियो। तर, उनको मृत्युभन्दा ४ दिन अघि सङ्कलन स्वाबको रिपोर्ट पोजेटिभ आउँदा करिब दुई साता नेशनल मेडिकल कलेज सिल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell