PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

टी २० विश्वकप स्थगित भएसँगै आइपीएलका लागि सक्रियता बढाउँदै बीसीसीआई



पहिलोपोस्ट

टी २० विश्वकप स्थगित भएसँगै आइपीएलका लागि सक्रियता बढाउँदै बीसीसीआई

अस्ट्रेलियामा आगामी अक्टोबर/नोभेम्बरमा हुने भनिएको टी २० विश्वकप स्थगित भएको छ। सोमवार बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को बैठकले क्रिकेट विश्वकप स्थगित गर्ने निर्णय गरेको हो। विश्वकप स्थगित भएसँगै त्यसैबीचमा आइपिएल गराउने तयारीमा बोर्ड फर क्रिकेट कन्ट्रोल इन इन्डिया (बीसीसीआई) छ।

विश्वकप आयोजनाका लागि एकदमै कम समय रहेको अवस्थामा सोमवार भिडियो कन्फ्रेन्समार्फत् बसेको आइसीसीको बोर्ड बैठकले अहिलेको अवस्थामा त्यस्तो ठूलो प्रतियोगिता आयोजन गर्न नसकिने निष्कर्ष निकालेको थियो।

आइसीसीले स्थगित भएको विश्वकपको सेड्युल २०२१ या २२ सम्म पनि पुग्नसक्ने जनाएको छ। यद्यपि, तत्काललाई भने २०२१ को अक्टोबर नोभेम्बरमा गराउने योजनामा आइसीसीमा पुगेको छ।

यसपटक विश्वकप आयोजना गराउन अस्ट्रेलिया क्रिकेट बोर्डले नै अफ्ठेरो हुने बताएको थियो। कोरोना महामारीका बीच १६ टिम, खेलाडी, सपोर्ट स्टाफ, ब्रोडकास्टरलगायतलाई एउटा शहरबाट अर्को शहर आउजाउ गर्नुपर्ने हुँदा विश्वकप आयोजना सहज नहुने जनाएको थियो।

आइपीएल गराउने दाउमा बीसीसीआई

विश्वकप स्थगित भए पनि सर्बाधिक महँगो क्रिकेटको फ्रेन्चाइज लिग आइपीएल गराउन बीसीसीआईले सक्रियता बढाउन थालेको छ। कोरोनाको महामारी चलेसँगै दुईपटक मिति घोषणा गरेर पनि स्थगित गरेको थियो।

अहिले भारत कोरोना संक्रमणको धेरै चपेटामा रहेको तेस्रो मुलुक हो। यसका कारण भारतले संयुक्त अरब इमिरेट्समा आईपीएल गराउने योजनामा छ। टी २० विश्वकप स्थगित भएसँगै आइपीएल आयोजनाका लागि भारतलाई फेरि मौका मिलेको छ। यद्यपि बीसीसीआईलाई यसका लागि केन्द्र सरकारको स्वीकृति पनि अनिवार्य हुनेछ।

भारतीय सञ्चारमाध्यमहरुले बीसीसीआई सेप्टेम्बरबाट युएईमा आइपीएल गराउने योजनामा रहेको दाबी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell