PahiloPost

Aug 7, 2020 | २३ साउन २०७७

खोकनाका ‘तुयु बा’ : हामीलाई मारेर स्वर्ग जाने सपना देखियो



सहयोग रञ्जित

खोकनाका ‘तुयु बा’ : हामीलाई मारेर स्वर्ग जाने सपना देखियो

असार १५ गते। नेपालभर किसानहरु धान दिवस मनाइरहेका थिए। हिलो छ्याप्दै दही चिउरा खाँदै असारे भाकामा रमाउँदै थिए। ललितपुरको दक्षिणी भेगमा रहेको खोकनाको खुदोलको दृश्य भने बेग्लै थियो।

किसानको हातमा कुटो कदालो त थियो। तर, त्यसले आफ्नै खेत जोत्न पाएनन्। असारे गीत गाउँदै धानको बीउ त घरबाटै लगेका हुन्। तर, रोप्न पाएनन्। आफ्नै खेतमा ट्रयाक्टर चलाउन खोज्दा प्रहरीले रोके।

कारण - फास्ट ट्रयाक।

सरकारले खोकनाको खुदोलमा काठमाडौं- तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को प्रवेशविन्दु (जिरो प्वाइन्ट) बनाउने गरी योजना तयार पार्‍यो। तर स्थानीयहरु भने सरकारको प्रस्तावित योजनाको विरोधमा छन्।

फास्ट ट्रयाकको विरोध गरिरहेका खोकनाबासी तब ‘विद्रोही’ भए जब खोकनाको ‘खाली जग्गा’ देखेर सरकारले १३२ केभिए विद्युत प्रसारण लाइन, बाहिरी चक्रपथ, नयाँ स्याटालाइट शहर, वाग्मती कोरिडोर, काठमाडौँ तराई रेलमार्ग जस्ता आयोजनाहरू सञ्चालन गर्ने रणनीति ल्यायो। यी सबै आयोजना एकै ठाउँ सञ्चालन गरेर खोकना नै समाप्त पार्न सरकार लागेको स्थानीयको आरोप छ।सडकदेखि अदालतसम्म संघर्ष जारी छ। यसबीच जिविकोपार्जनको माध्यम बनेको खेतमा भने प्रवेश निषेध।

असार १५ गतेपनि प्रहरीले किसानलाई खेतमा पानी हाल्न पनि रोक्यो। स्थानीय र प्रहरीबीच केही बेर घम्साघम्सी नै पर्‍यो। त्यही भीडमा थिए खोकनाका ‘तुयु बा’।‘तुयु बा’ अर्थात तुयुकाजी महर्जन। हल्का गोरो वर्णको भएकोले सबैले उनलाई ‘तुयु बा’ , ‘तुयु दाइ’ भनेर बोलाउने गर्छन्। २००० सालमा जन्मेका उनको चारजना दाइ र एकजना दिदी थिए। सबैको बाल्यकालमा मृत्यु भयो। उनी दुई वर्षको हुँदा आमाको पनि मृत्यु भयो। त्यसपछि बुबासँगै खुदोलको खेतमा काम गर्दै हुर्किए उनी। पछि परिवार बढ्दै गएपछि खेतको कामसँगै शहर पुगेर दूध बेचे। छोराछोरीलाई पढाए।

तुयुकाजीका दुई छोरा र एक छोरी छन्। छोरा दुईजनाको आयस्रोत पहिला खेती नै। तर परिवार बढ्दै गएपछि दुवैले डकर्मी काम गरे। खेतको उब्जनीले पनि घरपरिवार धान्न सहयोग गरेको थियो। तर, अहिले त्यही खेत नै बाँकी नरहने भएपछि उनी संघर्षमा उत्रेका हुन्।

७७ वर्षीय तुयुकाजी खोकना आन्दोलनका एक ‘आइकन’ हुन्। प्रहरी र सेनाले खेतमा जान रोक्न लगाउँदा लगाउँदै पनि उनी कयौंपटक खेतमै पुगेर बीउ छरेर फर्किएका छन् एक्लै। खुदोल फाँटमा गएर रोपाई गरेका छन्। अहिले पनि जबजब खोकना आन्दोलित हुन्छ तुयुकाजी सबै आन्दोलनमा अगाडि हुन्छन्।

असार १५ गते प्रहरीले खेतमा पानी हाल्दै गरेको पाइप काट्न खोज्दा उनी प्रहरीसँग भिड्न पुगे।

‘मेरो हातमा लालपूर्जा छ। अनि मलाई नै मेरो खेतमा काम गर्न नदिने रे। पाइप काट्न खोज्दा मलाई नै काट् भन्दै अघि गएँ,' उनले त्यो घटना सुनाए, ‘अधिग्रहणमा पर्‍यो रे जग्गा। त्यस्तो भए मसँग भएको लालपुर्जा कसले दिएको त?’

फास्ट ट्रयाकको प्रवेशविन्दु प्रस्ताव गरिएको खुदोलमा तुयुकाजीको करिब साढे ४ रोपनी जग्गा छ। फास्ट ट्रयाकका कारण तुयुकाजीको सबै जग्गा अधिग्रहणमा पर्ने भएपछि उनी आन्दोलित भएका हुन्।

२०७२ सालको भूकम्पले खोकनामा रहेको उनको कच्ची घर भत्कियो। घर बनाउने मुख्य स्रोत त्यही खेत। केही आना खेत धितो राखेर भए पनि घर बनाउने योजना बनाए। तर ‘अधिग्रहण’ मा परेको भन्दै खेतको कुनै काम गर्न दिइएन। अहिले तुयुकाजीको परिवार खोकनामै टिनको छाप्रोमा बस्दै आएका छन्।

सरकारले मुआब्जा लिन त बोलायो। तर, मुआब्जाप्रति तुयुकाजी असन्तुष्ट छन्। तुयुकाजीका अनुसार सरकारले चलनचल्तीको भन्दा निकै कम मुआब्जा दिएर फास्ट ट्र्याकको काम गर्ने प्रयास गरिरहेको छ। एक आनाको करिब १५ लाख पर्ने जग्गाको उनलाई साढे १ लाख दिने प्रस्ताव गरिएको छ।

‘मेरो ८ कित्ता जग्गा पूरा परेको छ। १ पैसा जग्गा पनि बाँकी छैन। जिरो प्वाइन्ट नपरेको भए केही जग्गा बाँकी हुन्थ्यो। त्यसलाई धितो हालेर भए पनि घर बनाउन हुन्थ्यो। तर, हामीलाई त्यस्तो गर्न दिइएन,’ भत्किएको घर देखाउँदै उनले भने, ‘तन्दा बेचेर रुमाल किन्ने पैसा दिएको छ सरकारले मुआब्जाको नाममा। त्यसैले म पैसा नलिने निष्कर्षमा पुगेको हुँ। म पैसा लिँदिन। मलाई मेरै खोकनाको जग्गा चाहिन्छ।’

अहिले आफ्नो आठै कित्ता जग्गामा सेनाले सडक विभिन्न संरचना बनाएको बताए तुयुकाजीले। केही कित्तामा सडक बनाएको त केहीमा पशुपति मन्दिर नै बनाएको उनले सुनाए। सैनिक अधिकारीहरुसँग धेरैपटक छलफलमा बसे उनी। उनीहरुले खेतमा माटो हाल्दैनौं भनेर फर्काए। तर, लकडाउनको समयमा खेतभर माटो हालिसकेको उनले बताए।

’१५ जनाको परिवार छ। अहिले दुवै छोरा जस्ताको छाप्रोमा बस्न बाध्य छ। ऋण लिएर घर बनाउने अवस्था पनि रहेन। त्यसैले हामीले जग्गा नै चाहिन्छ,’ उनले भने।

+++

खोकनाबासीले फास्ट ट्रयाकको विरोध गरेपछि त्यसको प्रवेश विन्दु खुदोलबाट फर्सिडोल सार्ने कुरा पनि चल्यो। फर्सिडोल गए केही जग्गा बाँकी हुने आशा थियो तुयुकाजीको। तर, फेरि प्रवेशविन्दु खुदोलमै बन्ने भयो, उनको जग्गामा।

‘जसको जग्गा परेको छ उनीहरुसँग कुरा नगरी जग्गा वरिपरि बसेका मानिसहरुको लहैलहैमा प्रवेशविन्दु त्यहाँ बनाउने भनियो। डाँडामाथि बसेकाहरुले त्यहाँ बसपार्क बने त्यो ठाउँ असन, न्यूरोड जस्तो होस् भन्ने चाहेका छन्। हामी मर्ने उनीहरु चाहिँ स्वर्ग जाने?’

यो कुरा लिएर उनी ललितपुर महानगरपालिकादेखि जिल्ला प्रशासन कार्यालयसम्म पुगे। तर कतै सुनुवाई भएन। महानगर प्रमुख चिरिबाबु महर्जनले मुआब्जा कम भयो, बढाउन पहल गर्छु भने। खोकना महोत्सवमा गृह मन्त्री राम बहादुर थापा पुगे। त्यही क्षेत्रकी सांसद् पम्फा भुसाल पनि पुगिन्। सबैबाट एकैखाले आश्वासन सुने। तर, हातमा लाग्यो शून्य।

एकदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कहाँसम्म पुगे उनी।

‘तपाईँहरुलाई मर्का त परेको हो। आनाको साढे १ लाख निकै कम भयो। म प्रधानमन्त्रीसँग बुझ्छु,’ प्रचण्डले यसै भनि फर्काएको तुयुकाजीले सुनाए।

प्रचण्डकहाँबाट आश्वासन लिएर त फर्किएर तर परिणाम कतै देखिएन। ‘उल्टै हामीमाथि टियर ग्यास र लाठी हानियो,’ उनले भने।

++‌+

खोकनावासी दसैँमा टीका लगाउँदैनन्। त्ससबेला उनीहरू रुद्रायणी सिकाली जात्राको चटारोमा हुन्छन्। तर, आयोजनाका कारण केही वर्षपछि दशकौँ पुरानो जात्रा सञ्चालनमा बाधा पर्नेमा उनीहरू चिन्तित छन्। किनभने जात्रा सञ्चालन हुने मार्ग (कुदेश- सिकाली) हुँदै फास्ट-ट्रयाक बन्ने तयारीमा छ। जहाँ तुयु बा को जग्गा छ।

स्थानीयले सिकाली र संस्कृति बचाउने माग गरिरहेका छन्। तुयुकाजी भने संस्कृतिसँगै खोकनाको त्यही संस्कृति बचाइरहेका मानिसहरु पहिला बचाउनुपर्ने बताउँछन्।

‘देउता बचाउने कुरा ठीक छ। तर, यहाँ मान्छे बस्ने ठाउँ छैन। देउता मान्न हामीलाई ठाउँ पनि चाहियो नि। हामी विकास विरोधी होइनौं नि। हामीले हाम्रो अधिकार मागेका हौं। हामीलाई निसाफ चाहियो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell