काठमाडौं: गणेशमान सिंहको स्मृतिमा आयोजना गरिँदै आएको वीर गणेशमान सिंह स्मृति खुला बक्सिङ प्रतियोगिता यसपटक नहुने भएको छ। प्रदेश छनोटसमेत भइसकेको प्रतियोगिता कोरोना महामारीका कारण प्रभावित भएको थियो। आयोजक गणेशमान सिंह फाउन्डेसन, खेल समितिले प्रतियोगिता चैत १८ देखि २२ सम्म आयोजना गराउने लक्ष्य राखेको थियो।
'कोरोना भाइरसको महामारी सुरु हुनुभन्दा अघि प्रदेश १, २ र बाग्मती प्रदेशको छनोट प्रतियोगिता सम्पन्न भइसकेको थियो,' फाउन्डेसनको विज्ञप्तिमा भनिएको छ, 'कोरोना महामारी लगायतका प्रतिकुलता र राष्ट्रिय खेलकुद परिषदले पनि आर्थिक वर्ष समाप्त भएकाले प्रतियोगिताका नाममा निकाशा भएको रकम फिर्ता गर्न ताकेता गरेकाले प्रतियोगिता रद्द गरिएको जानकारी गराउन चाहन्छौं।'
प्रतियोगिताका लागि फागुन १५ देखि १७ सम्म प्रदेश १मा र फागुन २० देखि २२ सम्म प्रदेश २ र बागमती प्रदेशमा छनोट सकिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा हरेक विधाका तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ७ हजार ५ सयरुपैयाँ नगद पुरस्कार साथै उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई स्कुटर दिने योजना रहेको फाउन्डेसनले जनाएको छ।
