PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

वीरगंजसँगै पर्साको पश्चिमी दर्जन गाउँ डुबानमा



राधेश्याम पटेल

वीरगंजसँगै पर्साको पश्चिमी दर्जन गाउँ डुबानमा

वीरगंज : तीन दिनदेखि परिरहेको अविरल वर्षाको कारण पर्सामा बाढी र डुबानको वितण्डा शुरु भएको छ। हरेक वर्ष झैं यसवर्ष पनि पर्साका वीरगंज महानगर र जिल्लाको पश्चिमी भेगका दर्जनभन्दा बढि गाउँ डुबानको चपेटामा फसेको देखिएको छ।

वीरगंज महानगरको आदर्शनगर, श्रीपुर, रानीघाट, छपकैया, मुर्ली नयाँ वस्ती, लक्षुमानवा, नगवा, बगही, लालपर्सा, बेल्वा, मुसैली, सुखचैना, मनियारी, भवानीपुरलगायत टोलहरु डुबानमा परेको स्थानीयले बताएका छन्। श्रीपुरका नेसनल ओम आश्रमदेखि रानीघाट कृषि औजार सम्मको सडक खण्डामा ३ फिट पानी जमेको छ भने आदर्शनगर बजार क्षेत्रमा पनि पानी जमेर पसलभित्र पसेको व्यवसायीहरुले बताएका छन्। वीरगंज मुली नयाँ टोलका बासिन्दाका नुसार डुबानको कारण सडक नै डुबानमा परेर नदेखिएको बताएका छन्। एसियाली विकास बैंकको करिब पौने चार अर्बको बजेटमा वीरगंजमा मझौला शहर एकीकृत शहरी वातावरण सुधार आयोजना अन्तर्गत निर्माण गरिएको भूमिगत नाला, सडकलगायत कामले वीरगंजलाई डुबानबाट बचाउन नसकेको देखिएको छ। वीरगंजको पश्चिमबाट बग्ने श्रीसिया खोलाको बाढीले नालाको बाटो भएर उल्टै वीरगंजमा पानी फाल्ने भएकोले वीरगंज हरेक वर्ष डुबानमा पर्ने गरेको वीरगंज महानगरका विपद व्यवस्थापन समिति संयोजक इन्जिनियर सुनिल कर्णले बताए। ‘अहिले वर्षातको पानीले डुबान भइरहेको छ, शहरको डुबान विस्तारै खोलामा पनि नालाले गइरहेको छ, तर श्रीसिया खोलामा बाढी आएर पानीको सतह माथि आयो भने उल्टै पानी शहरमा पस्छ,’ उनले भने। यस विषयमा वीरगंजका मेयर विजयकुमार सरावगीसँग बुझ्दा अहिले नै बाढी डुबानको कारण आतिनु पर्ने अवस्था नआएको दावी गरे। ‘हामीले बाढी डुबानबाट बचाउन दक्ष जनशक्तिको टिम तयार पारेका छौ, वर्षात बढी भएकोले ठाउँठाउँमा डुबान भएको सुनेको छु,’ उनले भने, ‘तर वीरगंजको जनताको लागि आफु हरदम तत्पर भएर काम गरिरहेको छु।’ उनले राहत उद्धारको लागि पनि महानगर तयारी अवस्थामा रहेको बताए।

उता, पर्सा छिपहरमाई गाउँपालिकाका पुरै ओरिया खोलाको बाढीले डुबानमा परेको स्थानीय भुलन साहले बताएका छन्। उनले भिस्वा, झलमहिया, मिर्जापुर, चरगाहा टिहुकीलगायतको गाउँमा खोलाको पानी पसेर घरघरभित्र ३ फिट पानी पसेको बताए। उनले छिपहरमाई नजिकै र ओरियो खोलाको पश्चिम पट्टीका करिब थप आधा दर्जन गाउँ डुबानमा परेको जानकारी दिए। पर्साकी एसपी गंगा पन्तले बाढी डुबानबाट बचाउन आफुहरु तयार रहेको बताइन्।

उनले जिल्लाको विभिन्न यूनिटलाई तयार अवस्थामा रहेको र हालसम्म पर्सामा कुनै मानवीय र धनजनको क्षति नभएको बताएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell