काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्र भन्दा राजतन्त्र नै ठिक भन्ने जमात बढेको बताएका छन्।
बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८ औं बीपी स्मृति दिवसका अवसरमा अयोजित भर्चुअल कार्यक्रममा बोल्दै डा कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले उनी नेपालको राष्ट्रपति नभई नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको बताए। उनले आम नागरिकमा कमसेकम राजा त तटस्थ हुन्थे भन्ने मानसिकता देखिएको समेत बताए।
डा कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा इतरको समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने बताए। उनले आफूहरुको समूहबाट को सभापतिको उम्मेदवार बन्ने भन्ने छलफल भइरहेको जानकारी दिए। कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने कसैले पनि म होइन हामी भनेर लाग्नुपर्ने उनको भनाई थियो।
कोइरालाले राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सबैलाई हुने भन्दै अहिलेको अवस्थामा कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेकाले सभापति देउवा इतरको पक्ष एक ठाँउमा हुनुपर्नेमा जोड दिए। उनले कांग्रेसको नेतृत्व परिवर्तनका लागि सबैले त्यागको भावना देखाउने बेला आएको पनि बताए।
महामन्त्री कोइरालाले महाविधेशनको मिति तय भइसकेपछि महाधिवेशनलाई प्रभावित पार्नका लागि मात्र सभापति देउवाले विभाग बनाउन लागेको आरोप लगाए। कोइरालाले महाधिवेशन हुनका लागि मात्र ८ महिना बाँकी रहेको अवस्थामा विभागमा नियुक्त भएका साथीहरुले के काम गर्न सक्छन् भनि प्रश्न समेत गरे।
कोइरालाले आफूले सभापति देउवालाई सधै सहयोग गरेको तर सभापति पार्टीमा एकलौटी गर्न नछोडेकाले आफू पनि सभापतिका विरुद्धमा लाग्न बाध्य भएको स्पष्ट पारे।
महामन्त्री कोइरालाले अहिले नेकपासँग प्रतिस्पर्धाका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताए। कांग्रेसलाई एकतावद्ध बनाउनका लागि अहिले नेतृत्व परिवर्तन आवश्यक रहेको उनको भनाई थियो।
कोइरालाले नेपाली कांग्रेस र मुलुक अब बीपी कोइरालाले देखाएको राजनीतिक आर्थिक तथा समाजिक परिवर्तनको बाटोमा हिँड्न आवश्यक रहेको स्पष्ट पारे।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलबहादुर धर्ती, बद्रि पाण्डे गगन थापाले बीपी कोइरालाको योगदानको चर्चा गरेका थिए।
