PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

चीनको ‘केरुङ च्छो’ ताल फुट्ने खतरा : काभ्रेमा सुनकोसीको डर, प्रशासनले भन्यो: सतर्क रहनुस्



पहिलोपोस्ट

चीनको ‘केरुङ च्छो’ ताल फुट्ने खतरा : काभ्रेमा सुनकोसीको डर, प्रशासनले भन्यो: सतर्क रहनुस्

काठमाडौं: जिल्ला प्रशासन कार्यालय काभ्रेले सुनकोसी नदीमा पानीको वहाव बढ्न सक्ने भन्दै सतर्क रहन तटिय क्षेत्रका बासिन्दालाई अपिल गरेको छ।

चीनको खासामा रहेको ‘केरुङ च्छो’ ताल फुट्ने खतरा रहेको सूचना आएको र ताल फुटे काभ्रेमा सुनकोसी नदीको वहाव बढेर क्षति गर्न सक्ने भन्दै प्रशासनले तटिय क्षेत्रमा नजान र हरेक समय सतर्क अवस्थामा रहन अनुरोध गरेको हो।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आज विज्ञप्ति जारी गर्दै ‘केरुङ च्छो’ ताल फुटेर भोटेकोसीमा जल प्रवाह बढ्दा सुनकोसीमा आकस्मिक रुपमा जल प्रवाह बढ्न सक्ने खतरा रहेको औल्याएका छन्।

‘यस जिल्लाको सुनकोसी नदीमा समेत जलप्रवाह आकस्मिक रुपमा बढ्न सक्ने देखिएको हुँदा उक्त नदी किनारमा रहेका बस्तीमा बसोबास गर्ने सर्वसाधारणहरुलाई सो नदी क्षेत्रमा प्रवेश नगर्न र जुनसुकै वखत सजग र सतर्क अवस्थामा रहन अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

यसअघि आइतवार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चिनियाँ अधिकारीहरुले अविरल वर्षाका कारण पानी भर्न गई ‘केरुङ च्छो’ ताल जुनसुकै बेलामा फुट्न सक्ने र त्यसबाट भोटेकोशी नदीमा आकस्मिक रुपमा पानीको बहाब बढ्न सक्ने जानकारी आएको भन्दै सचेत रहन अपिल गरेको थियो।

ताल फुटेको खण्डमा भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका साथै नदी किनारमा रहेका अन्य मानव बस्ती बगाउन सक्ने र ठूलो क्षति हुन सक्ने खतरा रहेको प्रशासन कार्यालयले भनेको थियो। प्रशासनले सम्भावित जोखिम क्षेत्रमा सतर्कता अपनाउन र भोटेकोशी किनारमा रहेका बस्तीहरु तत्काल खाली गरी सुरक्षित स्थानमा जान आग्रह पनि गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell