काठमाडौं : मंगलवार काठमाडौंमा ८ र ललितपुरमा १ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले त्रिवि शिक्षण अस्पतालमा गरिएको आरटीपीसीआर परीक्षणमा काठमाडौंका ८ जनालाई संक्रमण देखिएको बताए। स्टार अस्पतालको ल्याबमा गरिएको परीक्षणमा ललितपुरका १ जनामा पनि संक्रमण पुष्टि भएको हो।
मंगलवार देशभर १ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३ हजार ९ सय ६३ मा गरिएको पीसीआर परीक्षणमा डेढ सय जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म जम्मा संक्रमित संख्या १७ हजार ९ सय ९४ पुगेको छ। मृत्यु हुनेको संख्या ४० रहेको छ।
