PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

काँग्रेसले सागमा स्वर्ण जितेकालाई सम्मान गर्ने, रजत र कास्य विजेताबारे भएन निर्णय 



पहिलोपोस्ट

काँग्रेसले सागमा स्वर्ण जितेकालाई सम्मान गर्ने, रजत र कास्य विजेताबारे भएन निर्णय 

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले सागमा स्वर्ण जितेका खेलाडी सम्मानलगायतका १३ वटा निर्णय गरेको छ।

केन्द्रीय सदस्यसमेत रहेका मोहन बस्नेतको संयोजकत्वको खेलकुद विभागले यथाशीघ्र १३ औं सागका स्वर्ण विजेताहरुलाई सम्मान गर्ने निर्णय गरेको हो। यद्यपि रजत र कास्य पदक जितेका खेलाडीहरुलाई के गर्ने भन्नेमा भने कमिटी अझै स्पस्ट देखिँदैन। कमिटीका संयोजक बस्नेतले रजत, कास्य जित्ने खेलाडी तथा प्रशिक्षक र ब्यवस्थापकबारे पछि निर्णय गर्दै जाने बताए।

टिम गेम र इन्डिभिजुवल गेमका खेलाडीबारे भने कमिटी अझै अस्पस्ट छ। यद्यपि बस्नेतले यसबारे छलफल गरेर निर्णय गर्ने बताए। स्वर्ण जितेका खेलाडीहरुको सन्दर्भमा एउटा जित्नेलाई १० हजार, दुई स्वर्ण जित्नेलाई १५ हजार, तीनवटा स्वर्ण जित्नेलाई २० हजार चार वटा स्वर्ण जित्नेहरुलाई २५ हजार क्रमश दिने निर्णय गरेको छ। 

चार स्वर्ण जितेकी गौरिका सिंहले २५ हजार रुपैयाँ पाउने भएकी छन्।

त्यस्तै कमिटीले टोकियो ओलम्पिक २०२१ का लागि नेपालको तर्फबाट सहभागी हुने खेलाडी तथा प्रशिक्षकहरुको कोरोना बीमा गर्नेसमेत निर्णय गरेको छ। त्यस्तै ओलम्पिकको तयारीमा जुटेका खेलाडीका लागि सरकारसँग सुरक्षित अभ्यासको वातावरण मिलाउन माग गर्नेसमेत भएको छ।

पारदर्शिताको माग

कांग्रेस केन्द्रीय खेलकुद विभागले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता र १३ औं दक्षिण एसियाली खेलकुदमा भएको खर्चको पारदर्शी हिसाब देखाउन सरकारसँग माग गरेको छ। 

कमिटीका संयोजक बस्नेतले एन्फाका पूर्वअध्यक्ष गणेश थापासँगको प्रसङ्ग जोड्दै ओलम्पिक कमिटीले विदेशीको सहायता लिँदा सरकारको अनुमति लिन नपर्ने भन्ने ऐनको प्रावधान खारेजीको समेत माग गरे। कमिटीको निर्णयमा १३ औं सागमा भारतीय टीभी प्रसारकसँग लिएको ८ करोड रुपैँयाको अहिलेसम्म हिसाब नदेखिएकाले त्यसको हिसाब उपलब्ध गराउन समेत माग गरेको छ।

नयाँ खेलकुद ऐनमै आएको खेलकुद संघ दर्ता सम्बन्धी झंझटिलो, अब्यवाहारिक र पक्षपातपूर्ण नियम खारेज गर्नुपर्ने माग कमिटीले गरेको छ। अध्यक्ष बस्नेतले यो नीतिले शक्तिको वरपर रहनेले मात्र संघ चलाउन सक्ने किसिमको प्रवाधान देखिएको आरोप लगाए।

कमिटीको बैठक सोमवार बसेको थियो।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell