PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

लकडाउन खुकुलो भएसँगै कोशी अस्पतालमा बिरामीको चाप बढ्दो, छैन उचित व्यवस्थापन



फूलमाया पुरी

लकडाउन खुकुलो भएसँगै कोशी अस्पतालमा बिरामीको चाप बढ्दो, छैन उचित व्यवस्थापन

विराटनगर : कोरोना महामारीका कारण सरकारले देशभर लकडाउन गरेको चार महिना पुग्दैछ।

यो बीचमा यातायात सेवा अवरुद्ध हुनुका साथै बिरामीहरु अस्पताल पुग्नसमेत डराए।

लकडाउन खुकुलो भएसँगै अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ।

सरकारले असार १ गतेबाट लकडाउन खुकुलो गरेसँगै विराटनगरस्थित कोशी अस्पतालमा पनि बिरामीको चाप बढेको अस्पतालका रेकर्ड फाँटका कर्मचारी गोबिन्द कटवालले बताए।

कटवालकाअनुसार सामान्य अवस्थामा महिनामा २० हजार बढी बिरामी उपचारका लागि आउने गरेका थिए। कोरोना भाइरसको जोखिम र लकडाउनका कारण पहिलेको तुलनामा बिरामीको संख्यामा केही कम छ।

हाल दैनिक ६ देखि सात सयको संख्यामा बिरामी आउने गरेको कटवालले बताए। 

लकडाउनको समयमा पनि सेवा प्रवाह बन्द नगरिएको अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए। ‘त्यसबेला पनि दैनिक तीनदेखि चारसय बिरामी अस्पताल आउने गरेका थिए,’ यादवले भने।

कोरोना भाइरसको उच्च जोखिमका कारण गरिएको लकडाउन साउन ७ गतेसम्म जारी छ।

डा.यादवका अनुसार लकडाउनकै समयमा आउने अधिकांश दीर्घ रोगीका बिरामी हुन्। मधुमेह, उच्च रक्तचाप, स्वासप्रस्वासमा समस्या भएका लगायतका बिरामीहरु बढी मात्रामा आउने गरेको उनले बताए।

त्यसो त जोखिम मोलेरै अस्पताल आउनेहरुमा कोही आफूले निरन्तर खाने औषधी लिन आउँछन्। भने कोही स्वास्थ्य बीमा भएकाले पनि अस्पताल आउने गरेको पाइन्छ।

 ‘बिरामी भएपछि कति दिनसम्म लकडाउन पर्खेर बस्ने हो र’? यादवले प्रश्न तेर्साए, ‘पहिलो कुरा बाच्नु त पर्‍यो नि?

पछिल्लो समय महिलामा स्त्री रोगको समस्या र गर्मीको मौसममा भाइरल तथा छालाका बिरामी बढी आउने गरेको उनको भनाइ छ।

यस्तो अवस्थामा झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लगायतका बिरामी पनि आउने गरेको यादवले जानकारी दिए।

त्यस्तै बिरामीको स्वास्थ्य स्थिति हेरेर कोरोना भाइरस शंकास्पदलाई दिनभर आइसोलेसनमा राख्ने गरिएको छ। जसको थ्रोट स्वाब संकलन गरिन्छ। संकलित नमुनालाई अस्पतालमै व्यवस्था गरिएको कोभिड १९ परीक्षण प्रयोगशालामा परीक्षण गरीन्छ।

लकडाउन खुकुलो भएसँगै कोशी अस्पतालमा बिरमीको चाप बढ्दो

Posted by PahiloPost on Tuesday, July 21, 2020

तर, अस्पतालमा आउने अधिकांशले मास्क लगाए पनि सामाजिक दुरी कायम गरेको भने देखिदैन।

त्यसो त सामाजिक दुरी कायमका लागि पर्याप्त ठाउँ पनि नभएको र बिरामीसँगै सहयोगी आउने हुँदा मानिसको चाप बढेको उनले बताए।

‘एक बिरामीसँग कम्तीमा एक जना भिजिटर हुन्छ,’ उनले भने ‘त्यसैले बिरामीसँगै आएका भिजिटरले पनि भिडभाड बढाउँछ।’

सामान्य अवस्थामा भन्दा एक घण्टा कम ओपिडी पुर्जी काट्ने समय तोकिए पनि बिरामीको चाप बढिरहेको छ।

अन्य समयमा बिहानको ८:०० बजेदेखि १२:०० बजेसम्म ओपिडी समय भए पनि अहिले बिहानको ११:०० बजेसम्म मात्र बिरामीले ओपिडी पूर्जी काट्न पाउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell