PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

विपदग्रस्त क्षेत्रमा गरिने राहत वितरण र पुनर्स्थापनाबारे सभामुखको चासो



पहिलोपोस्ट

विपदग्रस्त क्षेत्रमा गरिने राहत वितरण र पुनर्स्थापनाबारे सभामुखको चासो

काठमाडौं : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसँग छलफल गरेका छन्। भेटमा सभामुख सापकोटाले भोटेकोशी बाढी, पहिरो र लगातारको बर्षाले निम्त्याएको विपत्ति, सो क्षेत्रका सम्भावित जोखिम र प्राधिकरणले व्यवस्थापनका लागि गरिरहेको कार्यबारे जानकारी लिए।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलवार भएको छलफलमा कार्यकारी प्रमुख पोखरेलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट धेरै क्षति भएका १४ जिल्लाका पहिरो सम्बन्धी तथ्यांकका आधारमा सिन्धुपाल्चोक पहिरोको दृष्टिकोणले सबैभन्दा जोखिममा रहेको जानकारी दिए।

पोखरेलले सिन्धुपाल्चोक जिल्लाभित्र पनि भोटेकोशी गाउँपालिका पहिरोका कारण उच्च जोखिममा रहेकोले सतर्कता अपनाउनुपर्ने अवस्था रहेको बताए। प्रमुख पोखरेलले जोखिमयुक्त गाउँ, बस्ती र घरधुरीलाई त्यहाँको जोखिमबारे स्थानीय सरकारमार्फत जानकारी दिने तयारी भइरहेको बताए।

सो क्रममा सभामुख सापकोटाले विपद् भएलगत्तै गरिने राहत, उद्दार र पुनर्स्थापनाको तयारीबारे पनि चासो राखेका थिए। जवाफमा प्रमुख पोखरेलले आगामी बिहीवार बस्ने कार्यकारी समितिको बैठकले यस सम्बन्धी निर्णय गर्ने जानकारी दिए।

उनले तिब्बतको ‘केरुङ च्छो’ तालमा पानीको मात्रा घटेको सूचना आएकोले तत्कालका लागि फुट्ने खतरा टरेको बताए। प्राधिकरणले तालमा पानीको मात्रा, ताल फुटेमा त्यो पानी नेपाली भूूभागसम्म आइपुग्न लाग्ने समय र सम्भावित क्षतिबारे पनि अध्ययन गरिरहेको पोखरेलको भनाइ थियो।

छलफलमा तीन दिनसम्म बाह्रबिसे र भोटेकोशीको स्थलगत अवलोकन, राहत र उद्धारमा सहभागी भएर फर्किएका नेकपा केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक सहइन्चार्ज माधव सापकोटा, नेकपा नेता सरल सहयात्री र भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाभित्र बाढी पहिरोले गरेको क्षति र प्रभावित स्थानीयले भोग्नुपरेको अप्ठेरोबारे जानकारी गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell