PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

लकडाउन अन्त्यको मोडालिटी: नागरिक आफैँ सुरक्षित हुने!



सहयोग रञ्जित

लकडाउन अन्त्यको मोडालिटी: नागरिक आफैँ सुरक्षित हुने!

काठमाडौँ: कोरोना जोखिम बढेको भन्दै सरकारले चैत ११ गतेबाट देशभर लकडाउन घोषणा गर्‍यो। चैत १० गते कोरोनोको दोस्रो केस देखिएसँगै सरकारले हतारहतार लकडाउन गरेको थियो।

१२० दिन भयो नागरिक लकडाउनमा बसेको। करिब एक महिनादेखि लकडाउन केही खुकुलो बन्दा जनजीवन सामान्य बन्दै गएको थियो। सरकारले असार १५ गते लुज लकडाउनलाई निरन्तरता दिँदै साउन ७ गतेसम्म कायमै राखेको थियो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भने लकडाउनलाई पूर्णरुपमा अन्त्य गर्ने निर्णय गरेको छ।

अर्थात् १२० दिनपछि देशभर लकडाउन अन्त्य भएको छ। तर केही शर्तसहित।

++

संक्रमितको संख्या नियन्त्रणमा आएको छैन। केही सुधार भए पनि आश्वस्त हुने अवस्था बनिसकेको छैन।

संक्रमित बढ्दै जाँदा असार १ गतेदेखि लकडाउन खुकुलो गरिएको थियो। हप्तौँसम्म लकडाउनको ‘मोडालिटी र कार्यविधि’ भन्दै बसेको सरकार जनदबाबमा लकडाउन खुकुलो गर्न बाध्य बनेको थियो।  तर कुनै पूर्वतयारी बिना ‘लुज’ गरिएको लकडाउनका कारण समुदायमा संक्रमण फैलिन सक्ने सम्भावना पनि उत्तिकै बढ्दै गएको जनस्वास्थ्यविज्ञहरुले बताउँदै आएका छन्। तर यसप्रति सरकारको चासो गएको छैन।  

नयाँ निर्णय अनुसार रेष्टुराँ, होटल सञ्चालन गर्न स्वीकृति दिइएको छ। तर त्यहाँ भोजभतेर र भीडभाड हुनेगरि सेवा सञ्चालन गर्न भने पाइने छैन। यसअघि सरकारले सुरक्षित मापदण्ड अपनाएर ‘टेक अवे’ र होम ‘डेलिभरी’ सेवा सञ्चालन गर्न पाउने बताएको थियो।

साथै ट्रेकिङ र पर्वतारोहणसम्बन्धी सेवा पनि सञ्चालन गर्न दिने निर्णय गरिएको छ। तर पर्यटक आउने वातावरण तयार नहुँदासम्म यो क्षेत्र पूर्णरुपमा सञ्चालनमा आउन समय लाग्नेछ। विभिन्न मन्त्रालयहरुले आ-आफ्नो क्षेत्र अनुसारको प्रोटोकल जारी गरी सेवा सञ्चालन गर्न सक्ने भएका छन्। यसरी सञ्चालन हुने व्यवसायहरुले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ।

तर, सरकारले केही क्षेत्रमा भने ‘लकडाउन’ कायमै राखेको छ। शैक्षिक संस्था,  प्रदर्शनी, भेला, पार्टी प्यालेस, जिम खाना, धार्मिक र सामाजिकस्थल, सिनेमा घर अर्को घोषणा नभएसम्मका लागि बन्द रहनेछन्।  साथै अन्तराष्ट्रिय सीमा पनि बन्द  रहनेछ।

सरकारले यी सेवाहरु बन्द रहने बताइरहे पनि धेरै क्षेत्र असारबाट नै सञ्चालनमा छन्। अनुगमन शून्य छ।  

बजारहरुमा भीडभाड नगर्न र भौतिक दूरी कायम गर्न सरकारले आग्रह गर्दै आएको छ। तर लकडाउन खुकुलो भएसँगै  कोरोनाको डर भने जनजीवनबाट हराइसकेको छ। बजारमा भीड बढ्दो छ। मास्क लगाउन सरकारले उर्दी जारी गरे पनि त्यो पालना भएको देखिँदैन।

काठमाडौं उपत्यकामा देखिएका संक्रमितहरुको भाइरसको स्रोत पत्ता लगाउन नसकेको अवस्थामा ‘लक्षणविहीन’ संक्रमण फैलिन सक्ने त्रास यथावत् रहने  स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन्। त्यसमाथि बुधवारबाट लकडाउन पूर्णरुपमा अन्त्य हुँदा भीड झनै बढ्ने निश्चित छ। त्यसैले अब सर्वसाधरण आफैँले सुरक्षित भएन हिँड्नुपर्ने जनस्वास्थ्यविज्ञहरुले बताएका छन्।

लकडाउन अन्त्य गरिएको र कोरोना फ्रि भनिएको राष्ट्रमा पनि पुन: संक्रमण देखिएका कारण कोरोनालाई हल्का रुपमा लिइहाल्न नहुने उनीहरुको मत छ।  

सरकारले लकडाउन अन्त्य गरे पनि केही सेवा भदौ १ गतेबाट मात्रै सञ्चालन गर्न पाउने भएका छन्। सुरक्षित मापदण्ड अपनाएर  अन्तराष्ट्रिय उडान, यातायात र केही शैक्षिक गतिविधि सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ।

भदौ १ गतेबाट यातायात मन्त्रालयले तोके बमोजिम स्वास्थ्य सेवाको मापदण्ड अपनाएर लामो र छोटो दूरीका निजी र सार्वजनिक  सवारीसाधन चलाउने सरकारले अनुमति दिएको छ। यसअघि एक जिल्लाभित्र मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति थियो। यस्तै भदौबाट नै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन र अन्तर्राष्ट्रिय खेलको तयारी र प्रशिक्षणका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। केही खेलको प्रशिक्षण भने असारमा नै सुरु भइसकेको थियो। तर धेरैजसो खेलाडी लकडाउनका मैदानमा उत्रन पाएका थिएनन्। 

चैतदेखि बन्द रहेको विद्यालय खोल्न अनुमति दिइएको छैन।  तर भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षाको तयारी गर्न भने सरकारले छुट दिएको छ। 

++

सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले महिनौँसम्म विश्वलाई ठप्प पार्‍यो। २०२०को आधा वर्षभन्दा बढी समय भइसक्दा भाइरसको कहर पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन। भाइरसको रोकथाम र नियन्त्रणका लागि विश्वले अपनायो ‘लकडाउन’ को अस्त्र। कतै लकडाउनले संक्रमण रोक्न सफल भयो भने कतै लकडाउनबीच पनि संक्रमितको संख्या बढ्दै गए।

महिनौँ बित्दै गयो। भाइरस नियन्त्रणमा आउने कुनै अवस्था देखिएन। अधिकांश देश लकडाउनमा रहँदा विश्व आफ्नो अस्तित्वप्रति सशंकित बन्दै गयो। त्यसैले सबै देशले आ-आफ्नो संक्रमण अवस्थालाई हेरेर लकडाउनलाई हटाउने र लुज गर्ने निर्णय गर्‍यो।

विश्व महामारीको कहरबीच चलायमान भइरहँदा संक्रमणको अवस्था भने नियन्त्रणमा आइसकेको छैन। दैनिक हजारौँ नयाँ कोरोना संक्रमित थपिएका छन्। सयौँको मृत्यु भइरहेको छ। लकडाउन अन्त्य गरिएका क्षेत्र र देशमा समेत फेरि लकडाउन लगाउनेदेखि कडा नियम लागू गरिएको छ।

भौतिक दूरी कायम गर्न अनिवार्य गरिएका छन् अधिकांश देशहरुमा। फेस मास्क अनिवार्य छ। साबुनपानीले हात धुनु र स्यानिटाइजेशनलाई प्राथमिकतामा राख्न भनिएको छ। बालबालिका र वृद्धवृद्धाहरुलाई खुल्ला र निर्वाध रुपमा हिँड्न दिइएको छैन। किनभने कोरोनाका कारण सबैभन्दा बढी प्रभावित उनीहरु नै हुने देखिएको छ।

यता १२० दिनपछि नेपालमा लकडाउन अन्त्य भएसँगै सुरक्षा सतर्कता भने कतै देखिँदैन। सार्वजनिक यातायातमा सुरक्षा सतर्कता अपनाउने भनिए पनि केही सवारीबाहेकमा त्यस्तो देखिँदैन। सरकारले बनाएको कार्यविधि र मोडालिटी त कागजमा सीमित भएको असार १ पछि सबैले देखेकै कुरा हो।

त्यसैले साउन ७ गतेबाट चुनौती पनि थपिन सक्छन्। खुकुलो लकडाउनमा देखिएको भीड लकडाउन अन्त्यसँगै बढ्ने निश्चित छ।

चैत १० गतेसम्मको कुरा गर्ने हो भने त्यसबेलासम्म नेपालमा दुई जनामात्रै संक्रमित थिए, एक्टिभ केस भने १ मात्रै। लकडाउनकै अवधिमा संक्रमितको संख्याले रेकर्डमाथि रेकर्ड बनाउँदै गयो। जति संक्रमित थपिए त्यति नै लकडाउन लुज बन्दै गयो। साउन ६ गतेसम्म भने संक्रमितको संख्या करिब १८ हजार पुगेको छ। ४० जनाको मृत्यु भइसकेको छ संक्रमणका कारण नै। यस्तो अवस्थामा लकडाउन पूर्णरुपमा अन्त्य हुँदा सरकारले पूर्व तयारी गरेको भने कतै देखिँदैन।

न पीसीआर परीक्षणको तयारी छ न त क्वारेन्टाइन कै। न मोडालिटी न कार्यविधि। जनता पनि मस्तै छन् अहिले त। केही युवा भने सरकारलाई जवाफदेही बन्न भन्दै सत्याग्रहमा छन्। सरकारले आरडीटी नगर्ने ,पीसीआर लागू गर्ने वाचा त गर्‍यो तर त्यो पूरा भएन।

पूरा त कोरोना फ्रि देश र जिरो डेथ देश बनाउने सरकारको वाचा पनि पूरा भएन। त्यसैले लकडाउन सकियो भन्दैमा हाम्रै सानो गल्तीले भविष्यमा फेरि संक्रमण फैलिन सक्ने सम्भावना रहन्छ नै। जसकारण फेरि लकडाउनको अवस्थाको सिर्जना हुन सक्छ। त्यसैले सुरक्षित चाहिँ अब नागरिक आफैँ नै हुने हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell