काठमाडौं : सरकारले चैत ११ गते देशभर लकडाउन घोषणा गर्यो। देशबाहिर जान तथा आउनसमेत पूर्णरुपमा रोक लगाइयो। भारतसँग जोडिएका सीमा नाका 'सिल' भए। नाकामा प्रहरी तैनाथ गरियो। सशस्त्र प्रहरीलाई पहिलेभन्दा थप जिम्मेवारी आइलाग्यो। सशस्त्र प्रहरीको सङ्ख्या समेत सीमामा थप गरियो, १४ हजारको सङ्ख्यालाई बढाएर २२ हजारमाथि पुर्याइयो।
रोजगारीको सिलसिलामा भारत पुगेका नेपालीहरु कयौं दिनसम्म सीमामा नै रोकिए। उनीहरुको आँखाको तारो तिनै सुरक्षामा खटिने प्रहरी बन्न पुगे। नेपाल छिर्ने क्रममा प्रहरीबीच झडप तथा सामान्य विवाद पनि आए।
तर, सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले भारतीय पक्षको आक्रमणको सिकार समेत बन्नुपर्यो। विभिन्न तस्कर समुहदेखि अन्य आपराधिक समूहको निसानमा प्रहरी परिरहे। गत शुक्रवार सुनसरीको सशस्त्र प्रहरी बोर्डर आउट पोस्टमा खटिएको टोलीमाथि शुक्रवार आक्रमण भएपछि प्रतिकार गर्दा गोली चलाउनु पर्यो। भारतीय तस्करले विषयमा प्रहरीको हतियार खोस्न खोजेपछि झडप भएको थियो।
झडपमा २० वर्षीय सवाज अन्सारीलाई पेटमा गोली लाग्यो। सशस्त्र प्रहरीका जवान जीवराज विसङ्खे घाइते भए। घाइते दुवै जनालाई धरानस्थित बीपी स्वास्थ्य प्रतिष्ठानमा उपचारको लागि लाग्यो।
'उनीहरुको समूहले तस्करीको विषयमा विवाद भएको देखियो। सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि गोली चलेको थियो,' जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले भने।
जेठ १८ गते बिहान करिब साढे ६ बजे सर्लाहीको विष्णु गाउँपालिका २ पकडी स्थित दशगजा इलाकामा बोर्डर आउट पोस्ट (बीओपी) सिमराबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षकको टोलीले भारतबाट नेपाल प्रवेश गर्न लागेकालाई रोक्न खोज्यो।
एक जना पुरुष सुरुमा नेपाल छिर्न खोजेका थिए। प्रहरीले रोकेपछि उनी गाँउ फर्किए। तर, उनी फेरि सीमामा आए। यसपटक उनी एक्लै थिएनन्। उनको साथमा ३०/४० जनाको समूह नै आएको थियो। उनीहरुले सशस्त्रको हतियार खोस्न खोजे अनि झडप भयो। 'भारतबाट आएकालाई हाम्रो टोलीले फर्काएको थियो,' सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रविनकुमार श्रेष्ठले भने, 'त्यसपछि उसले गाउँबाट ३०/४० जना लिएर सशस्त्रमाथि हुलहुज्जत गर्न खोजेपछि गोली चलाउनु पर्यो।'
लकडाउन सुरु भएपछि अहिलेसम्म सीमामा खटिएका सशस्त्र प्रहरीमाथि भारतीय समूहले पटकपटक आक्रमण गरेको देखिन्छ। सशस्त्र प्रहरी बलको तथ्याङ्क अनुसार चैत ११ गतेदेखि १६ ठाउँमा आक्रमण भएको छ। यसरी आक्रमण गर्ने धेरैजसो तस्कर समूह नै हुने गरेको प्रहरीको दावी छ।
'उनीहरुले हामीलाई त प्रहरी नै गन्दैनन्। हतियार खोस्ने, तर्साउने गर्छन्। प्रहरीले सीमामा कडा गर्यो भने कसरी हुन्छ लफडा गरेर तस्करीको बाटो खोल्नतिर लाग्छन्,' सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भने। झडपमा घाइते सशस्त्र प्रहरी
झापादेखि पश्चिम नवलपरासी जिल्लको भारतीय सिमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मी र भारतीय समूहबीच पटकपटक झडप भएको देखिन्छ। यही झडपमा प्रहरीको गोली लागेर जेठ ३० गते एक भारतीय नागरिकको मृत्यु भएको छ। झडपमा तीन जना सशस्त्र प्रहरी घाइते भए। तस्कर समूहलाई प्रवेशमा रोक लगाएपछि उनीहरुले प्रहरीमाथि आक्रमण गरेका थिए। सिमामा विभिन्न समस्या भोगेर भएपनि पनि चौविसै घण्टा तैनाथ भएर सिमा ठप्प पारेपछि तस्करहरुले सशस्त्र माथि प्रहार गर्न थालेको प्रहरी अधिकृतहरु बताउँछन्।
सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ३ नारायणपुरमा रहेको सशस्त्र प्रहरी बलको सीमा निगरानी पोस्टले अबैध रुपमा नेपाल प्रवेश गर्न खोज्नेलाई रोकेपछि विवाद उत्पन्न भएको थियो। त्यही क्रममा भारतीय समूहले ढुङ्गामुढा र हतियार देखाउन थालेपछि गोली चलाउँदा भारतीयको मृत्यु भएको थियो।
'तस्करी गर्ने मुख्य नाकादेखि सहायक नाकामा समेत प्रहरीको उपस्थित भयो। त्यसपछि तस्कर समूहलाई आपराधिक गतिविधि गर्ने समस्या भएपछि विभिन्न क्रममा झडप भएका छन्,' सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी श्रेष्ठले भने।
जेठ महिनामा सबैभन्दा धेरै झडपका घटना भएको देखिन्छ। लकडाउनमा यसरी भएको घटनामा सशस्त्र प्रहरीका १८ जना घाइते भएका छन्। केही पोस्टमा क्षति पुगेको छ।
नेपालीको तर्फबाट पनि आक्रमण
लकडाउनको समयमा सबैभन्दा धेरै सीमामा बस्दै आएका नेपालीहरु मर्कामा परे। दैनिक कामको सिलसिलामा भारत र नेपाल आवत जावत गर्नुपर्ने ठप्प रोकियो। सरकारले लकडाउनका कारण सीमा बन्द गरेपछि नेपालीहरु पनि आक्रमणमा उत्रिए।
लकडाउनको समयमा ७ ठाउँमा प्रहरीमाथि आक्रमण भयो। उनीहरुले पनि प्रहरीमाथि हातपातदेखि घेराउसम्म गरेका थिए। महोत्तरी, सर्लाही, रौतहट, पर्सा, पश्चिम नवलपरासीमा भारत जान पाउनुपर्ने भन्दै आक्रमण तथा विवाद उत्पन्न भयो।
'खुल्ला सीमा, नेपाल र भारतबीचको सम्वन्ध र दैनिक कामको लागि पनि सीमामा रहेका मानिस आवतजावत गर्नुपर्ने अवस्था छ। तर सरकारले रोक लगाएपछि हामीले रोक्नै पर्छ। त्यही क्रममा विवाद हुन्छ,' डीआईजी श्रेष्ठले भने।
सीमामा रहेका कतिपय नेपालीहरुको भारतमा गएर खेती गर्ने गर्छन्। भारतीयहरु पनि त्यसैगरी नेपालतिर खेती गर्न आइपुग्छन्।