PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

बीपी स्मृति दिवसमा निधिको आह्वान : कम्यनिस्ट तानशाही व्यवस्थाबाट मुलुक जोगाऔं



पहिलोपोस्ट

बीपी स्मृति दिवसमा निधिको आह्वान : कम्यनिस्ट तानशाही व्यवस्थाबाट मुलुक जोगाऔं

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बीपी कोइराला नै आधुनिक र लोकतान्त्रिक नेपालका निर्माता भएको बताएका छन्।

३८ औं बीपी स्मृति दिवसका सन्दर्भमा नेपाली जनसम्पर्क समिति अमेरिकाले गरेको बीपी बिचार र आजको राजनीतिक सन्दर्भ बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणलाई राणाबाट मुक्त गराएर बीपीले नै लोकतान्त्रिक राज्य बनाएको उल्लेख गरे।

पृथ्वीनारायण शाहले देश सिंगो निर्माण गरेको भए पनि नेपाल राष्ट्र हुन नसकेको भन्ने उनको बिचारको कम्युनिस्टहरुले विरोध गरेको स्मरण गरे। जनताको सामूहिक भावना नभएसम्म राष्ट्र हुँदैन। प्रष्ट विचारका बीपीमा राष्ट्रियताको कुरा गर्दा पहिलो र अन्तिम शर्त भनेकै जनता हुन् भन्ने दृढ मान्यता रहेको निधिले बताए।

उनले कांग्रेसको अगुवाईमा स्थापना भएको प्रजातन्त्र जनवादी केन्द्रीयतामा विश्वास गर्ने कम्युनिस्टहरुका कारण संकटमा परेको उल्लेख गरे। तर, त्यो संकटबाट पार लगाउने काम पनि कांग्रेसले नै गर्ने निधिले दाबी गरे। कम्युनिष्ट, राजावादी र संघीयता विरोधी चित्रबहादुर केसीलाई कांग्रेसले नै लोकतन्त्रको पक्षमा ल्याएको उनको दाबी थियो।

अहिले जनताको जीवनमा कोरोनाले संकट ल्याए जस्तै नेपालको लोकतन्त्रमाथि सरकारका कारण संकट आएको निधिको भनाई थियो। लोकतन्त्रमाथि आइपरेको संकट निवारण गर्न बीपीका विचारलाई कांग्रेसले सुझबुझका साथ अघि बढाउनु पर्नेमा उनले जोड दिए। आगामी फागुनमा हुने कांग्रेसको महाधिवेशन लगत्तै हुने निर्वाचनमा कांग्रेसका पक्षमा मत दिएर कम्युनिस्ट तानाशाही व्यवस्थाबाट मुलुकलाई जोगाउन उनले देश विदेशमा रहेका लोकतन्त्रवादीहरुलाई आह्वान पनि गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय समितिका संयोजक गोविन्द भट्टराईले राणा शासनबाट मुक्त गराएर आधुनिक नेपालको शुरुवात बीपीले नै गरेको स्मरण गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell