काठमाडौं : चैत ११ गतेदेखि सरकारले घोषणा गरेको लकडाउन आजबाट खुल्ला भएको घोषणा गरेको छ। सरकारले निषेध गरेका केही क्षेत्रहरु भने अझै रोक नै छ। तर, सार्वजनिक तथा निजी सवारी साधनलाई लगाएको रोक पूर्ण रुपमा हटेको छ। सार्वजनिक तथा निजी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली समेत हटेको हो।
अब राजधानी लगायत देशभरका सडकमा पहिले झैं सार्वजनिक तथा निजी सवारी साधन गुड्न पाउने छन्। तर, सरकारले तोकेका केही मापदण्डहरु भने पूरा गर्नुपर्ने छ। लामो दुरीका सार्वजनिक सवारी साधन भने भदौ १ गतेबाट मात्र संचालन गर्ने सरकारले घोषणा गरेको छ। सवारी साधन संचानलमा आएपछि ट्राफिक प्रहरीले समेत आफ्नो सुरक्षा तथा सवारी चेकिङ रणनीति परिवर्तन गर्नुपर्ने भएको छ।
'हामीलाई आधिकारिक जानकारी आएको छैन। आएपछि त्यही अनुसार ट्राफिक प्रहरीको व्यवस्थापन गर्छौं,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने।
काठमाडौं उपत्यकाभित्र मात्र १० लाख सवारी साधन गुड्ने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ। सरकारले सार्वजनिक सवारी ५० प्रतिशतमात्र यात्रु राख्न पाउने छन्। भिडभाड गरेर यात्रु राखेर सार्वजनिक सवारी चलाउन पाइने छैन। गाडीमा कोरोना संक्रमणबाट जोगिनको लागि मास्क, स्यानिटाइजर लगायत सुरक्षाको व्यवस्था मिलाउने पर्ने हुन्छ।
'अबको हाम्रो काम भनेको यसरी गुडेका सवारीले मापदण्ड पूरा भएका छन् कि छैन भनेर हेर्ने पनि हो। भिडभाड गरे सामाजिक दुरी कायम नगरे हामी कारबाही गर्छौं,' एसएसपी ढकालले भने।
लकडाउनको कारण सडकमा सवारीको चाप कम थियो। सवारी कम हुँदा केही सडक नियम समेत पालना नगरी सवारी गुड्ने गरेका थिए। अब सडक लेन पालनादेखि अन्य नियमको समेत ट्राफिक प्रहरीले हेर्न र कारबाही गर्नेछ।
लकडाउन सुरु भएदेखि मेसिनबाट गरिने मापसे चेकिङ हटेको थियो। मेसिनबाट चेक गर्दा सामाजिक दुरी कायम नहुने र संक्रमण फैलिन सक्ने भन्दै चेकिङ गर्न छोडिएको थियो। ट्राफिक प्रहरीले उपत्यकाभित्र अझै केही समय मेसिनबाट मापसे चेकिङ नगर्ने भएको छ।
'अझैं केही समय मेसिनबाट मापसे चेकिङ हुँदैन। तर, ट्राफिक प्रहरीले सवारी र चालकको अवस्था हेरेर शंका लागेमा अस्पताल लगेर चेक गर्छ,' एसएसपी ढकालले भने।
