काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसमा नेकपाका नेताहरुले पुष्पलालाई स्मरण गर्दै पार्टीलाई विधि, पद्धतिमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई विधि र पद्धतिमा अघि बढाउनुको विकल्प नभएको सुझाएका छन्। समाजवादको लक्ष्यमा अघि बढ्नु नै पुष्पालालप्रति सम्मान हुने खनालको भनाइ छ।
खनालले पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेको, देशको संविधान निर्माण गरेको र कम्युनिष्ट आन्दोलनका दुई ठुला पार्टीहरुलाई एकीकृत गरेर नेकपालाई सबैभन्दा ठुलो पार्टीका रुपमा स्थापित गरेको उल्लेख गरेका छन्।
'नेपाली कम्युनिष्ट आन्दोलनले ७१ वर्ष पार गर्ने क्रममा हामीले प्राप्त गरेका असाधारण उपलव्धिहरु हुन्। यी उपलब्धीहरु सगँसगै हाम्रा सामु ठुल्ठुला चुनौतिहरु पनि खडा भएका छन्। यी चुनौतिहरुसँग जुध्न हाम्रो पार्टीलाई हामीले सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प छैन , खनालले विज्ञप्तीमा भनेका छन्, 'पार्टीलाई थप एकताबद्ध गरी सुदृढ र थप मजबुत बनाउँदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नुनै क. पुष्पलालप्रतिको सच्चा सम्मान पनि हो।'
त्यस्तै अर्का वरिष्ठ नेता माधवकुमार नेपालले पुष्पलालले स्थापना गरेका पदचिन्हहरुमा दृढतापूर्वक हिँड्न सकेकै कारण हामीले नेपालमा ऐतिहासिक परिवर्तनहरु गर्न नसकेको स्वीकार गरेका छन्।
नेता नेपालले कम्युनिस्ट पार्टी व्यक्तिमा नभइ सामूहिक नेतृत्वमा विश्वास गर्ने संस्था भएको उल्लेख गरेका छन्। पार्टीलाई कमिटी प्रणालीमा चलाउनुपर्ने मान्यता व्यवहारमा लागू गर्नुपर्ने उनको भनाइ छ।
'हामीले नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्धतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक छ, नेता नेपाल भन्छन्, 'कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले यसलाई त्यही अनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई हामीले दृढतापूर्वक व्यवहारमा लागू गर्नुपर्छ।'
त्यस्तै नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अर्काको अस्तित्व स्वीकार नगर्ने र आफू नै सर्वेसर्वा भएको भावनाले कम्युनिस्टलाई थिलथिलो बनाएको र आज पनि प्रवृत्ति देखा परेको इंगित गरेका छन्।
व्यक्तिवादी र गैर कम्युनिस्ट प्रवृत्ति देखा परे त्यसविरुद्ध उभिन पनि आग्रह गरेका छन्।
'अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका छौँ। आज पनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरु देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुन्छ,' नेपालले भनेका छन्।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पुष्पलाललाई वाम लोकतान्त्रिक जनआन्दोलनका वैचारिक नेताका रुपमा स्मरण गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्, 'विश्वप्रसिद्ध कम्युनिस्ट घोषणापत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव, बाम–लोकतान्त्रिक संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता कमरेड पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु,' ओलीले भनेका छन्।
विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव, बाम–लोकतान्त्रिक संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता कमरेड पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । pic.twitter.com/i5CFDffbZq
— K P Sharma Oli (@kpsharmaoli) July 22, 2020
देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प सरकारले लिएको उल्लेख गर्दै प्रधानमन्त्री ओली यसलाई साकार पार्ने दिशामा लाग्न सबैलाई आह्वानसमेत गरेका छन्। 'यस देशलाई समृद्ध र देशमा बस्ने नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिस्ट पार्टीको यस सरकारले लिएको छ। यस संकल्पलाई साकार पार्ने दिशामा अग्रसर हुन पुष्पलाल स्मृति दिवसका अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु,' ओलीले भनेका छन्।
