PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

'राजा आउने दिन 'ड्रेस कोड' उल्लंघन गर्दै कछाड लगाएर संसद पसेका थिए बुढा,' समकक्षी महरा र लीलामणिको सम्झनामा बर्मन



कुञ्जरमणि भट्टराई

'राजा आउने दिन 'ड्रेस कोड' उल्लंघन गर्दै कछाड लगाएर संसद पसेका थिए बुढा,' समकक्षी महरा र लीलामणिको सम्झनामा बर्मन

काठमाडौं : रोल्पाका कम्युनिस्ट नेता तथा पूर्व सांसद बर्मन बुढाको बुधवार बिहान निधन भयो। रोल्पाको थवाङ घर भएका कम्युनिष्ट नेता बुढाको ललितपुर स्थित पाटन अस्पतालामा उपचारको क्रममा निधन भएको हो।

९० वर्षीय बुढा विगत एक वर्षदेखि आन्द्रा क्यान्सरबाट पीडित थिए। रोल्पामा कम्युनिस्ट आन्दोलनका संस्थापक मानिन्छन्। उनी लामो समय प्रधान पञ्चसमेत थिए।

२०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट सांसद बनेका उनी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। त्यति बेला नै रोल्पा २ बाट सांसद थिए, पूर्व सभामुख कृष्णबहादुर महरा।

बुढासँग महराको नाता गहिरो छ। २०४८ सालमा नै काठमाडौंमा झण्डै ६ महिना बुढा र महरा एउटै कोठामा बसेका थिए।

'त्यतिबेला काठमाडौंको पाटनमा एउटै कोठासँगै खाने, सँगै बस्यौं। हामीले दुईवटा फोन नबोक्ने भन्नेसम्म थियो,' उनी सम्झन्छन् 'पहिले डेढ महिना पाटनमा गेस्ट हाउसमा बसेका थियौं। पछि बल्खु खसी बजारनिर कोठा लिएर ६ महिनाजति बस्यौं।'

बुढालाई कम्युनिस्ट सिद्धान्तमा आदर्शवान, अडिग र निडर व्यक्तिको रुपमा लिन्छन् महरा।

'उहाँ थवाङको पहिलो पुस्ताको इमान्दार, निस्ठावान कम्युनिस्ट नेता हुनुहुन्थ्यो,' महराले भने।

जिल्लावासीको नाताले विकास निर्माणका काममा सहकार्य गरिएको महरा बताउँछन्। उनले केही समयअघि मात्र बुढासँग भेट भएको सुनाए। 

महराका अनुसार बुढा नयाँ पुस्तालाई राजनीतिमा ठाउँ दिनुपर्छ भन्ने मान्यता राख्थे।

'नयाँ पुस्तालाई ठाउँ दिनुपर्छ भन्ने उहाँबाट सिक्नुपर्छ। उहाँलाई राज्यले सम्मान गर्नुपर्छ। बिरामी भएपछि राज्यले केही समय औषधिमा सहयोग गरेको थियो,' उनले भने।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य लीलामणि पोखरेल ०४८ सालमा संसदीय दलका नेता थिए।

पोखरेलका अनुसार बुढाले रोल्पामा माक्सवादको प्रचार गरे।

'ग्रामीण क्षेत्रमा मार्क्सवादको प्रचारमा लाग्ने इमान्दार व्यक्ति हुनुहुन्थ्यो। उहाँले जीवनभर आस्थामा तलमाथि हुन दिनुभएन। जनता र राष्ट्रपतिको प्रतिबद्ध हुनुहुन्थ्यो, ' उनले बुढालाई स्मरण गर्दै भने।

बुढाको आफ्नै खालको पहिचान थियो। उनी कमिज, कोट र कछाड 'मगर पहिरन' लगाएर हिँड्ने गर्थे। उनको पहिरनमाथि नै लीलामणिले एक प्रसंग सुनाए। बुढा बिरामी भएपछि छोरी जुवाईसँग बस्दै आएका थिए।

'उहाँ विचार र प्रस्तुतिमा सरल नेता। संसदमा राजाले सम्बोधन गर्ने तय भएको थियो। संसदका महासचिवले राजाले सम्बोधन गर्ने दिनमा त सुरुवाल लगाएर आउनुस् भन्नुभयो। उहाँले आफ्नै लवजमा जवाफ दिनुभयो महासचिव के भन्छौ। मैले यही कछाड लगाएर राजा महेन्द्रलाई, विरेन्द्रलाई भेटेको छु। राजालाई भेट्दा लगाउन हुने संसदमा लगाउन नहुने भन्ने हुन्छ?  उहाँको कुरा सुनेर महासचिव नाजवाफ हुनु भएको थियो,' पोखरलले सम्झिए।

उनले कम्युनिस्ट आन्दोलनमा निस्ठा राखे पनि अस्वस्थताका कारण सक्रिय रुपमा राजनीति नरहेको पोखरेलले बताए।

बुढाको निधनप्रति नेताहरुले विभिन्न माध्यमबाट श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधनले मर्माहत बनाएको बताए।

'कमरेड बुढाको नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ। सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो,' प्रचण्डले स्मरण गरे।

त्यस्तै पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता बावुराम भट्टराईले बुढा जनमुक्ति अभियानका अथक योद्धा भएको बताएका छन।

भट्टराईले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनको घरमा दशैं मनाएको स्मरण गरेका छन।

'२०४९ सालमा लिवांगबाट पैदल हिँड्दै जलजलाको शिखर चढेर उहाँको थवाङस्थित घरमा दशैं मनाएको र उहाँसँग जनक्रान्तिका विविध पक्षमा गम्भीर विमर्श गरेको सम्झना मलाई सधैं भैरहनेछ,' उनले लेखेका छन्।

त्यस्तै भट्टराईले उनको पोशाकको चर्चा पनि गरेका छन्।

'नेपालको संसदमा मगर समुदायको कछाडलगायतका रैथाने पोशाकमा उपस्थित हुने सादा जीवन र उच्च विचारका धनी वहाँबाट मुक्तिकामी जनसमुदायले सधैं प्रेरणा लिइरहनेछ!'

बुढाको बुधवार नै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे।

'राजा आउने दिन 'ड्रेस कोड' उल्लंघन गर्दै कछाड लगाएर संसद पसेका थिए बुढा,' समकक्षी महरा र लीलामणिको सम्झनामा बर्मन https://pahilopost.com/content/20200722150755.html

Posted by PahiloPost on Wednesday, July 22, 2020

प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली दिए। अन्तिम श्रद्धान्जली दिन सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुखहरु कृष्णबहादुर महरा र ओनसरी घर्ती, नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य, उर्जामन्त्री वर्षमान पुन लगायतका नेताहरु पशुपति पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell