PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कञ्चनपुरकी चार बर्षीया बालिकासहित सुदूरपश्चिममा थप ७ जनामा कोरोना संक्रमण



पहिलोपोस्ट

कञ्चनपुरकी चार बर्षीया बालिकासहित सुदूरपश्चिममा थप ७ जनामा कोरोना संक्रमण

कैलाली : सुदूरपश्चिमका थप ७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ९१ जनाको कोरोना परीक्षण भएकोमा कञ्चनपुरका चार, कैलालीका दुई र बझाङका एक जनामा सङ्क्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का ५३ बर्षीय पुरुष र वडा नम्बर १९ की १८ बर्षीया युवतीमा कोरोना पुष्टि भएको बताए।

उनका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का चार बर्षीया बालिका र २४ बर्षीया युवती, बेदकोट नगरपालिका वडा नम्बर ४ का २२ बर्षीया युवती र ५२ बर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ।

बझाङको छव्विसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ का २० बर्षीय युवकमा पनि कोरोना पुष्टि भएको छ। सात जनामा सङ्क्रमण पुष्टि भएपछि सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार एक सय ३४ पुगेको छ। सङ्क्रमण पुष्टि भएका दुई हजार दुई सय दुई जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका नौ सय ८५ जनामा सङ्क्रमण पुष्टि भएको छ। यस्तै अछाममा ६ सय ४५, डोटीका ६ सय ३०, बाजुराका ६ सय १६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका चार सय ८७, डडेल्धुराका दुई सय ९७, बैतडीका दुई सय ७६, बझाङका एक सय ७८ र दार्चुलाका २० जनामा सङ्क्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell