विराटनगर : सरकारले लकडाउन हटाएको भोलि पल्ट नै विराटनगरमा एक प्रहरीसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश १ प्रहरी कार्यालय रानीमा कार्यरत एक प्रहरी निरीक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रदेश १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता दीपक पोखरेलले एक प्रहरी निरीक्षक कोभिड-१९ बाट संक्रमित भएको पुष्टि गरे। प्रवक्ता पोखरेलका अनुसार निज प्रहरी निरीक्षक रुघाखोकीका कारण विगत चार दिनदेखि उच्च सावधानीसहित होम क्वारेन्टाइनमा बसेका थिए।
बुधवार उनको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि उनलाई विराटनगरको कोभिड-१९ अस्पतालमा भर्ना गरिएको छ।
त्यस्तै, विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले विराटनगर वडा नम्बर १० र वडा नम्बर ६ का १/१ जना पुरुषमा पनि कोरोना संक्रमण पाइएको बताए।
