बेइजिङ : होस्टनमा रहेको चिनियाँ कन्सुलेट जनरलको कार्यालय बन्द गर्न अमेरिकाले दिएको निर्देशनको चीनले कडा भर्त्सना गरेको छ।
बुधवार चीनले कान्सुलेट कार्यालय बन्द गर्न दिएको निर्देशन अमेरिकाको राजनीतिक उत्तेजनात्मक र एकतर्फी भएको भन्दै भर्त्सना गरेको हो।
अमेरिकाले चीनलाई तीन दिनको सीमा डेडलाइन दिँदै कुटनीतिक मिसनलाई बन्द गर्न भनेको थियो। टेक्ससमा रहेको कार्यालय बन्द गर्न भनेपछि चीन र अमेरिकाबीच चिसिरहेको सम्बन्ध थप खराब बाटोतिर गएको छ।
अमेरिकाको बौद्धिक सम्पत्ति रक्षा र गोपनीय सूचनाको रक्षाका लागि यस्तो निर्देशन दिएको जनाएको छ। कोरोना भाइरस संक्रमणको सुरुवातपछि नै अमेरिका र चीनको सम्बन्धमा तिक्तता जारी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कोभिड १९ को सूचना राम्रोसँग प्रवाह नगरेको आरोप लगाउँदै आएका छन्।
