काठमाडौं : पछिल्लो २४ घण्टामा १०० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देश भरका २८ प्रयोगशालाबाट गरिएको तीन हजार ७७१ जनाको परीक्षणका क्रममा २१ जिल्लाका १०० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सनसरीका ४ तथा कोशी अस्पताल प्रयोगशालामा मोरङका ३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा झपाका १ र ताप्लेजुङका ३ जनामा संक्रमण पुष्टि भएको छ।
गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशालामा सप्तरीका १८ तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताल प्रयोगशाला वीरगंजमा भएको परीक्षणमा बाराका ३ र पर्साका ६ जनामा संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौं र सर्लाहीका २/२ तथा शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालामा काठमाडौंकै १ जनामा संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १ र वीर अस्पताल प्रयोगशालामा सर्लाहीका १ जनामा पनि संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश अन्तर्गत प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा लमजुङका ७ तथा स्याङ्जा र बाग्लुङका ३/३ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश ५ अन्तर्गत भेरी अस्पताल प्रयोगशालामा बाँकेका ३ र बर्दियाका २ जनामा संक्रमण पुष्टि भएको छ। भेरीमै भएको परीक्षणमा कर्णाली प्रदेशको सल्यान जिल्लाका २ जनामा संक्रमण पुष्टि भएको डाक्टर गौतमले जानकारी दिए।
कर्णाली प्रदेश अन्तर्गत कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा कालिकोटका ६ र दैलेख पीसीआर प्रयोगशालामा दैलेखकै १६ जनामा संक्रमण पुष्टि भएको छ।
सुदूरपश्चिम प्रदेश अन्तर्गत डडेलधुरा अस्पताल प्रयोगशालामा बझाङका १ र डोटीका ७ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा २०७ जना संक्रमित डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए। योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ६८४ रहेको छ।
हालसम्म नेपालमा १८ हजार ९४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएकोमा हाल ५ हजार ३७० जना मात्र उपचारका क्रममा रहेका छन्।
आजै मात्र कोभिड-१९ को संक्रमण पुष्टि भएकामध्ये २ जनाको मृत्यु पुष्टि भएको छ। एक जना धनुषाका र अर्का चिनियाँ महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ४२ पुगेको छ।
हाल प्रदेश १ मा ११९, प्रदेश २ मा १ हजार ८७८ र वाग्मतीमा ४२० जना उपचारका क्रममा रहेका छन्। त्यस्तै, गण्डकी प्रदेशमा ३८९, प्रदेश ५ मा ३४५ र कर्णाली प्रदेशमा २९० जना संक्रमित उपचारका क्रममा अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका छन्। नेपालमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा एक हजार १ हजार ९२७ एक्टिभ केस रहेका छन्।