जनकपुरधाम : सप्तरीको सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ। बिहीवार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो।
कोरोना संक्रमणका कारण राजविराजमा एक वृद्धको मृत्यु भएको थियो। कोरोनाको संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको बताइएको छ।
बुधवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए।
सो अवधिमा अति आवश्यक बाहेकका सबै सेवा बन्द गर्न र अन्य सेवा, स्थलहरु अनावश्यक आवत जावत, हिँडडुल गर्न नदिने गरी निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

